बेलायतमा कोरोनाविरुद्ध अर्को खोपको मानवमा परीक्षण सुरु, सफल हुने यस्ताे छ आशा


एजेन्सी ।
बेलायतका अनुसन्धानकर्मीहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अर्को खोपको मानवमा परीक्षण सुरु गरेका छन् ।
इम्पेरियल कलेज लन्डनले विकास गरिरहेको भाइरसविरुद्धको खोप पहिलो पटक परीक्षणका लागि वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया स्वयंसेवकलाई एक सातापहिले खोप दिइएको थियो । उनी स्वस्थ रहेका र नतिजा अपेक्षित देखिएको बताइएको छ ।
जनावरमा परीक्षण गरिँदा उक्त खोप सुरक्षित र प्रतिरक्षा प्रणाली सबल बनाउन प्रभावकारी देखिएपछि मानिसमा परिक्षण गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

कलेजका प्राध्यापक रोबिन स्याटकको नेतृत्वको टोलीले आगामी दिनमा परीक्षणका लागि अन्य तीन सय जनालाई उक्त खोप लगाइने बताएका छन् ।

पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गरिने जनाइएको छ । उक्त परीक्षणमा ६ हजार जना सहभागी हुनेछन् । कलेजले उक्त खोप सन् २०२१ को आरम्भसम्ममा बेलायतलगायत अन्य मुलुकमा वितरण सुरु हुने आशा व्यक्त गरेको छ ।