‘महाकाली सन्धि’ राष्ट्रको हितमा छैन भन्दा कारबाही भयोः गौतम


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले शनिबार स्थायी समिति बैठकमा महाकाली सन्धिको विपक्षमा उभिँदा आफूमाथि कारबाही भएको स्मरण गराउँदै अझै न्याय नपाएको बताएका छन्।

सन्धि राष्ट्रको हितमा छैन भन्दा तत्कालीन एमालेबाट निस्कासन हुनुपरेको भन्दै गौतमले नेतृत्वले गल्ती भएको स्वीकार गरेर आफूलाई न्याय गर्न पनि माग गरेका हुन।

गौतमले भने– ‘सुरुवातमा मैले समर्थन गरे पनि बुझ्दै जादाँ गलत रहेछ भनेर विपक्षमा उभिँदा पार्टीबाट निस्कासन हुनुपर्‍यो। पार्टीले त्यतिबेला कारबाही गरेर गल्ती भएको रहेछ भनिदिनुपर्‍यो ।’

नेपाल र भारतबीच २०५२ माघमा उक्त सन्धि भएको थियो। सरकारको नेतृत्व हालका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए। तत्कालीन एमालेको कमाण्ड माधवकुमार नेपालले सम्हालेका थिए। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि सन्धिका समर्थक थिए।

स्थायी समितिमा उपाध्यक्ष गौतमले लिम्पियाधुरासहितको नक्सा जारी गर्ने सरकारको कमदलाई समर्थन गरे।

शनिबार २१ स्थायी समिति सदस्यले सीमा समस्याका विषयमा धारणा राखेका छन्।

बैठकमा नेता देवेन्द्र पौडेलले अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा पठाउनुपर्ने बताएका छन्। पौडेलले वार्ताका लाग टोली दिल्ली पठाउनुपर्ने पनि सुझाएका छन्। बैठकमा नेताहरुले वार्ताबाटै सीमा समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन्।