चीनकाे भारतलाई चेतावनीः चिनियाँ बललाई उक्साउन बन्द गर


काठमाडाैँ ।

विवादास्पद काश्मिर क्षेत्रको लद्धाखमा चिनिया फौजसंगको भिडन्तमा २० जना भारतीय सेनाको ज्यान गएको छ । राति भएको सो भिडन्तमा भारतीय पक्षका २० सेना मारिएका भारतिय सेनाले पुष्टि गरे्को छ।

मृतक २० जना सैनिकहरुमध्ये कर्णेल वि सन्तोष बाबु, हवलदार पटनी र जवान कुन्दन ओझा गरी ३ जनाको सनाखत भएको छ । झडपका क्रममा घाईते १७ सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाले राती विज्ञप्ति जारी गरेर औपचारिक रुपमै यो खबरको पुष्टि गरेको छ। सेनाका अनुसार दुबै देशका सैनिक झडपपछि गलवान क्षेत्रबाट पछि हटेका छन्।

सेनाले विज्ञप्तिमा भनेको छ, ‘१५–१६ जुनको राती गलवानमा दुई देशका सैनिकहरुबीच झडप भएको थियो। झडप भएको इलाकामा ड्यूटीका क्रममा १७ भारतीय सैनिक गम्भीर रूपमा घाइते भएका थिए। शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाईमा रहेको यो इलाकामा गम्भीर घाइते ती १७ सैनिकको मृत्यु भयो। यहाँ कुल २० भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेना देशको अखण्डता र संप्रभुता रक्षाका लागि प्रतिबद्ध छ।’

यसैबीच चिनियाँ सेनाका कमाण्डरले पनि यो प्रकरणमा मुख खोलेका छन्।

पीपल्स लिबरेशन आर्मी (पीएलए)का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चांग शुइलीले भारतले कडाईका साथ आफ्नो सैनिकलाई रोक्नुपर्ने र विवाद अन्त्य गर्नका लागि संवादको बाटोमा अगाडि बढ्नुपर्ने सन्देश पीएलएको आधिकारिक वीबो अकाउन्टमा पोस्ट गरिएको चीनको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ ।

उक्त पोस्टमा चांगले भनेका छन, ‘भारतीय सैनिकले आफ्नो प्रतिबद्धताको उल्लंघन गरेका छन्। र एक पटक फेरि एलएसी पार गरे। जानाजान चिनियाँ बललाई उक्साएर उनीमाथि हमला गरे। यसमा दुबै पक्षमा आमने(सामने झडप भयो र यहीँ हताहतको कारण बन्यो। म माग गर्छु कि भारत आफ्ना सैनिकलाई कडाईका साथ रोकोस र वार्ता र सम्वादका माध्यमबाट विवाद सुल्झाउनुपर्छ।’

चिनियाँ सेनाले यो घटनामा कति चिनियाँ सैनिक मरे भन्ने खुलाएको छैन।

एएनआइले जनाईएअनुसार भारतले भने चीनतर्फ ४३ जना चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेको छ।