उपत्यका सवारी प्रवेशमा कडाइ

लक डाउन अवधिमा २२८२ सवारी फिर्ता, ६१८० जना फर्काइयो


  • ईश्वरराज ढकाल, काठमाडौं

स्थानीय प्रशासनले राजधानी छिर्ने सीमा नाकामा थप कडाइ गरेपछि प्रहरीले दैनिक तीन दर्जनभन्दा बढी सवारी गन्तव्यमा नपठाई फर्काइदिने गरेको छ । राजधानी भित्रिन खोज्ने सवारीलाई नागढुंगा प्रहरीले फिर्ता पठाइदिने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले लकडाउन खुकुलो गरेकै दिन असार १ गते २६ सवारीसाधन फर्र्काइदिएको जानकारी दिनुभयो । राजधानी भित्रिने वा एक जिल्लाबाट अर्को जिल्ला जाने यात्रुले सवारीसाधन चलाउँदा स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनको पत्रसहित जुन जिल्लामा पुग्ने हो, सोही जिल्लाको प्रशासनको स्वीकृतपत्र आवश्यक पर्ने व्यवस्था प्रशासनले गरेको छ ।

सोही निर्णयअनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेकजाँचलाई थप कडाइ गर्दै राजधानी भित्रिने सवारीसाधन फिर्ता पठाएको हो । ‘लकडाउन खुला भएको दिन सोमबार २६ सवारी सधान फिर्ता गराएका छौं, अझै कडाइ गर्ने तयारीमा छौं’ –महाशाखा प्रमुख एसएसपी ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

उहाँका अनुसार सोमबार बिनापास राजधानी भित्रिले १ सय २५ जनालाई फिर्ता पठाइएको छ । विशेष गरी महाशाखाले राजधानी प्रवेश गर्ने नागढुंगा नाकामा बढी कडाइ गरेको छ । नागढुंगा मात्र होइन राजधानी भित्रिने सबै नाकामा कडाइ गर्ने जानकारी गराउँदै एसएसपी ढकालले भन्नुभयो– ‘राजधानी भित्रिनेले सबै प्रक्रिया पूरा गर्नुपर्छ ।’

महाशाखाले लकडाउन शुरु भएको अवधि अर्थात् चैत ११ गतेदेखि हिजो मंगलबारसम्म २ हजार २ सय ८२ सवारीसाधन र ६ हजार १ सय ८० जनालाई सम्बन्धित गन्तव्यमा फिर्ता गराएको छ । प्रहरीले राजधानी भित्रिने सवारीसाधन र यात्रुलाई सेनिटाइज गर्ने, सबै विवरण तयार गर्ने र राजधानी प्रवेश गरेका अत्यावश्यकीय सवारी साधनमाथि निगरानी गर्ने गरेको छ ।

प्रहरीले सवारी चेकजाँच गर्न नागढुंगामा २२, जगातेमा ३२, साखुमा ५, टोखा ५, फर्पिङमा १३ जना गरी १० नाकामा करिब २ सय ट्राफिक प्रहरी परिचालन गरिएको जनाएको छ । उपत्यकामा करिब ४० जना मात्र कोरोना संक्रमित देखिएको र राजधानी सुरक्षित रहेको कारण थप कडाइ गरिएको प्रहरीले जनाएको छ । सवारी चालकलाई बढी रकम दिएर रातिराति बाहिर जिल्लाबाट राजधानी प्रवेश गर्न थालेको जानकारी पाएपछि प्रहरीले कडाइ गर्न थालेको हो ।

महाशाखा प्रमुख ढकालले कारोना संक्रमणबाट राजधानीलाई सुरक्षित राख्न थप कडाइ गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘लकडाउन शुरु भएदेखि नै कडाइ गरेका छौं, अहिले त सबै काजगात हेरेर मात्र गन्तब्यमा पठाउने भनेपछि सवारीसाधनमा कमी देखिएको छ ।’