डिल्लीबजार मालपोतका अधिकृत सहित ६ कर्मचारी घुस सहित रंगेहात पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत सहित ६ जना कर्मचारी आठ लाख घुस सहित रंगेहात पक्राउ परेका छन् ।

जग्गाको कित्ताकाट गरिदिएबापत सेवाग्राहीबाट घुस लिईरहेको अबस्थामा उनीहरु रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारीलाई मंगबार राति पक्राउ गरेको हो।

टोखा नगरपालिकाका–९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेसअगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगले जानकारी दिएको छ।

पक्राउ पर्नेमा नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाल छन्। उनीहरुबारे थप अनुसन्धान भइरहेको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।