‘गीताको कसम खाएर भन्छु, अब पार्टी फुटाउँदैनौं’



हेटौंडा, (नेस)

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तको मकवानपुरमा एकता घोषणा भएको छ । सोमबार पत्रकार सम्मेलन गरी जिल्लास्तरमा राप्रपाबीच एकता घोषणा भएको हो ।

केन्द्रमा पार्टी एकता भएसँगै जिल्ला र स्थानीय तहको संरचना समायोजनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्वसाथ अघि बढाएको हो । घोषणसभामा नेताहरूले ‘जस्तोसुकै परिस्थितिमा पनि पार्टी नफुटाउने’ भन्दै गीताको कसम खाए । राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकता घोषणासभामा फागुन २८ गते भागवत् गीतालाई कसम खाँदै गरेको पार्टी नफुटाउने वाचाकै शैली हेटौंडामा पनि देखियो ।

थापाकै शैलीमा मकवानपुरको पार्टी एकतापछिका पार्टी जिल्ला उपाध्यक्ष ज्ञानु ढुंगेलले गीताको कसम खाँदै अब पार्टी नफुटाउने वाचा गर्नुभयो । ‘पार्टी नेतृत्व गर्ने नेताहरुकै कारण हामी फुटेका हौं । गीताको कसम खाएर भन्छु, अब पार्टी फुटाउँदैनौं ।’ –ढुंगेलले भन्नुभयो । घोषणा गरिएको राप्रपा मकवानपुर अध्यक्षमा तत्कालीन राप्रपा अध्यक्ष मधु अधिकारीलाई चयन गरिएको छ ।

राप्रपा केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष अधिकारीले राप्रपा अब नफुट्ने दाबी गर्नुभयो । उहाँले राप्रपाको एकताले राष्ट्रवादी शक्तिमा खुसी छाएको भन्दै अहिलेको मार्गचित्रबाट देश डरलाग्दो भँड्खालोमा जाने भन्दै अबको विकल्प राप्रपा भएको दाबी गर्नुभयो ।

घोषणासभामा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले अब राप्रपा मुलुकको अग्रणी शक्ति बन्ने दाबी गर्नुभयो । उहाँले राप्रपाले अबको नेपालको नेतृत्व गर्ने हैसियत राखेको बताउनुभयो । उहाँले वर्तमान सरकार असफल भइसकेको र प्रमुख प्रतिपक्ष कमजोर देखिएको भन्दै देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उद्देश्यसाथ एकीकृत भएको राप्रपाको एकीकरणबाट सम्पूर्ण राष्ट्रवादीलाई खुसीको बनाएको बताउनुभयो ।

केन्द्रीय सदस्य बर्तौलाले मुलुकलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकाले त्यसको परिपूर्तिका निमित्त पार्टी एकता गरिएको भन्दै हिजोका टुटफुटका घटना अब एकादेशको कथा हुने भन्दै अहिलेको एकता भावनात्मक र चिरस्थायी भएको दाबी गर्नुभयो ।

‘एकताको जग बलियो छ, अब हल्लिँदैन । हिजोका त्रुटि, कमजोरीबाट पाठ सिकेका छौं, सच्चिँदै अघि बढ्छौं, राप्रपालाई इमानदार कार्यकर्ताको बलमा जुरुक्क उठाउँछौं ।’ –घोषणा कार्यक्रममा बर्तौलाले भन्नुभयो । हेटौंडामा भएको एकता सहमतिमा राप्रपा र तत्कालीन राप्रपा संयुक्तबीच अध्यक्षलगायत सबै जिल्ला कमिटी र स्थानीय तहको समायोजन गर्ने निर्णय भएको छ ।

सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र हुने र सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रूपमा राजसंस्थासहित प्रजातन्त्र एकीकरणपछि राप्रपाको मुख्य नीति र सिद्धान्त हुने नेताहरूले बताएका छन् । राप्रपा मकवानपुरमा ८३ सदस्यीय समिति निर्माण भएको छ ।

राजसंस्थाको छायाँमा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए । स्थापनाको एक वर्षमै दुवै पार्टीबीच एकता भयो । तर, समय क्रमसँगै पार्टी पुनः विभाजन भयो । त्यसपछि राप्रपाले पटक–पटक जुट र फुटको नियति व्यहोर्दै आएको छ ।

पछिल्लोपटक २०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो । त्यसलगत्तै राप्रपाका अर्का नेता लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) लाई छुट्टै गठन गर्नुभएको थियो । २०७४ साउनमा सरकार प्रवेशको विषयमा मतभेद भएपछि राप्रपा अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्यो र विवादपछि राणाले पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गर्नुभएको थियो । २०७५ कात्तिकमा दुई राप्रपाको एकता प्रक्रिया फेरि शुरू भएको थियो ।

टुक्रिने र जुट्ने विषय राप्रपाका लागि नौलो नभए पनि विगतमा यसले संसद्मा निर्णायक अर्थ राख्ने गथ्र्याे । पछिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिटमात्र जितेपछि उक्त दलले राष्ट्रिय दलको हैसियत जोगाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्