सरकारले सहयोग नगरेपछि अभिभावकसँग अपिल


ईश्वरराज ढकाल, काठमाडौं

निजी विद्यालयको दुई संस्था प्याब्सन र एन–प्याब्सनले सबै अभिभावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

विद्यालय सञ्चालन गर्न कठिन पर्दै गएको र सरकारले समेत कुनै सहयोग नगरेको अवस्थामा अभिभावकसँग गुहार मागेको हो । गुहार मागे पनि उनीहरुले चालू शैक्षिकसत्रको सबै शुल्क मागेका छैनन् ।

दुई संस्थाले विद्यालयमा नयाँ विद्यार्थी भर्ना तथा शैक्षिकसत्र २०७७ मा अध्ययन गर्ने विद्यार्थीको तथ्यांक अध्यावधि गरी शैक्षिकलगायत अन्य गतिविधिमा शिक्षक–कर्मचारी परिचालन गर्न सहयोग माग गरेका हुन् । दुवै संस्थाले निजी विद्यालयको आर्थिक व्यवस्थापन गर्न अभिभावकसँग आग्रह गरेको हो ।

प्याब्सनका महासचिव कुमार घिमिरेले सरकारले कुनै किसिमको सहयोग नगरेका कारण बाध्य भएर अभिभावकसँग आगह गरेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘हामीले अहिलेसम्मको शुल्क मागेका होइनौं, अभिभावकसँग सक्दो आर्थिक सहयोग गर्न अपिल गरेका हौं ।’

निजी विद्यालयको एक मात्र आर्थिक स्रोत विद्यार्थीबाट प्राप्त हुने शुल्क संकलन हुन नसकेको विषम परिस्थितिमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने हुँदा बाँचौं र बचाऔंको मर्मलाई ख्याल गर्दै अभिभावकसँग सहयोग माग गरेका हो ।

पछिल्लो समयमा अधिकांश ठूला विद्यालयले कक्षा १ देखि माथिल्लो कक्षाको भर्ना लिने र जेठ महिनासम्मको शुल्क उठाउन थालेपछि साना विद्यालयलाई टिकाउन दुई संस्थाले अभिभावकका साथ खोजेका हुन् ।

राजधानीको ठूला र नाम चलेका विद्यालयले शुल्क उठाइसकेका छन् भने कतिपयले भर्ना पनि गरिसकेका छन् ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले देशका विद्यालय चल्नै नसक्ने अवस्था आएपछि र सरकारले सहयोग वचन दिए तापनि हालसम्म कुनै सहयोग नगरेपछि बाध्य भएर अपिल गरेको बताउनुभयो ।

यसअघि प्याब्सन अध्यक्ष पुरी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गर्दा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने आश्वासन दिनुभएको थियो । सोही क्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको थियो । मन्त्री पोखरेलले हालसम्म गरेको कुनै पनि आश्वासन पूरा नभएको दुवै संस्थाको आरोप छ ।

सरकारको खोक्रो आश्वासनबाट केही नभएपछि प्याब्सन र एन–प्याब्सनले अपिल गरेको हो । अभिभावकबाट सकारात्मक सहयोग प्राप्त नभएमा निजी विद्यालयहरु अत्यन्तै जटिल अवस्थामा पुगी सम्पूर्ण शैक्षिक गतिविधिसमेत प्रभावित हुने जनाउँदै सहयोगको याचना गरिएको छ ।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कर्मचारी र शिक्षकलाई तलब खुवाउने, घरभाडा, बैंक, वित्तीय संस्थाको ऋण तिर्न र प्रविधि प्रयोग गरी कक्षा सञ्चालन गर्न रकम आवश्यक परेका कारण बाध्य भएर अपिल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालय बन्द गर्नुपर्नेसम्मको अवस्था आएपछि अभिभावको साथ खोजेका हांै ।’

दुई निकायले सामाजिक दूरी कायम हुने गरी विद्यालयमा उपस्थित भई आ–आफ्ना छोराछोरीको नयाँ तथा पुरानो अभिलेखीकरण गराउने, २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयलमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्नेजस्ता आर्थिक गतिविधिमा सहभागी र सहयोगी भई विद्यालयलाई अधिकतम सहयोग गर्न अपिल गरेका छन् ।

यसअघि इस्टु र अभिभावक महासंघले शुल्क उठाएर विद्यालयको आर्थिक व्यवस्थापन गर्न अपिल गरिसकेको छ । प्याब्सन र एन–प्याब्सनअन्तर्गत करिब ८ हजार निजी विद्यायल आबद्ध छन् । दुई संस्थाअन्तर्गत अन्र्तत करिब २ लाख शिक्षक कर्मचारी कार्यरत छन् । सरकारी भनाइअनुसार निजी विद्यालयले करिब ३० प्रतिशत क्षेत्र ओगटेको छ ।

दुई संस्थाले सरकारले एसईई परीक्षाको अन्तिम मूल्याकन विद्यालयले गर्ने निर्णयको स्वागत गरेका छन् । तथ्यांकअनुसार साना विद्यालयका अधकांश विद्यालयले शैक्षिकसत्र २०७६ सालको शुल्क तिरेका छैनन् । भने नयाँ शैक्षिक सत्र शुरु हुनुभन्दा अघि नै लकडाउन भएकाले भर्ना प्रक्रियासमेत शुरु गर्न पाएका छैनन् ।

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले शुल्क तिर्छु भनेर निजी विद्यालयमा पढाएपछि अप्ठ्यारो परेको समयमा आफ्नो विद्यालयलाई सहयोग गर्नुपर्ने बताउनुयो । इस्टुका अध्यक्ष होमकुमार थापाले शिक्षक र कर्मचारीलाई तलब खुवाउन शुल्क लिनुको विकल्प नभएको बताउनुभयो ।