कोरोनामा कलाकार

0
Shares

विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण वृद्धि हुन थालेपछि त्यसको असर विस्तारै नेपालमा पनि पर्न थालेको छ । नेपालमा कोरोना संक्रमण नदेखिए पनि यसको जोखिमका कारण फिल्म छायांकनका कामहरु स्थगित भएका छन् भने रिलिज डेट फाइनल गरेका फिल्महरुको प्रदर्शनसमेत स्थगित गरिएको छ ।

सरकारले कोरोना संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न केही समयका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । तर नयाँ फिल्मको रिलिज भने यसअघि नै स्थगित गरिएका छन् । बलियो हिन्दी फिल्मसँग जुध्ने डरले एक साता पछाडिका लागि सारिएको म यस्तो गीत गाउँछु २ ले कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर राख्दै रिलिज स्थगित गरेको छ भने म यस्तो गीत गाउँछु २ जुध्न आएपछि त्यसको एक सातापछाडिका लागि सारिएको पत्रकार फुलमान बलद्वारा निर्देशित फिल्म नीरफूलको रिलिज पनि स्थगित भएको छ ।

कलाकारहरुले भने कोरोना भाइरसबारे सचेतना फैलाउनु आफ्नो दायित्व सम्झेर यसबाट बच्ने तरिकाबारे भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सन्देश दिइरहेका छन् ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आगामी वैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । सिनेमा हलसँगै भिडभाड हुने खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायत बन्द गर्ने निर्णय सरकारले गरेको छ । सरकारले सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्स बार तथा क्लबसँगै करिब डेढ महिनासम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमनका लागि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

यसैबीच नेपाल चलचित्र संघले विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस ९कोभिड–१९०ले नेपाली सिनेमा घर तथा फिल्म क्षेत्रमा पारेको असरका बारे अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडासँग भेट गरी छलफल गरेको छ । संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मन्त्री खतिवडालाई कोरोना भाइरसले पारेको प्रभावका बारेमा ज्ञापनपत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

भेटमा मन्त्री डा. खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी गराउँदै नेपाली फिल्म उद्योग पनि सो असरबाट प्रभावित भएकामा जानकार रहेको र सबै क्षेत्रको जानकारी एकत्रित गरिरहेको तथा प्रभावबारे छलफल गरिरहेको स्पष्ट पारे । ‘हामी पर्ख र हेरको अवस्थामा छौं, कुन तहको क्षति हुन्छ त्यहीअनुसार योजना गर्ने हो । आगामी एक महिना कठिनाइ हुने देखिएको छ । केन्द्रीय बैंकसँग बसेर छलफल चलाइरहेका छौं र त्यसलाई अगाडि लानेछौं ।’ –भेटमा मन्त्री डा। खतिवडाले भनेका थिए । उनले चलचित्र संघका पदाधिकारीलाई ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको तथा नेपाली फिल्म उद्योगका लागि मध्यकालीन र दीर्घकालीन रणनीतिमा पनि काम गरिरहेको बताए । अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोक्न नाकाहरुमा उच्च सतर्कता अपनाइएको जानकारी गराउँदै मनोरञ्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिलाई एकद्वार प्रणालीमा लैजाने प्रयास गरिरहेको बताए । त्यसअघि संघका अध्यक्ष मधुसूदन प्रधानले सिनेमा हलमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाइ गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराएका थिए । उनले कोरोना भाइरसको प्रभावले हाल सिनेमा हलमा दर्शकहरुको संख्या न्यून भए पनि दैनिकरुपमा विभिन्न किसिमका राजस्व तथा कर तिरिरहनुपरेको गुनासो गरे । ‘हामीले दैनिक ब्याज, भ्याट, मनोरञ्जन कर, चलचित्र विकास करलगायत राजस्व तिरिरहेका छौं । अहिले कोरोना भाइरसले प्रभावित पारेको छ, अन्य उद्योगसरह राहत प्याकेज दिनुपर्‍यो ।’ –अध्यक्ष प्रधानले भने ।

कलाकारहरुले भने कोरोना भाइरसबारे सचेतना फैलाउनु आफ्नो दायित्व सम्झेर यसबाट बच्ने तरिकाबारे भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सन्देश दिइरहेका छन् ।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक भिडियो शेयर गरेका छन्, जहाँ उनले आफैले अभिनय गरेको सिरियल हेरेर मज्जा लिइरहेका देखिन्छन् । भिडियोमा उनले भनेका छन्– ‘कोरोना कोरोना कोरोना कत्ति तर्सनु कोरोनाबाटरु हामीले केही कुरा छोइसकेपछि २० सेकेन्डसम्म हात धुनुपर्छ, मास्क प्रयोग गर्नुपर्छ भनेर त ससांरले नै आह्वान गरेको कुरा हो । सरकारले पनि आह्वान गरिरहेको छ । त्यसैले म त घरमा बसेर राम्रा राम्रा चलचित्र हेरिरहेको छु । आफ्नै चलचित्र पनि हेरिरहेको छु, किताबहरु पढिरहेको छु । कोरोनासँग धेरै तर्सियौं भने पनि हाम्रो प्रतिरोध गर्ने क्षमता बिग्रेर जान्छ । सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक सन्देश आउने गर्छन् । नकारात्मक सन्देश हामी पढ्दै नपढौं । हामी दैनिक जीवनमा निकै व्यस्त भएकाले परिवारसँग बस्ने अवसरका रुपमा लिएर परिवारका साथ बसौं, सकारात्मक सोच राखौं । कोरोनालाई जित्न संसार नै लागिरहेको छ । कोरोनाको पक्कै पनि हार हुन्छ र मानव सभ्यताको जित हुनेछ । त्यस कारण समस्याको समाधान नहुन्जेलसम्म घरबाट बाहिर ननिस्कौं ।’

कलाकारहरुमा सबैभन्दा अगाडि अभिनेता राजेश हमालले भिडियो सेयर गर्दै कोरोना भाइरसको संक्रमणविरुद्ध आफूले पछिल्लो ४/५ दिनदेखि दैनिकीमा परिवर्तन गरेको र भिडभाड हुने कार्यक्रम रद्द गरी घरमै बसिरहेको बताएका छन् । यस घटनाले विश्वका साथै नेपालले पनि पाठ सिक्नुपर्ने हमालले भिडियोमा बताएका छन् । ‘सबैलाई थाहा छ विश्व अहिले असामान्य अवस्थाबाट गुज्रिरहेको छ र हाम्रो देश पनि यसबट अछुतो छैन । किनभने यस्तो किसिमको प्रकोप प्रत्यक्षरुपमा यति धेरै देशलाई पहिले परेको थिएन । मानव समाजको इतिहासमै पहिलोपटक यस्तो सामना गर्नुपरिरहेका छ । पहिलो र दोस्रो विश्वयुद्धमा पनि यतिका राष्ट्रहरुलाई प्रत्यक्षरुपमा प्रभाव पारेको थिएन ।’, हमालले भनेका छन्– ‘वर्षेनी कमन भाइरलबाट कयौं ज्यानको क्षति भए पनि ती भाइरलको औषधी उपचार थियो । तर डरलाग्दो कुरा के छ भने कोरोना भाइरसको त अहिलेसम्म कुनै पनि भ्याक्सिन आविष्कार भएको छैन । यसबाट विश्वले सिक्नुपर्ने पाठ भनेको वातावरण र स्वास्थ्य जोगाइराख्नुपर्छ । यसको कुनै पनि सीमा हुँदैन । विश्व अहिले एक अर्कासँग यति नजिक भइसक्यो कि एकको प्रभाव छिट्टै अर्कोमा पर्छ । यसको ब्राइट पक्ष भनेको चाहिँ यति बेला सबै देशको ध्यान एकातिर गइरहेको छ । विकसित राष्ट्रहरुले पनि आफू मात्र होइन, आफूभन्दा गरिब राष्ट्रहरुको स्वास्थ्यस्थिति माथि उठाउन ध्यान दिनुपर्छ । यस कारण स्वास्थ्य र वातावरणको सवालमा विश्व एकजुट हुन र यसबाट पाठ सिक्न जरुरी छ ।’ हमालले भनेका छन्– ‘यसका साथै हाम्रो राष्ट्रले पनि यसबाट पाठ सिक्न जरुरी छ कि हामी खालि समृद्धि समृद्धि मात्र भन्छौं, तर समृद्धिका लागि स्वस्थ हुनुपर्छ । अब स्वास्थ्यको क्षेत्रमा लापरबाही हुनुभएन । स्वास्थ्यको प्रतिकूल प्रभाव जनसमुदायमा मात्र होइन, सम्पूर्ण देशमा पर्छ ।’

नायिका तथा निर्मात्री करिश्मा मानन्धरले आफ्नो घरको बगैैंचाबाट कोरोना भाइरसबाट बच्नका लागि अपनाएका सतर्कताबारे एक भिडियोमा खुलाएकी छिन् । ‘म केही समययता घरभित्रै बसिरहेको छु । यसपालि मैले होली सेलिब्रेट गरिनँ । किनभने होलीमा मानिसको भिडभाड हुने र कोरोना सरुवा रोग भएकाले मानिसहरुलाई सर्ने सम्भावना हुन्थ्यो । त्यही कारण नै होली कार्यक्रम क्यान्सिल गरें । त्यति बेला भर्खरै चाइनामा कोरोना भाइरस देखिएको अवस्था थियो ।’, भिडियोमा करिश्माले त्यसै बेलादेखि नै आफुलाई सतर्कता अपनाउनुपर्छ भन्ने लागेको बताएकी छिन् । ‘यात्रुहरुका कारण विभिन्न मुलुकमा यो रोग फैलिएका कारण मैले त्यही बेलामा सचेतना अपनाउनुपर्छ भन्ने सोचले होली क्यान्सिल गरेको थिएँ । अहिलेसम्म यो विश्वका विभिन्न मुलुकमा फैलिसकेको छ । अहिले हामी यसबाट बच्ने उपाय भनेको नै सतर्कता अपनाउने हो ।’ –उनी भन्छिन् । अर्की अभिनेत्री केकी अधिकारीले पनि फेसबुकमा लाइभ आएर कोरोनाबाट सचेत रहन अग्रह गरेकी छिन् । उनले कोरोना संक्रमणमा नेपाल उच्च जोखिममा रहेको र यस बेला आफू पनि सतर्क भई नजिकका मानिसहरुलाई सचेत बनाउनु आवश्यक रहेको बताएकी छिन् । ‘यस्तो बेला सकभर परिवारसँग रहन आवश्यक छ । हामीले प्रत्यक्षरुपमा कोरोना भाइरसको संक्रमण र घटना देखेका छैनौं । तर पनि छिमेकी देशहरुमा प्रभाव रहेकाले सर्तकता अपनाउन जरुरी छ । यदि आफूलाई खोकी लाग्नेजस्ता लक्षण भएमा अलग्गै बस्नुहोला । साथै कोरोनाको शंका लागेमा टेकु अस्पतालका डाक्टरहरुसँग यसबारे जानकारी लिन सकिन्छ ।’ –केकीले भनेकी छिन् । केकीले सकेसम्म घरमै बस्न र बाहिर जानै परे मास्कको प्रयोग अनिवार्य गरेर सावधानी अपनाउन सुझाएकी छिन् ।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै नेपालमा अहिलेसम्म कोरोनाको महामारी नफैलिए पनि सुरक्षित रहन गर्नुपर्ने विधिहरुबारे जानकारी दिएका छन् । उनले भिडियोमा साबुन पानीले हात धुने, सेनेटाइजर प्रयोग गर्ने, अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कने, भिडभाडमा नजानेलगायतका सावधानी अपनाउन अपील गरेका छन् । उनले अन्य कलाकारलाई पनि कोरोनाबाट जोगिन गर्नुपर्ने विधिबारे जनमानसमा सन्देश पु¥याउन आग्रहसमेत गरेका छन् ।


अर्का हास्यव्यंग्य अभिनेता दीपकराज गिरीले पनि भिडियो सन्देश सेयर गर्दै भयलाई जित्न आह्वान गरेका छन् । ‘यो महामारीबाट बच्नलाई ठूलो प्रयास गर्नुपर्छ । त्यसका लागि सरकारले ल्याएको नियमलाई फलो गरौं । मुख्य कुरा सकेसम्म बाहिर ननिस्कौं । यसलाई अवसरका रुपमा लिनुपर्छ’, गिरीले भनेका छन्– ‘हामी पारिवारिक दायित्व निर्वाह गर्न, कमाउन जीवनभर घरबाट बाहिर निस्कनुपर्छ । त्यसका लागि हामी परिवारबाट टाढा भइरहेका थियौं । कतिपय ठाउँमा चाहिँ संग्रहका लागि पनि परिवारबाट टाढा पनि बस्नुपर्‍यो होला ।

प्रकृतिले दिएको संकेत पनि होला तिमी परिवारसँग पनि क्लोज होऊ भनेर । त्यसकारणले यसलाई परिवारसँग बस्ने मौकाका रुपमा यसलाई लिऔं । हामी सिनेमाको मान्छेहरुको घरमा बस्ने एकदमै कम हुन्छ । घरमा बस्ने मौका यही हो ।’ उनले अगाडि भनेका छन्– ‘कुन समाचार सही हो र कुन भ्र्रामक हो भन्ने हामीले बुझ्न एकदम जरुरी छ । हामी कुनै न्युज देख्यौँ भने तथ्य नबुझी आफन्तलाई पठाउन थालिहाल्छौं । कुनै न्युज कसैलाई पठाउनुअघि विश्वसनीयता कति छ भनेर हेर्नु जरुरी छ । न्युज कन्फर्म भएपछि मात्र अरुलाई फरवार्ड गरौं । अर्को हामी नेपालीहरु धेरै डक्टर भइदिन्छौँ । त्यसो पनि नगरौं । विज्ञको मात्र कुरा सुनौं । आर्थिक अभाव पनि हुन सक्ला । तर ज्यान रहे फेरि कमाउँला । इम्युन पावरलाई पर्फेक्ट राखौं ।’

 

(कामना मासिकको ३१७ औं अंकबाट साभार)

www.kamana.newsofnepal.com