नेकपाको स्थायी कमिटी बैठक तीन दिन स्थगित


 

काठमाडौं, (नेस)

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएसँगै जारी स्थायी कमिटीको बैठक तीन दिनको लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट भाग्न खोजेको आरोप लागेसँगै बैठक तीन दिनको लागि स्थगित भएको बताइएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रित भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो ।

आइतबार मदन स्मृति दिवस र सोमबार असार १५ अर्थात् दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको उहाँले बताउनुभयो ।

हिजोको बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्री ओलीको नेताहरुले चर्को आलोचना गर्दै बैठकमा सहभागी हुन माग गरेका थिए । नेताहरुको मागअनुसार बैठकमा प्रधानमन्त्री ओली फोटो खिच्न सहभागी भए पनि लगत्तै काम भएको भन्दै बैठक स्थलबाट बाहिरिनुभएको थियो ।

बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीलाई अटेर गरेको आरोप लगाएका छन् भने ओली समूहका नेताहरु बचाउमा उभिएको बताइएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा एकमत आवाज आएको छ । शनिवारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भए पनि स्वास्थ्यको कारण देखाउँदै हिँडेको श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाको जारी स्थायी समितिको बैठकमा शनिबार देवेन्द्र पौडेल, रघुवीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्ना धारणा राख्नुभएको थियो ।