चिनियाँ रहस्यमय गुप्चचर संस्था एमएसएस


बेइजिंग (एजेन्सी)
कुनै पनि देशको गुप्तचर एजेन्सीको सुचना तथा जानकारी गोप्य हुनु सामान्य हो । तर चीनको गुप्तचर एजेन्सी एमएसएस (मिनिस्ट्री अफ स्टेट सक्युरिटी)लाई धरै नै रहस्यमय मानिन्छ । हुन त चीनको निति तथा कार्यक्रमहरु उसको ब्यापार जस्तै खुला छैन पनि । अष्ट्रेलियामा हालै भएको साइबर आक्रमणपछि चीनको गुप्तचर संस्था एमएसएस चर्चामा आइरहेको छ ।
सीआईए वा एम१६ को जस्तो चिनियाँ गुप्तचर एजेन्सी एमएसएसको कुनै आधिकारिक वेबसाइट छैन र यसको कुनै सम्पर्क सुची र कुनै प्रवक्ता छैन । यस संस्थाका विषयमा जनतालाई पनि अत्यन्तै न्युन जानकारी मात्र छ । एमएसएस चीनको प्रमुख नागरिक गुप्तचर जासुसी एजेन्सी हो । हालै अष्ट्रेलियामा भएको साइबर आक्रमणमा एमएसएस जिम्मेवार बताइएको छ ।
सन् १९८३ मा स्थापित एमएसएस काउन्टर इन्टेलिजेन्स, विदेशी इन्टेलिजेन्स, घरेलु निगरानी तथा राष्ट्रिय सुरक्षाका लागि जासुसीको काम गर्छ । अन्य मन्त्रालय जस्तै पुरै देशमा यसको पनि प्रान्तिय र नगर शाखा छन् । एमएसएसका अध्यक्ष चेन बेन्किंग हुन जसले २० बर्ष सुरक्षा बलमा काम गरिसकेका छन् । सन् २०१५ मा गुप्तचर एजेन्सीमा आबद्ध हुनु अघि चेन दुई बर्षसम्म कम्युनिस्ट पार्टीको वाचडगमा पुर्व भ्रष्टाचार विरोधी अधिकारी वांग किसानका सहायक थिए ।
गुप्तचर एजेन्सीका सहायक मन्त्रीहरुको नाम सार्वजनिक हुँदैन तर एमएसएसका सहायक मन्त्री मध्यका एक मा जियानको पहिचान अमेरिकामा गएर बसेका भगौडा ब्यापारी गुओ वेन्गुईसँगको सम्बन्धका कारण खुलासा भयो । अर्को सहायक प्रमुख क्वी सीनको पहिचान त्यतिबेला भयो जब उनले चांगकिंगका प्रहरी प्रमुख वांग लिजुनलाई बेइजिंग लिएर गएका थिए ।
यसरी काम गर्छ एमएसएस
सन् २०१७ मा लागु भएको नेसनल इन्टेलिजेन्स कानुन अन्तर्गत एमएसएस बाँकी गुप्तचर एजेन्सीले जस्तै चीन र बाहिर जासुसी गर्न, विदेशी तथा घरेलु संस्थान तथा जनतामाथि निगरानी राख्न र उनीहरुको जाँच गर्न काम गर्छ । यो गुप्तचर जानकारी चुहावत गर्नेहरुलाई १५ दिनसम्म हिरासतमा पनि राख्न सकिन्छ । चीनको क्रिमिनल प्रोसिजर कानुन अन्तर्गत एमएसएसले आम प्रहरीको जस्ता राष्ट्रिय सुरक्षासँग सम्बन्धित अपराधमा हिरासतमा लिने वा गिरफ्तार गर्ने अधिकार राख्छ ।
अष्ट्रेलियाको आरोप
आफुले हुवावेको फाइवजी नेटवर्कमाथि प्रतिबन्ध लगाएकोले एमएसएसले अष्ट्रेलिया सरकार, उद्योगहरुमा साइबर हमला गरिरहेको अष्ट्रेलियाले आरोप लगाएको छ । न्युज पोर्टल एबीसीसँगको साक्षात्कारमा अष्ट्रेलिया सरकारका दुई पुर्व अधिकारीले सबै प्रमाणले यसको पछाडी एमएसएस रहेको संकेत दिएको बताए ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको सरकारी, औद्योगिक, राजनितिक, शिक्षण, स्वास्थ्य र करिब सबै संगठनमा साइबर आक्रमण भएको बताएका थिए । केही गतिविधिले कोविड १९सँग सम्बन्धित जानकारी चोर्ने प्रयास भएको संकेत दिएको उनले थपेका थिए ।