पशुपति क्षेत्रमा सरसफाइ र खानेपानी परियोजना सञ्चालन गर्न सम्झौता

परियोजनाको लागत ५ करोड

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

पशुपतिको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानी सम्बन्धि परियोजना सञ्चालन गर्न आज सम्झौता सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बिकास सहायता समन्वय शाखाको समन्वयमा, सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भयो ।

सम्झौतामा नेपाल सरकारकातर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौं महानगरकातर्फबाट पूर्वाधार बिकास बिभागका प्रमुख राम थापा र भारतीय दूताबासकातर्फबाट डिभलपमेन्ट कोअपरेसन काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गर्नुभयो ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने साना बिकास परियोजनाअन्तर्गत भारतीय दूताबासको ८० प्रतिशत (३ करोड ७२ लाख ३१ हजार १६२ रुपैयाँ) र काठमाडौं महानगरको २० प्रतिशत (१ करोड ४५ लाख ७९ हजार १४४ रुपैयाँ) लागत सहभागिता रहने परियोजनाको लागत ५ करोड १८ लाख १० हजार ३०६ रुपैयाँ रहेको छ ।

सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र बिकास कोषले, परियोजना कार्यान्वयन काठमाडौं महानगरपालिकाले र अनुगमन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ । परियोजना सञ्चालनको यो रकम सरकारको बजेट बिनियोजनको प्रणालीअन्तर्गत शशर्त अनुदानका रुपमा प्राप्त हुनेछ ।

सहरी समृद्धिका लागि पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक तथा आर्थिक पुनरुत्थानका काममा महानगरले आफ्नै श्रोतमा पनि धेरै काम गरिरहेको छ । परियोजनाका सञ्चालनका विषयमा प्रतिक्रिया दिँदै महानगरका सहसचिव राजेश्वर ज्ञवाली भन्नुहुन्छ — धेरै जनताले लाभ पाउने परियोजनामा साझेदारिताको प्रस्ताव लिएर आउने साझेदारलाई हामीले लगानीका लागि प्रोत्साहित गर्ने गरेका छौं ।

सम्झौतापछि परियोजनाका बारेमा जानकारी दिँदै मन्त्रालयको बिकास सहायता समन्वय शाखा प्रमुखले कँडेलले भन्नुभयो — पशुपतिको दर्शन गर्न जाने श्रद्धालुलाई मन्दिर परिसरको वातावरणीय अवस्थाले नकारात्मक समस्या नपरोस् र सुबिधामा समस्या नहोस् भनेर सुधारात्मक परियोजना सञ्चालन गर्न थालिएको हो ।

साना—साना परियोजनाबाट नेपाल र भारतका जनता—जनता स्तरमा सुमधुर सम्बन्ध रहोस् भन्नका लागि हामीले सहकार्य गरेका हौं । सम्झौतापछि काउन्सिलर शर्माले भन्नुभयो —नेपालको आर्थिक—सामाजिक, सामाजिक—सांस्कृतिक र बिकासका क्षेत्रमा सहयोग गर्ने हाम्रो चाहना हो ।

परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनको काम हुनेछ । परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।