कालापानीमा नियमित गस्ती गर्दै सशस्त्र प्रहरी बल


नेपाल समाचारपत्र, काठमाडौं

सीमाको सुरक्षामा नियमित गस्ती गर्दै आएको सशस्त्र प्रहरी बलले अहिले कालापानी क्षेत्रमा नियमित गस्ती गर्दै आएको छ । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र कालापानीमा सशस्त्र प्रहरी बलले नियमित गस्तीलाई तीव्रता दिएको छ ।

सामरिक हिसावले महत्वपूर्ण मानिएको कालापानी क्षेत्रको छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएपछि अहिले कालापानीको सेतो पुलसम्म नियमित गस्ती गरेर फर्कने गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । छाङरुबाट कालापानी १४ किलोमिटर टाढा रहेको कालापानी क्षेत्रसम्म गस्ती गर्ने गरेको बताइएको छ ।

दार्चुला सदरमुकाम खलंगाबाट छाङरु करिब ८० किमि र छाङरुबाट गुञ्जी दोभान १० किमिको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किमि टाढा छ । कालापानीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिँडेर जान १० घन्टासम्म लाग्ने गरेको छ ।

सरकारले भारतीय अतिक्रमणमा परेको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरिसकेको छ । सो नक्सालाई समेटेर बनाइएको निशान छापलाई प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मतरूपमा पारित गरेको छ ।

सो क्षेत्रमा भारतीय सुरक्षाफौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धिबमोजिम काली नदीदेखि पूर्वतर्फ नेपाल हो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले छाङरुमा बीओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुसी भएको, उनीहरूले सुरक्षित महसुस गरेको र दार्चुला सदरमुकाम बस्दै आएका मानिसहरू गाउँ फर्कन थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सीमालाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ हामी अग्रसर भएका छौं । बीओपीको विस्तारले सीमामा हामीलाई बढीभन्दा बढी उपस्थिति गराउन मद्दत पुग्नेछ ।’

बजेट विनियोजनपछि छाङरुमा सशस्त्र प्रहरी बल नेपालले भवन निर्माण प्रक्रिया शुरू गरिसकेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड बजेट छुट्याइसकेको छ । गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पु¥याएर बीओपी स्थापना गरिएको थियो । गत मंसिर २३ गते सरकारले सीमा क्षेत्रमा थप १ सय १४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो ।

विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ ।

विसं २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बीओपीलाई २ सय २१ सम्म विस्तार गर्ने योजनाअनुहार हाल १ सय ३० सञ्चालनमा ल्याइएको छ । उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङरु, मुस्ताङको नेचुङमा नयाँ बीओपी स्थापना भएका हुन् । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी सञ्चालनमा ल्याइने आईजीपी खनालले बताउनुभयो ।