तीन हजार नेपालीलाई नागरिकता पाउने बाटो खुला


काठमाडौं, (नेस)

गुञ्जी, नाभी र कुटीका ३ हजार बासिन्दाले अब नेपाली नागरिकता लिन पाउने बाटो खुला भएको संविधानविद् पूर्णमान शाक्यले बताउनुभएको छ ।

भारतीय अतिक्रमणमा रहेका गुञ्जी, नाभी र कुटी गाउँ नेपालले आफ्नो नक्सामा समेटेसँगै त्यस क्षेत्रका ३ हजार बढीले नेपालको नागरिकता लिने बाटो खुलेको उहाँको भनाइ छ ।

‘सो क्षेत्रमा बासिन्दाले नेपालको नागरिकता लिन चाहेमा सरकारले नागरिकता उपलब्ध गराउनुपर्छ । त्यसका लागि उनीहरूले त्यस क्षेत्रमा बस्दै आएको प्रमाण पेस गरे पुग्छ’, अन्तर्राष्ट्रिय कानुनका विज्ञ शाक्यले भन्नुभयो– ‘अहिले उनीहरूसँग भारतको आधारकार्ड होला । तर, त्यो जमिन नेपालको हो । त्यस क्षेत्रमा मानिस नेपाली नै हुन् । अन्य क्षेत्रका बासिन्दासरह अब उनीहरूले पनि नागरिकता पाउँछन् ।’

भारतीय नियन्त्रणमा रहेको सो क्षेत्र नेपालको राजनीतिक नक्सामा व्यास गाउँपालिका–१ मा पर्छ । अहिले नक्सामा समेटिएको त्यस क्षेत्रमा गुञ्जी, नाभी र कुटी नाम गरेका तीनवटा गाउँ छन् ।

भारतीय सञ्चारमाध्यमले ती गाउँको जनसंख्या ३ हजारभन्दा बढी रहेको जनाएका छन् । ती गाउँका बासिन्दा भारत सरकारका उच्च निकायमा समेत विभिन्न पदमा जागिरे पनि रहेको बताइएको छ ।

२०१८ सालमा ती गाउँमा पुगेर आफूले जनगणना गरेको पत्रकार भैरव रिसालले बताउनुभएको छ । नेपालले पनि महाकाली करिडोरका रूपमा कालापानी क्षेत्रसम्म सडक बनाउने योजना बनाएको छ ।