वर्षाका कारण यी नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह


न्युज अफ नेपाल, काठमाडौं ।
मुलुकमा पूर्वी भू–भागहुँदै मनसुन भित्रिएसँगै भएको वर्षाका कारण विभिन्न नदी नाला तथा खहरेमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घन्टामा मुलुकको मध्य र पूर्वी भू–भागमा आंशिक तथा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा भईरहेको छ ।

झापा, मोरङ, सुनसरी, उदयपुर ,प्रदेश २ को अधिकांश स्थान, सिन्धुली, रामेछाप, दोलखा, मकवानपुर,चितवन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमान्डौ उपत्यका,धादिङ, नुवाकोट, नवलपरासी, गोरखा, लमजुङ, तनहूं, कास्की, म्याग्दी,बागलुङ, रूपन्देही, कपिलवस्तु आसपास वर्षा भईरहेको छ ।

प्रदेश २ र १ को तराईको भू–भागमा थप केहि समय मध्ययम बर्षा हुने संभावना समेत रहेको। कन्काई, कमला, बागमती नदीमा पनि बहाव केहि बढ्दो रहेको तर सतर्कता तह भन्दा तलै हुने महाशाखाले जनाएको छ । त्यस्तै चुरे र तराईबाट बहने त्रियुगा, माहुली,खाडो, गागन, रातु, चुरिया खोला, बालन (खुट्टी, महरा, जिमखोला, लखन्दी लगायत प्रदेश २ र प्रदेश १ को तराईको भू–भाग भई बहने स–साना खहरे खोलामा बहाव बढ्ने बताईएको छ । केहिमा आकस्मिक बहाव पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिनभर मध्यान्न सम्म स–साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाई राख्न आग्रह गरेको छ ।