संसार हल्लाउने गायकहरु

94
Shares

-हिकमत डंगोल

हिजोआजका युवापिंढीहरु रक एन्ड रोलको गीतसंगीतबाट प्रभावित मात्र छैनन् कि उनीहरु यस गीतबाट नृत्य पनि प्रस्तुत गर्दै समष्टिगत रुपमा चाल र हाउभाउले मन्त्रमुग्ध पार्ने खालको चाहना गर्दछन् । हलिउडको संगीत व्यापक रहेकाले यसमा आ–आफ्नै स्रोता र प्रशंसक रहेका छन् । आज अमेरिका र युरोपमा मात्र नभई विश्वमै रक संगीत सफलताको चरमचुलीमा पुगेको छ र रक गीतका रेकर्डले सम्पूर्ण व्यवसायको नयाँ कीर्तिमान पनि कायम गरेका छन् । जसले ६० को दशकदेखि महान् गायकहरु मनोरञ्जनको सीमाभन्दा बाहिर गएर अहिलेसम्म पनि टिनेजरहरुलाई रक संगीतले प्रभाव पारिरहेका छन् ।

 

रबर्ट प्लान्ट (रक एन्ड रोल गायक)

सन् १९६८ मा लन्डनमा स्थापना गरिएको लिड जिपलिन ब्यान्डका प्रमुख गायक हुन् रबर्ट प्लान्ट । यस समूहमा गितार बादक जिमी पेज, बासिस्ट/किबोर्डमा जोन पाल जोन र ड्रमरमा जोन बोनह्म थिए । गायक रबर्ट अमेरिकी ब्ल्याक सवाथ र डीप पर्पलका गायकहरु जत्तिकै चर्चा बटुलेर लोकप्रिय भएका थिए । गायक रबर्ट भारी धातुको प्रवर्तकका रुपमा ब्लुज शैलीमा लोक गीतसहित विभिन्न भाकामा गाउन माहिर थिए । पछि लिड जिपलिनले एटलान्टिक रेकर्डससँगको सम्झौतामा हस्ताक्षर गरेर थुप्रै गीत स्रोतामाझ प्रस्तुत गरे । शुरुमा यो समूह स्रोतामाझ अलोकप्रिय थियो । ७० को दशकमा आएर ८ एल्बम रिलिजपश्चात् स्रोताको ढुकढुकीमा बस्न सफल रह्यो । यो समूहको शीर्षकविहीन चौथो एल्बम जसलाई लिड जिपलिन आईभीका रुपमा चिनिन्छ र सोही एल्बमको हिट गीत स्टेयरवे टु हेभनले लोकप्रियता कायम गर्न सफल रह्यो । सन् १९६८ मा गीतार बादक जिमी पेजले रबर्ट प्लान्टको अडिसन लिएपछि लिड जिपलिन समूहमा आबद्ध गरेका थिए । त्यसपछि रबर्टले एक दशक जति हिट गीत दिएपछि यस समूहका एल्बम ३ सय मिलियनभन्दा बढी बिक्री भएको रेकर्ड राखेको थियो । सन् १९८० मा यो समूह छिन्नभिन्न भएपछि रबर्ट प्लान्टले एकल सफल गायकको करियर शुरुआत गरेका थिए ।

 

फ्रेडी मर्करी

सन् १९६१ मा क्विनका गायक स्माइलले क्विन ब्यान्ड छाडेर गएपछि फ्रेडी मर्करी यस ब्यान्डमा सामेल भए । सन् १९७३ मा यो समूहले पहिलो एल्बम रिलिज गर्‍यो । तर एल्बम त्यति चलेन । तैपनि फ्रेडी मर्करीको जादुमय स्वरका कारण यस समूहले छुट्टै पहिचान बनायो । सन् १९७४ मा आफ्नै नामबाट क्विन एल्बम निकाल्यो । यो एल्बम निकै हिट भयो । उक्त एल्बमको सेभेज सिइज अफ राइनका गीतले रक ब्यान्डमध्ये उनीहरु सर्वश्रेष्ठ ठहरिए । यही गीत ब्रिटिस चार्टको प्रथम स्थानमा रहन सफल भयो । जसका कारण क्विन समूहले सांगीतिक बजारमा ठूलो ब्रेक पायो । साथै यिनीहरुका ओग्री ब्याटर र द फेयरी फिलर्स बोलका अरु दुई गीतले धमाका मचाएपछि उनीहरुले अमेरिका टुर गर्ने अवसर पाए । सन् १९७५ मा निकालिएको एल्बम अ नाइट एट द ओपेरा रिलिज भएपछि यो सबैभन्दा सफल ब्यान्डको रुपमा आउन थाल्यो । फ्रेडी मर्करी यस्तो क्लासिक गीतमा प्रमुख गायक थिए, जसका लागि फ्रान्सले समेत प्रशंसा गर्‍यो ।
फ्रेडी मर्करीले गाएका गीतमध्ये यु आर माइ बेस्ट फ्रेन्ड, सम बडी टु लभ, वी आर द च्याम्पियन्स, क्रेजी लिटिल थिङ, कल्र्ड लभजस्ता गीत सर्वाधिक हिट भए । सन् १९७६ मा क्वीनले लन्डनको हेड पार्कमा कन्सर्ट गर्‍यो । सो कन्सर्ट ५० हजार दर्शकले अवलोकन गरेका थिए । ८० को दशकमा आएर यो समूहले विद्युतीय संगीत प्रयोग गर्न थाल्यो । सन् १९८२ मा गाएको स्पेस गीत हिट भयो । त्यसैगरी सन् १९८४ मा निकालेको अन्डर प्रेसर पनि हिट भयो । सो गीत बिलबोर्डको टपटेनमा पर्नुका साथै ग्रेमी अवार्ड चुम्नसमेत सफल भयो । अन्डर प्रेसर एल्बम विश्वभरि ६० लाखप्रति बिक्री भएपछि फ्रेडी मर्करी विश्वकै उत्कृष्ट गायकका रुपमा देखिन पुगे ।
सन् १९९१ मा सांगीतिक भ्रमणका लागि निस्किएका बेला फ्रेडी मर्करीको स्वास्थ्यमा समस्या आयो । स्वास्थ्य परीक्षणपछि उनी एचआईभी एड्सबाट पीडित भएको थाहा भयो । अन्नतः नोभेम्बर २२ का दिन एड्सकै कारण उनको दुःखद निधन भयो ।

 

मिक ज्यागर

मिक ज्यागर रोलिङ स्टोन्स ब्यान्डका प्रमुख गायक हुन् । उनका बारेमा एउटा चर्चित भनाइ छ । ‘जब मिक ज्यागर गाउन थाल्छन्, तपाई ननाची बस्नै सक्नुहुन्न ।’ सन् १९६२ जुलाई १२ मा स्थापना भएको रोलिङ स्टोन्स ब्यान्ड विशेष गरी लाइभ पर्फमेन्सबाट चर्चित छ । गायक मिक ज्यागरले सो समूहमा रहेर अमेरिका, बेलायत, अस्ट्रेलिया, युरोप र एसियाको विभिन्न स्थानमा गएर लाइभ कन्सर्ट गरिसकेका छन् । सन् १९६५ मा रिलिज गरिएको गीत आइ कान्ट गेट नो गीतले मिक ज्यागरलाई लोकप्रिय बनाइदियो । त्यसै गरी पेन्ट इट ब्ल्याक गीतले उनलाई अझ चर्चाको शिखरमा पुर्‍याइदियो । मिक ज्यागरलाई रोलिङ स्टोन्सको मुटु मानिन्छ । उनकै गीतले रोलिङ स्टोन्स बाँचेको छ । यस ब्यान्डका एल्बमहरुमा एन्जाइ, इट्स रक एन्ड रोल, हट स्टफ र रेस्पेक्टेवल निकै हिट मानिन्छन् ।
सन् २०१६ मा रिलिज गरेको एल्बम ब्लु एन्ड लोनसम हिट भई बिलबोर्ड चार्टको चौथो स्थानमा परेको थियो । मिक ज्यागर आफ्ना तीन सहकर्मीमाझ अहिले पनि निरन्तर गीत गाइरहेका छन् । यस्ता लोकप्रिय गायक मिक ज्यागरले ड्रग सेवन गरेका कारण दुई महिना जेलमा बिताउनुपरेको थियो ।

 

जेनिस जोलिन

जेनिस जोलिनको गाउने शैलीले सबैभन्दा प्रशंसित गायिकामध्ये एक मानिन्छिन् । जब जेनिसले मधुर शब्दयुक्त गीतमा स्वर छोड्छिन्, त्यसबेला स्टेजमा उनीसँग लाखौं युवतीहरु नाचिरहेका हुन्छन् । जेनिसले पहिलो रक ब्यान्ड बिग ब्रदरमा गायिकाको रुपमा प्रसिद्धि पाइन् । उनले सोलो गायनमा अझ सफलमा पाएकी थिइन् । अन्तिम गीत अ वुमन लेफ्ट लोन्ली रेकर्ड गराएर होटलमा फर्केकी जेनिस जोलिनले त्यस रात अत्यधिक हेरोइन सेवन गरेकी थिइन् । प्रेमीले हेला गर्ने भएकाले सधैं पीडामा हुने जेनिस त्यस रात सुईमार्फत नसामा हेरोइन चढाएर होटलको कोठामा सुतेकी थिइन् । अक्टोबर १९७० मा २७ वर्षको उमेरमा उनको दुःखद निधन भएको थियो । रक गायनमा दक्षता हासिल गरेकी जेनिसको एल्बम पर्लले बिलबोर्ड चार्टको प्रथम स्थान

 

पलमार्क कर्टनी

सन् १९४२ मा लिभरपुलमा जन्मिएका पलमार्क कर्टनीले जोन लेननसँग मिलेर बिटल्स ब्यान्ड स्थापना गरेका थिए । उनले प्रारम्भिक दिनमा आफूलाई उत्कृष्ट रक गायकका रुपमा सावित गरे । सन् १९६० को जाडोमा बिटल्सले लेथेटल टाउन हलमा कन्सर्ट दिए । जसले उनीहरुलाई ठूलो ढोका खोलिदियो । सन् १९६८ मा ह्वाइट एल्बम रिलिज गर्‍यो । जुन करोडौंको संख्यामा बिक्री भएर विश्व रेकर्ड राख्न सफल भयो । पलमार्कले यस्तो जादुमय संगीत ल्याए, जुन सुनेर केटीहरु उनीप्रति पागल भए ।

पल विश्वकै धनी गायक एवम् सफल कम्पोजर मानिन्छन् । सफलताको शिखरमा पाइला चलिरहेको बखत उनले सन् १९५० मा बिटल्ससँग सम्झौता रद्द गरे र सन् १९७१ मा सोलो करिअरमा लागे । सन् १९६८ मा रक फोटोग्राफर लिन्डा इस्टम्यानसँग विवाह गरेका पलका ३ छोरा छोरी जन्मिएका थिए । लिन्डाको स्तन क्यान्सरको कारण मृत्यु भएपछि पलले सन् २००२ मा मोडल हथर मिल्ससँग विवाह गरे । जसले एउटी छोरीलाई जन्म दिइन् । तर सन् २००६ मा सम्बन्ध विच्छेद भएपछि उनी आफ्नो पत्नीलाई २४ मिलियन पाउन्ड भुक्तानी गर्न बाध्य भए । त्यसैगरी सन् २०११ मा पलले ४७ वर्षीया अमेरिकी नेन्सी शिवलसँग तेस्रो विवाह गरेका थिए । उनी हालसम्म पनि निरन्तररुपमा गाउँदै आइरहेका छन् । जुन कोहीसँग पनि तुलना हुन सक्दैन ।

 

डेबिड बोवी

डेबिड बोवी ७० र ८० दशकको प्रभावशाली रक गायक मानिन्छन् । उनी सन् ७० को समयमा ग्याम रक आइकनका रुपमा परिचित थिए । सन् ८० को दशकमा गाएका गीतले उनको छविलाई निकै माथि पुर्‍याएको थियो । उनको सर्वश्रेष्ठ गीतहरुमा क्रोनिकलजिकल, सुपर क्रेप्स, आउट फायर, ब्लु जीनलगायत छन् । उनका यी गीतलाई अमेरिकी रक संगीतमा अद्वितीय शैली मानिन्छ । मलाई कहिल्यै तल नदिनुहोस् बोलको गीत अहिले पनि टिनेजर युवा माझ प्रेम दिवसका दिन धेरै फरमाइसमा बज्ने गरेको छ ।

 

बब डायलन

आफू र आफ्नो संगीतमा निकै विश्वास राख्ने बब डायलनको छुट्टै विशिष्ट सांगीतिक विधि छ । जसलाई उनी आफ्नो भनी गर्व गर्न रुचाउँछन् । सन् १९४१ को मे २४ मा जन्मिएका बब डायलनले ६० को दशकमा ठूलो सफलता हासिल गरेका थिए । सन् १९६३ मा गाएको गीत ग्लोइन इन द वाइन्ट एक नम्बरको स्थान प्राप्त गर्नुका साथै ग्रामी अवार्डको लागि पनि मनोनयनमा पर्‍यो । यसको साथै बब आफैले रचेको गीत द टाइम्स दे आर अ चेन्जिङ राष्ट्रियस्तरको गीत बन्न पुग्यो ।

बब डायलन रक एन्ड रोलको हल अफ फेमको एक सदस्य हुन् । उनलाई २०१६ मा साहित्यका लागि नोवेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।

 

बोनो

आफ्नो संगीत मण्डलीको छुट्टै पहिचान राख्न सफल आयरल्यान्डका यु–टु गायक बोनोको वास्तविक नाम पाल डेबिड ह्युसन हो । तर पनि उनी बोनोको नामबाट संसारभरि प्रख्यात छन् । यु–टुले अहिलेसम्म २२ वटा ग्रामी अवार्ड जित्नुको साथै विश्वभरि १ सय ५० मिलियनभन्दा बढी एल्बम बेचेको छ । सांगीतिक बजारमा ५ करोडभन्दा बढी प्रति एल्बम बिक्री भएवापत प्रदान गरिने गोल्डेन प्लाटिनम अवार्ड उनका सबै एल्बमले प्राप्त गरेका छन् । पैसा नै सबथोक होइन भन्ने धारणा बोकेका बोनोको १५ वर्षदेखि विपन्न मुलुकलाई ऋणबाट मुक्ति दिलाउन संयुक्त राष्ट्रसंघसँग वार्ता गरी तेस्रो विश्वलाई जोगाउने प्रयासको प्रशंसा गरिएको थियो । बोनोले ८० को दशकमा कन्सर्ट गरी त्यसबाट प्राप्त रकम कल्याणकारी कामका लागि विश्वका विभिन्न मुलुकलाई प्रदान गरिँदै आएको छ ।

त्यसैगरी अफ्रिकन महिला हकसम्बन्धी काम गर्ने उनकी श्रीमती एमी ह्युसनले पनि बोनोको कार्यमा सहयोग गर्दै आइरहेकी छिन् । बोनोको योगदानले तेस्रो विश्वका राष्ट्रले धेरै नै राहतको महसुस गरेका छन् । उनले गर्ने निःस्वार्थ सेवा भावना निकै प्रशंसनीय पनि छ । यसले उनको ख्याती बढाएको छ । बोनोले प्रेम गीत मात्र नगाएर, राजनीतिक कुसंस्कारको पनि गीत गाएका छन् । बोनोले आफ्नो प्रेमिकाको नाममा गाएको गीत इन द नेम अफ लभ बोलको गीतले अमेरिकामा गोरा जातिले काला जातिमाथि गर्ने भेदभाव र असमानताविरुद्ध संघर्ष गर्ने मार्टिन लुथर किंगप्रति समर्पित थियो । जुन गीतले विश्वभरि तहल्का मच्चाएको थियो ।

 

जोन लेनन

कल्पना गरौं कुनै स्वर्ग छैन
कुनै नर्क पनि छैन
यो सजिलो छ कोसिस गर्ने हो भने
हामीमाथि आकाश मात्र छ
कल्पना गरौं संसारभरिका मानिस
आजका निम्ति बाँचेका

जोन लेननले रचेको इमेजिन बोलको यो गीतमा संगीत पनि आफैले भरेको सो गीत ८० को दशकमा चरम सीमामा पुगेको थियो । जोन लेननले कमाएको ख्याति र उनले बिटल्स ब्यान्डमा गाएको गीतले अहिले पनि विश्वको नम्बर वानमा छ । लभ लभ मी डु बिटल्सको पहिलो रेकर्ड भएको गीतमा संगीत जोन लेननको र शब्द भने पर्ल मार्क कर्टनीको थियो । यही गीत सुनेर संसारभरिका युवतीहरु दुई भागमा विभाजित भएका थिए । एउटा समूहका महिलाहरु जोन लेननलाई मन पराउँथे भने अर्को थरीका महिलाले पलमार्क कर्टनीलाई मन पराउँथे । बिटल्सको गीत सुनेर महिलाहरु पागल भएका थिए । यो गीत सन् १९६२ को अक्टोबर ५ मा रिलिज भएको थियो । यही वर्ष यो गीतले ५७ वर्ष पार गर्‍यो ।

यही गीतबाट शुरु भएको बिटल मेनिया अहिलेसम्म छुटेको छैन । जोन लेननले गाएको गीत अहिले पनि सदावहार कोटीमा रहेको छ । अध्यात्मिकवादी जोन लेनन शान्तिका भोका थिए । उनले पूर्वीय संस्कृत शब्द जय गुरुदेव ओमलाई अक्रस द युनिभर्स गीतमा प्रयोग गरेर गाए । जुन गीतले पश्चिमी जगत्मा आगोसरी फैलियो । अहिले पनि यो गीत अमेरिका ग्रामी अवार्ड हुँदा विश्व प्रसिद्ध पप र रक गायकहरुले उनको सम्झना गर्दै गाउने गरेका छन् । त्यसताका जोनको इमेजिन गीत निकै प्रसिद्ध छ । बिटल्सले विश्वभरि तहल्का मच्चायो । अझ ठूलो तहल्का तब भयो, जब सन् १९७० मा बिटल्स टुक्रियो र जोन लेनन ब्यान्डबाट अलग भए । सन् १९८० डिसेम्बर ४ का दिन न्युयोर्कको ड्याकोटा भवन अगाडि राति गीत रेकर्डिङ गरेर बाटोमा हिँडिरहेका बखत उनका एक पागल प्mयान मार्क डेबिड च्यापम्यान नाम अमेरिकी नागरिकले ६ राउन्ड गोली हानेर जोनको हत्या गरिदियो ।

बेलायतको लिभरपुलमा जन्मिएका जोन बिटल्स ब्यान्डका संस्थापक सदस्य, गायक, संगीतकार एवम् गीतकार तथा विविध वाद्ययन्त्रहरुमा पोख्त विलक्षण प्रतिभाशाली व्यक्तित्व थिए । उनी जस्तो बहुप्रतिभाशाली गायक अब हमेसा यो दुनियाँमा आउँदैनन् पनि ।

 

जिम मोरिसन

६० को दशकबाट अमेरिकी रक एन्ड रोल संगीतमा जादु छर्न सफल जिम मोरिसनले सन् १९६५ मा डोर्स ब्यान्ड समूह गठन गरी आफ्नो गायन यात्रालाई अगाडि बढाउँदै आएका थिए । उनी ८ वर्ष छोटो सांगीतिक यात्रामा एक से एक हिट गीतहरु गाएर रोलिङ स्टोन म्यागजिनको कभर पेजमा आफ्नो फोटो छपाउन सफल भएका थिए भने सोही म्यागजिनले उनलाई सदाबहार रक गायकका रुपमा ४७औं स्थानमा राखेको थियो । उनले गाएकामध्ये बे्रक अन थ्रु द इन्ट, मुनलाइट डाइभ, हेलो, पिपुल आर स्ट्रेन्ज, आइ लभ युजस्ता गीत निकै लोकप्रिय भए । उनले ६ वटा सुपरहिट एल्बम निकालेर अमेरिकाभरि ख्याती कमाएका थिए ।

उनी बाँचुन्जेल जति चर्तित भए, निधनपछि अझ चर्चामा आए । सन् १९७१ मा पेरिसमा आफ्नो अपार्टमेन्टको बाथरुममा मृत अवस्थामा भेटिएका जिम मोरिसनको हृदयघातका कारण मृत्यु भएको बताइएको थियो । फ्रान्सेली कानुनअनुसार निधनपछि पोस्टमार्टम गर्नुपर्ने नियम कानुन नभएका कारण उनको वास्तविक मृत्युको कारण कहिल्यै पत्ता लागेन । सन् १९७९ मा एपोकेलिप्स नाउ नामक हलिउड फिल्मले ओस्कार एकेडेमी अवार्ड जितेपछि उनको मृत्युपछि अझ चर्चा भयो । दुईवटा अवार्ड जितेको यो फिल्ममा जिम मोरिसनको द इन्ड बोलको गीतको साउन्ड ट्रयाक प्रयोग भएको थियो । २७ वर्षको कलिलो अवस्थामा मृत्यु वरण गरेका जिमको प्रेमिका पामेला करसर्न पनि २७ वर्षको उमेरमै बितेपछि जिन मोरिसनको चर्चा झन् चुलियो ।

 

ब्रुस स्प्रिङटिन

बु्रस स्प्रिङटिन विशिष्ट स्वरका कारण अमेरिकामा सबैभन्दा हिट मानिने रक स्टारको नाममा चिनिन्छन् । उनी गायक, गीत लेखन, म्युजिक कम्पोजरको साथै ई स्ट्रिट ब्यान्डका गायक पनि थिए । उनले सन् १९७० मा गाएको गीत बर्न टु रनले सर्वाधिक हिट भई दर्जनौं अवार्ड जित्न सफल भएको थियो ।

बु्रसका गीतहरु प्रायः अमेरिकी श्रमिकको अनुभवको वरिपरि केन्द्रित छन् । बु्रसका एल्बम विश्वभरि १ सय २० मिलियनभन्दा बढी बिक्री भई रेकर्ड कायम गरेको छ । उनी सन् १९८९ सम्म ई स्ट्रिट ब्यान्ड विघटन नहुन्जेल त्यसका सदस्य थिए । ब्यान्ड विघटन भएपछि ६ वर्ष जति गुप्तबास बसेका थिए । हाल ७० वर्ष भइसकेका बु्रस आफै गीत रच्छन् । सन् २००९ मा उनी क्यानेडी केन्द्रबाट सम्मानित भएका थिए भने सन् २०१६ मा उनलाई स्वतन्त्रताका दिन राष्ट्रपतिबाट सम्मानित गरियो । ब्रुसको मौनता कालमा रक संगीतको वस्तुस्थिति अहिले निकै परिवर्तन भइसकेका छन् ।

 

एक्सल रोज

गन्स एन रोजेज ब्यान्डका प्रमुख गायक एक्सल रोजले एल्बम रिलिज नगरेको धेरै वर्ष भइसक्यो । उनको गीत झट्ट सुन्दा कुनै छनक नपाए जस्तो अनुभूति भए पनि गीतले धेरै भाव बोकेको हुन्छ । पृथ्वीमा बढ्दै गइरहेको महाविनाशलाई लिएर गाएको गीति एल्बम स्पेटेटले विश्वभरि ५६ करोड ३० लाख अमेरिकी डलर कमाउन सफल भएको थियो । एक्सल रोजलाई शुरुमा लागूऔषध सेवन गरेका कारण २५ पटकसम्म पक्राउ गरिएको थियो । उनले धेरै पटक जेलमा बस्दा सरसफाइको काम गरी सेवा गरेका थिए । सन् १९८२ मा लस एन्जलस पुगेका एक्सलले सन् १९८५ मा गन्स एन रोजेज ब्यान्ड स्थापना गरी अमेरिकाभरिमा एक महत्वपूर्ण ब्यान्डका रुपमा अगाडि बढाए ।

सन् १९१६ मा एसी डीसी ब्यान्डभित्रै कलह भइरहेको बखत एक्सलले नेतृत्व गरी गीत गाउन शुरु गरेका थिए । केही टुरमा पनि निस्केका थिए । गत वर्ष उनले निकालेको गीत रक द रक हो । हाल कुनै पनि टुर नगरेका गन्स एन रोजेज मौनरुपमा बसेका छन् । यसको अस्तित्व छ छैन अहिलेसम्म खुलस्त हुन सकेको छैन ।

 

एन विल्सन

गायिका एन विल्सन र उनकी बहिनी गिटारिस्ट नैन्सी विल्सनद्वारा स्थापित ब्यान्ड हार्टमा आबद्ध भएर रक गीत गाई बढी चर्चामा आउने गायिकाको रुपमा लिन सकिन्छ । सन् १९५० जन्मिएकी गायिका एन विल्सनले संसारभरि २० मिलियनभन्दा बढी एल्बम बेचेकी छन् । उनले सांगीतिक भ्रमणको बेला विभिन्न देश घुमिन् । सन् १९७६ मा लभ अलिभ ५ हप्तासम्म विलबोर्डको प्रथम स्थानमा रहेको थियो भने सोही साल रिलिज भएको म्याजिक म्यान गीत अमेरिकी काउन्ट डाउनको पहिलो स्थानमा रह्यो । अहिलेसम्म हार्ट ब्यान्डले ल्याएका गीतहरु सन् १९७०, १९८०, १९९० र २०१० मा बिलबोर्डको हर २ सयमा समावेश हुन पुगेको थियो । सन् २०१८ को फ्रेवुअरीमा रिलिज भएको एल्बम इमोर्टलले निकै तहल्का मच्चाएको थियो । एन विल्सनलाई आफ्नो समयमा निकै रुपवान गायिकाको रुपमा चिनिन्छ ।

(कामना मासिकको ३१७ औं अंकबाट साभार)

https://kamana.newsofnepal.com/