सुरक्षा खोज्दा पहिरोले उजाडियो तुलबहादुरको परिवार


दुर्गाप्रसाद शर्मा, दुर्लुङ्ग, पर्वत

दिनभर चर्कोे घाममा हर्लक्क बढेका मकैको छहारीमा कोदो रोपेर तुलबहादुर थापाको परिवार खानपानसहित आराम गर्ने तरखरमा थियो ।

दिनभर कोदो रोपाइँमा लागेको थकाइलाई बिस्तारामा सुतेर सुस्ताउने कल्पना गर्दागर्दै नजिककै सडकमा गाडी गुडे जस्तो आवाजसहित आएको पहिरोले बिस्तारा र घरसहित तुलबहादुरसँगै परिवारका ६ सदस्यलाई कहिल्यै नफर्कने गरी चुँडेर लग्यो ।

पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ्गको काउले गाउँमा तुलबहादुर थापाको परिवार बस्न थालेको डेढ दशक मात्रै भएको थियो । दुर्लुङ्ग ढकालबारीमा जन्मनुभएको थियो तुलबहादुर थापा । जन्मथलोमा सधैं पहिरोको जोखिम भएपछि सुरक्षा खोज्दै गाउँको समथर जमिन भएको काउलेमा बासस्थान बनाउनुभयो ।

पल्लो ढकालबारीमा रहेको घर भएको जमिन सधंै कोल्टे पर्ने र ढल्कने समस्या थियो । भिरालो जमिन सधैं बग्ने समस्या भएपछि पहिरोको उच्च जोखिम भएकाले तुलबहादुरले परिवारलाई सुरक्षित बनाउन काउले गाउँमा २०६२ सालमा घर बनाउनुभएको स्थानीय प्रभु गुरुङ बताउनुहुन्छ ।

‘पहिरोको डरले परिवारलाई जोगाउन जन्मथलो छाड्नुभयो’, छिमेकी गुरुङले भन्नुभयो– ‘बाउबाजेको थातथलो छाडेर किनेको जमिनले पनि उहाँको परिवारलाई बचाउन सकेन, पहिरोमा सबै गुम्यो।’

कुस्मा नगरपालिकाकै सबैभन्दा सुरक्षित ठाउँमध्ये एउटा मानिन्थ्यो काउले गाउँ । त्यही काउले गाउँमा माथिबाट आएको पहिरोले तुलबहादुर थापा र कमला विकको घर मात्रै बगाएन सिंगो परिवारको सपना पनि माटोमा बिलाइदियो ।

दिनभर चर्को गर्मी पछि गाउँमा गाग्री घोप्टाए जसरी पानी परेको थियो । एकैछिनमा जमिन हल्लन थाल्यो र गाडी दगुरे जस्तै आवाजसँगै पहिरोले दुई घर बगायो र एक घर पूर्णरूपमा क्षतिग्रस्त बन्न पुगेको थियो ।

आफ्नै घरमा खाना खाँदै गर्दा ७० वर्षीया वृद्धा हस्तीदेवी पाध्याले पहिरो आएको थाहा नै पाउनुभएन । ढुंगेघरमा ठूलो पानी परे पनि टिनको छानोमा जस्तो आवाज नआउने भएकाले मेसो नपाएको बताउनुभयो । ‘ढुंगेघरमा भित्र हुँदा पानी दर्केको पनि मेसो पाइनँ,’ उहाँले भन्नुभयो– ‘खाना खाँदै गर्दा छोराबुहारीले आएर बाहिर निकालेपछि मात्रै विनाश भइसकेको पत्तो भयो ।’

पहिरोले घर बगाएका तुलबहादुर र कमला विकको घरसँगै जोडिएको छ ६२ वर्षीय भुवन गिरीको घर । भुवन गिरीको घरको आधा भाग पनि पहिरोले लगेको छ । उहाँले घरमै किराना पसल र मासुको व्यवसाय गर्नुभएको छ । पहिरो जानुअघि छिमेकी युवा गौतम रेग्मी उहाँसँग मासु किन्न आउनुभयो ।

भान्छामा तरकारी पकाउँदै गर्नुभएका भुवनले एकैछिन पर्खिन भन्नुभयो र यत्तिकैमा गड्याङगुडुङको आवाजसहित जमिन हल्लिन थाल्यो । भान्सामै आत्तिनुभएका भुवनलाई उहाँका छोरा अर्जुन र मासु लिन आएका गौतमले तानेर बाहिर निकाल्नुभयो  । लगत्तै पहिरोले उहाँको घरको आधाभन्दा धेरै भाग बगाएर लग्यो । मासु राखेको फ्रिज भएको कोठासहित तीन कोठा पहिरोले बगायो ।