आज युभेन्ट्स र नेपोली उपाधिका लागि भिड्ने


न्युज अफ नेपाल, काठमाडाैँ।

इटालीको घरेलु नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको फाइनल आज भिडन्त हुँदैछ । उपाधिका लागि सिरी ए लिगका दुई बलिया टोली युभेन्ट्स र नेपोली आमनेसामने हुँदैछन् । फाइनल खेल इटालीको राजधानी रोममा हुनेछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि सेमिफाइनलमा युभेन्ट्सले एसी मिलानलाई समग्रमा १–१ को बराबरी भए पनि अवे गोलमा पछि पारेर फाइनल पुगेको थियो । उता, नेपोलीले पनि इन्टर मिलानलाई समग्रमा २–१ ले पछि पारेर युभेन्ट्ससँग उपाधि भिडन्त पक्का गरेको हो ।

दुवै लिगका बलिया टोली भएकाले आजको उपाधि भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । जारी सिजन नेपोली घरेलु लिग ‘सिरी ए’ को अंक तालिकामा छैटों स्थानमा छ । यो सिजन उपाधि भित्र्याउन नेपोलीका लागि कोपा इटालियाको फाइनल महत्त्वपूर्ण छ । युभेन्ट्सलाई हराएर उपाधिसहित सिजन बिट मार्ने दाउमा नेपोली देखिन्छ ।

यता, युभेन्ट्स यस सिजन तीनवटा प्रतियोगिताको उपाधि जित्ने होडमा छ । युभेन्ट्स ‘सिरी ए’ को शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको पनि अन्तिम १६ मा छ । आज नेपोलीलाई कोपा इटालियाको फाइनलमा हराएर युभेन्ट्स सिजनको पहिलो उपाधि सुरक्षित गर्ने दाउमा हुनेछ ।

युभेन्ट्स यसअघि सुपर कपको फाइनलमा लाजियोसँग पराजित भएको थियो । कोपा इटालियाको उपाधि हालसम्म सबैभन्दा धेरै युभेन्ट्सले १३ पटक जितेको छ । नेपोलीले यो उपाधि जम्मा पाँचपटक मात्र जितेको छ । युभेन्ट्सले सन् २०१८ मा यसको उपाधि जित्दा नेपोलीले पछिल्लो पटक सन् २०१४ मा जितेको थियो ।