आजबाट इंग्लिस प्रिमियर लिग सुचारु हुँदै


न्युज अफ नेपाल, काठमाडाैँ ।

कोरोना भाइरसको महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग इपीएल फुटबल आजबाट सुचारु हुँदैछ । कोरोनाका कारण रोकिएको इपीएल तीन महिनापछि फर्कन लागेको हो । महामारी र लकडाउन छिचोल्दै विश्वभर सर्वाधिक दर्शक रहेको फुटबल लिग हेर्न थुप्रै फुटबलप्रेमी उत्साहित र प्रतिक्षारत छन् ।

तर, यी खेल बन्द रंगशालामा हुने हुँदा दर्शकले टेलिभिजन र अनलाइनबाट मात्रै खेल हेर्न पाउनेछन् । इपीएल अन्तर्गत आज पहिलो दिन जम्मा दुई खेल हुनेछन् । आज एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच म्याच हुनेछ ।

यो खेल भिल्लाको घरेलु मैदानमा नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा भिल्ला २८ खेलपछि २५ अंक जोडेर १९औं स्थानमा छ भने सेफिल्ड ४३ अंकसहित सातौं स्थानमा रहेको छ ।

आज हुने अर्को खेलमा म्यानचेस्टर सिटी र आर्सेनल आमनेसामने हुनेछ । लिग सुचारु हुँदा पहिलो दिन नै लिगका दुई बलिया टोली भिड्ने हुँदा धेरै दर्शकको ध्यान यो खेलमा केन्द्रित हुने अनुमान गरिएको छ । खेल सिटीको घरेलु मैदानमा राति ठीक १ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा सिटी २८ खेलपछि ५७ अंक जोडेर दोस्रो स्थानमा छ भने आर्सेनल ४० अंकसहित नवौं स्थानमा छ । अनौपचारिक रूपमा उपाधि गुमाइसकेका सिटीका लागि अब लिगका बाँकी म्याच प्रतिष्ठाको खेल मात्रै हुनेछन् ।

टप–४ मा रहे पनि नरहे पनि सिटीलाई यो सिजन अंक तालिकाको वरीयताले कुनै फरक पार्ने छैन । सिटीले च्याम्पियन्स लिग खेल्न नपाउने हुँदा यसपटक टप–५ मा रहने टिमले च्याम्पियन्स लिगमा स्थान बनाउने छ । यता आर्सेनल भने टप–५ दौडमा देखिन्छ ।

त्यसैले आर्सेनलका लागि आजको खेल महत्त्वपूर्ण बनेको छ । हाल अंक तालिकामा पछाडि परेपनि युरोपियन प्रतियोगितामा स्थान बनाउनका लागि आर्सेनललाई अंक तालिकामा सुधार गर्नुपर्ने दवाब छ । आर्सेनल हाल चौथो स्थानको चेल्सीभन्दा ८ अंकले पछि छ ।