भारतसँग वार्ताका लागि सहजीकरण गर्न तयार छु: डा. भट्टराई


नेपाल समाचारपत्र, गोरखा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग वार्ताका लागि आफूले सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ । सोमबार बिहान गोरखामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अहंकार त्याग गर्नुपर्ने धारणा राख्नुभएको छ । भट्टराईले भारतीय राजनीतिक नेतासँग यस विषयमा छलफल भइरहेकाले सहजीकरण गर्न आफू तत्पर रहेको बताउनुभयो ।

‘भारतको अहिलेका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण संयोगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भावनात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरूले बेला–बेला सम्पर्क गर्नुहुन्छ ।

वार्ताका लागि वातावरण बनाउनुस् भन्नुहुन्छ’, उहाँले भन्नुभयो– ‘त्यस हिसाबले आवश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ । ’

‘वार्ताको वातावरण बनाउन मुख्यतः प्रधानमन्त्री ओलीको जुन अहंकारी प्रवृत्ति छ, त्यो उहाँले परित्याग गर्नुपर्छ । वार्ताको नेतृत्व त सरकारले गर्नुपर्छ । सहजीकरण गर्न र सहयोगी भूमिका निर्वाह गर्न म तयार छु ।’ –खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिले असान्दर्भिक हुने भन्दै उहाँले वार्ता र संवादकै माध्यमबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

‘कालापानी क्षेत्रको विषयमा जुन विवाद भइरहेको छ, त्यो भूमि हाम्रै हो, कसैले खोसेर लान त सक्दैन’, उहाँले भन्नुभयो– ‘त्यसमा भोग अधिकार स्थापित गर्नका लागि फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई हटाउनु एउटा बाटो हुन्छ । यो नेपालको सन्दर्भमा अहिले बुद्धिमानी र व्यावहारिक हुँदैन । अहिलेको विश्वमा यो उपयुक्त पनि हुँदैन । दोस्रो बाटो भनेको अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कूटनीतिक वार्तामार्फत यो समाधान गर्ने हो ।’ वार्ताका लागि प्रधानमन्त्री ओलीले आफ्नो क्षमता र कौशलता प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

वार्ताको पहल नगरी गरिएका वक्तव्यवाजीले प्रधानमन्त्रीले राष्ट्रियताको खोल मात्र ओढेको पुष्टि हुने बताउँदै उहाँले भन्नुभयो– ‘यदि प्रधानमन्त्रीले यथाशीघ्र वार्ता र संवाद गरी समस्या समाधान गर्न नसके राष्ट्रियताको आवरण मात्र ओढ्नुभएको हो कि भन्ने जनताले गरेको आशंका सत्य पुष्टि हुनेछ ।’

‘मेरो व्यक्तिगत धारणा त अझ सीमासम्बन्धी, पारावहनसम्बन्धी, अर्थ वाणिज्यसम्बन्धी विषय, विभिन्न सन्धि–सम्झौता एकमुष्ट ढंगले हल गर्नका लागि प्रबुद्ध समूहबाटै सम्भव छ भन्ने हो । नेपाल र भारतका जनताको बीचमा कहिलै पनि दुश्मनी छैन । खालि सत्ता र सरकारबीचमा मात्र खटपट भएको हो । त्यसैले सकभर ईपीजीमार्फत नै हल गर्नुपर्छ ।’ –उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओली आफू पनि नजान्ने, अरूले भनेको पनि नमान्ने भएका कारण समस्या जड भएर रहेको उहाँको विश्लेषण थियो । ‘दुःखका साथ भन्नुपर्छ, हाम्रा प्रधानमन्त्री कसैको पनि सुझाव सुन्नुहुन्न । अल्पज्ञान र अहंकारको संमिश्रण उहाँमा छ त्यसले आफू पनि सच्चिनुहुन्न, राष्ट्रिय, अन्तर्राष्ट्रिय वातावरण पनि बिगारिरहनुभएको छ ।’ –भट्टराईले भन्नुभयो ।

वार्ता र संवाद नै यसको समाधान भएको उहाँले दोहो¥याउनुभयो । महाकाली सन्धिका बेला केपी शर्मा ओली चुकिसकेका हुँदा त्यसप्रति क्षमा याचनासहित समस्या समाधानका लागि पहल गर्नुपर्ने पनि उहाँको भनाइ थियो ।