भारत पाकिस्तानमाथि हमला गर्ने षड्यन्त्रमा ?


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतमाथि चीनसँगको सीमा विवादबाट आफ्ना विपक्षको ध्यान मोड्न पाकिस्तानमाथि हमला गर्ने षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।

भारतले एक दिनअघि पाकिस्तानलाई नयाँदिल्लीस्थित आफ्नो उच्चायोगका कर्मचारी संख्यामा कटौती गर्न भनेको थियो ।

पाकिस्तानका विदेश मन्त्री कुरैसीले जियो पाकिस्तान च्यानलसँगको कुराकानीमा भारतको मनसाय स्पष्ट भएको उल्लेख गर्दै चीनसँगको आफ्नो सीमा विवादबाट ध्यान मोडेर पाकिस्तानतर्फ फर्काउन चाहेको बताए ।

तर उनले यसमा थप विस्तृत जानकारी भने दिएनन् । चीनसँगको सीमा विवाद र गलवान उपत्यकामा २० भारतीय सैनिकको मृत्यु भएको घटनालाई लिएर नरेन्द्र मोदी सरकारलाई आलोचनाको सामना गर्नुपरिरहेको बताउँदै भारतमा विपक्षले प्रश्न उठाइरहेको तर उनको सरकार जवाफ दिन असमर्थ रहेको बताए ।

भारतलाई उनको देशमा कुनै हमला गर्ने मनसाय नराख्न चेतावनी दिँदै यदि उसले कुनै दुस्साहस गर्छ भने पाकिस्तानले सम्पूर्ण शक्ति प्रयोग गर्दै त्यसको जवाफ दिने उनले बताए ।

भारतले नयाँदिल्लीमा पाकिस्तानी राजनीतिज्ञविरुद्ध जासुसी गरेको आधारहीन आरोप लगाएको छ । साथै भारतमा पाकिस्तानी कर्मचारीलाई दुःख दिइरहेको र अधिकारीहरूद्वारा उनीहरूको गाडीलाई पछ्याउने गरेको उनले आरोप लगाए ।

कुरैसीले भारतको आरोपलाई पाकिस्तानले निन्दा गर्दै अस्वीकार पनि गरेको बताए । पाकिस्तानमा रहेका भारतीय कर्मचारीलाई पनि त्यस्तै व्यवहार गरिने उनले बताए ।

पाकिस्तानले भारतीय उच्चायोग प्रमुखसँग पाकिस्तानी कर्मचारी कटौती गर्ने एकतर्फी नीतिका कारण उसले पनि आफ्ना ५० प्रतिशत कर्मचारी कटौती गर्नुपर्ने भनिसकेको कुरैसीले बताए ।