कोरोना संक्रमित महिला सबै कुवेतबाट फर्किएका



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा थपिएका ८ नयाँ कोरोना संक्रमित महिला सबै कुवेतबाट फर्किएका समूहका रहेका छन् ।नयाँ संक्रमितहरू जेठ ३० मा कुवेतबाट नेपाल फर्किएका टोलीमध्ये ८ जना रहेको स्वास्थ कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनुभयो ।

मिजारका अनुसार संक्रमित सबै महिला चाँगुनायरण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित महिलामध्ये ७ जनालाई पाटन अस्पताल र एकलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ ।

यही क्वारेनटाइनमा राखिएकी एक महिलामा गत बिहीबार कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि गरिएको परीक्षणमा बाँकी ७ जनामा कोरोना भाइरस देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा भक्तपुर तोकिएर सात जनामा कोरोना संक्रमण भएको बताइएको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार कास्की घर भएकी २३ वर्षीया, बारा र सुर्खेत निवासी २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपरासी घर भएकी २९ र ३३ वर्षीया, मोरङ निवासी ४१ र ४२ वर्षीया तथा झापा निवासी ३७ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

जेठ ३० गते कतारबाट नेपाल फर्केका १ सय ३ जनामध्ये ९ जना बालबालिका थिए । क्वारेनटाइमा रहेका अन्यको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर फर्काउन लागिएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताउनुभयो ।

कुवेतबाट आएकामध्ये २ जना शंकास्पद देखिएपछि बाँकी यात्रुलाई होल्डिङ सेन्टर नलगी सीधै क्वारेन्टाइन पु¥याइएको हो ।

प्रतिक्रिया दिनुहोस्