अस्ट्रेलियामा भीषण साइबर आक्रमण, चीनको हात हुन सक्ने आशंका


मेलबर्न, (एजेन्सी)

चीनसँग तनावपूर्ण सम्बन्ध रहेका बेला अस्ट्रेलियाको सरकारी तथा निजी क्षेत्रमा भीषण साइबर आक्रमण भएको बताइएको छ । यसको पछाडि कुनै न कुनै देशको हात रहेको र त्यसमा चीनको हात हुन सक्नेप्रति संकेत गरिएको छ । यद्यपि प्रधानमन्त्री स्कट मोरिसनले कुनै देशको नाम किटान गर्न अस्वीकार गरेको छ । उक्त आक्रमणको अहिलेसम्मको जाँचमा कुनै ठूलो डाटा चोरी भएको नदेखिएको उनले प्रस्ट पारेका छन् ।

यो हमला सरकार, उद्योग, राजनीतिक संगठन, शिक्षा, स्वास्थ्य तथा आवश्यक सेवासहित हरेक क्षत्रमा गरिएको प्रधानमन्त्री मोरिसनले क्यानबेरामा सञ्चारमाध्यमलाई जानकारी दिए । यो कुनै नौलो कुरा नभएको तर विगत केही महिनामा यसमा तीव्रता आइरहेको उनले बताए ।

मोरिसनले भने– ‘हामीलाई थाहा छ, यो कुनै देशका तर्फबाट भएको हमला हो, यसमा प्रयोग भएको तरिकाले त्यसलाई प्रमाणित गर्छ ।’ अस्ट्रेलियाली सरकार यसप्रति सचेत छ र सतर्क रहन पनि भनिएको छ ।

यस विषयमा खुलारूपमा बोलेर चिन्ता व्यक्त गरिरहेको नभएर जागरुकताका लागि आफूले भनिरहेको मोरिसनले बताए । संस्था विशेष गरी स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकता तथा जरुरी सेवासँग सम्बन्धित भएकाहरूलाई हौसला बढाइरहेको उनले बताए । उनीहरूलाई आफ्नो प्रविधिको सुरक्षाका लागि उपाय गर्न भनिएको उनले बताए ।

लामो समयदेखि अस्ट्रेलिया र चीनबीचको सम्बन्ध राम्रो छैन । त्यसैले यो साइबर आक्रमणको पछाडि चीनको हात रहेको आशंका गरिएको छ । चीनले अस्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भएको आरोप लगाउँदै आइरहेको छ । अस्ट्रेलियाले कोरोना भाइरस संक्रमण फैलिएकोमा चीनको प्रयोगशालामाथि आशंका गर्दै तिनीहरूको जाँच हुनुपर्ने विषयमा अमेरिकालाई समर्थन गर्दै आइरहेको छ ।