२५ मिनेटमा कोरोना जाँच हुने विधिको खोज


टोकियो, (एजेन्सी)

जापानका वैज्ञानिकहरुले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षणको नयाँ विधि खोज गरेका छन् । यस विधिको माध्यमबाट कोरोना भाइरको परीक्षण घर मै बसेर मात्र २५ मिनेटमा हुने भएको छ ।

मानव र्यालको परीक्षणबाट कोरोना संक्रमणका बारेमा पत्ता लगाउन सकिने ती जापानी वैज्ञानिकहरुको दावी छ । जापानको औषधी कम्पनी सिओनोगीले यो प्रविधिलाई लिएर सरकारसँग अनुमतिका लागि अनुबन्ध गर्ने तयारी गरेको छ । यसबाट ठुलो परिमाणमा कोरोना भाइरसको परीक्षण बिना कुनै प्राविधिक वा विशेष उपकरणको सहयोगबाट हुने दावी गरिएको छ ।

र्यालबाट कोरोना भाइरसको परीक्षण गर्ने यो विधिको खोज निहोन विश्व विद्यालयका प्रोफेसर मासायसु कुहारा र उनको टोलीले गरेको हो ।

अहिलेसम्म यो जाँच किटको परीक्षण जापानी स्वास्थ्य मन्त्रालयले गरिरहेको छ । यदि सबै सही भएमा केही दिनमा यो जाँचलाई सरकारको स्विकृति प्राप्त हुने छ । जापानमा हालैका दिनमा लकडाउन खुकुलो गरिएको छ ।

यो बाहेक यदि सरकारले अन्तरराष्ट्रिय यात्रालाई लिएर छुट दियो भने बाहिरबाट आएका सबै यात्रुले पोलिमरेज चेन रिएक्सन जाँच गराउन आवश्यक हुनेछ ।

पीसीआर डायग्नोस्टिक जाँचको नतिजा आउन ३ देखि ५ घन्टाको समय लाग्छ । यदि विमानस्थलमा मानिसहरुको भीड बढ्यो भने कोरोना भाइरस संक्रमणको खतरा पनि बढ्छ र परीक्षणलाई लिएर पनि समस्या झेल्नु पर्ने हुन्छ ।

यदि र्यालबाट यात्रीको कोरोना जाँच हुन थाल्यो भने उनीहरुले नतिजाका लागि २५ देखि ३० मिनेट मात्र पर्खनु पर्ने हुन्छ ।