भरतपुर अस्पतालले बोली फेर्‍यो, १० घण्टा नबित्दै छुट्टाछुट्टै बिज्ञप्ती


न्युज अफ नेपाल, चितवन ।

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पताल बन्द प्रकरणमा भरतपुर अस्पतालले दुई वटा छुट्टाछुट्टै बिज्ञप्ती निकालेको छ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको घोषणा गरेको १० घण्टा नबित्दै भरतपुर अस्पतालले पुनः अर्को विज्ञप्ती जारी गर्दै मर्मत सम्भारका लागि सेवा स्थगित गरिएको जनाएको हो ।

मंगलबार दिउँसो मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा कोरोना विशेष अस्थायी अस्पताल बन्द भएको घोषणा गरिएको थियो भने त्यसलगत्तै मंगलबार राती पुनः अर्को बिज्ञप्ति निकाल्दै मर्मतसम्भारको कारण देखाउँदै हाललाइ सेवा स्थगित गरिएको जनाएको हो ।
कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रण का लागी भन्दै निक्कै तामझामका साथ ७२ घण्टामै निर्माण थालिएको कोरोना विशेष (अस्थायी) अस्पताल आजदेखी बन्द भएको भनी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आउन थालेपछि यस्को सवत्र आलोचना भएको थियो । चर्को आलोचना भएपछि भरतपुर अस्पतालमाथि सत्तारुढ दलकै दबाब परेपछि भरतपुर अस्पतालले सेवा हाल लाई स्थगन गरेको अर्को बिज्ञप्ती प्रकाशित गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीद्धारा जारी विज्ञप्तीमा सुरक्षाको दृष्टिकोणले उक्त अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने जनाईएको छ । हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजेटिभ बिरामीलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरी उक्त कोरोना विशेष (अस्थायी) स्थगित गरिएको जारी बिज्ञप्तिमा उल्लेख छ ।