गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

कैलाश गाउँपालिकाको प्रशासनिक भवनमा भएको आगलागीको घटनालाई ‘सौर्यऊर्जा प्रणाली समयमै मर्मत नगर्दाको परिणाम’ भनिएको छ । उक्त घटनापछि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो ।

गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसमक्ष पेश भएको प्रतिवेदनमा प्रशासनिक भवनमा जेठ १५ गते आगलागी हुनुको मुख्य कारण यसरी उल्लेख गरिएको छ ।

प्रतिवेदनमा गाउँपालिका भवनसहित त्यहाँका विद्युतीय उपकरण, अन्य भौतिक सामग्रीसहित आगो लागेर जल्दा एक करोड एकाउन्न लाख अठहत्तर हजार आठ सय पच्चीस रुपियाँ बराबरको क्षति भएको उल्लेख छ ।

भवनमा आगलागी हुनुभन्दा दुई दिनअघि कैलाश गाउँपालिका–३, कालीकाटारमा चट्याङ परेको र उक्त चट्याङले विभिन्न व्यक्ति र संस्थाका विद्युतीय सामग्रीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । सोही क्रममा गाउँपालिकाको भवनमा रहेको सौर्यऊर्जा प्रणालीमा पनि क्षति पुगेको र सोको समयमै मर्मत नभएकोले आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।

जेठ १३ गतेको चट्याङले क्षति गरेको सौर्यऊर्जा मर्मत नगरिएकै अबस्थामा रहेकोमा जेठ १५ गते चर्काे घाम लागेर विद्युत् उत्पादन सुरु भएपछि उपकरणमा आगलागी भई भवन जलेको प्रतिवेदनमा उल्लेख गरिएको छानबिन समितिले जनाएको छ ।

जेठ १४ गते घाम नलागेकाले क्षति नभए पनि जेठ १५ गते चर्काे घाम लाग्दै जाँदा विहान करिब सवा ११ बजे भवनमा सौर्यऊर्जाकै सर्किटहरुमा खराबी आउँदा आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले प्रत्यक्षदर्शीको बयान, सौर्यऊर्जा जडानको प्राविधिक पक्ष, गाउँपालिकाको शाखागत विवरण संकलन, विभिन्न सरकारी तथा गैरसरकारी निकायको भनाइ, स्थलगत अनुगमन र अवलोकनपछि प्राप्त सूचना विश्लेषण गरी अन्तिम प्रतिवेदन गाउँपालिकालाई प्रस्तुत गरेको जनाएको छ ।

छानबिन समितिले गाउँपालिकालाई विभिन्न सुझाव पनि प्रतिवेदनमार्फत् दिएको छ । जसअनुसार सौर्यऊर्जा प्रणाली र कार्यालयको दुरी कायम हुनुपर्ने, समय/समयमा विद्युत प्रणालीको प्राविधिक चेक हुनुपर्ने, आगलागीबाट बच्ने उपायहरु अग्रिम व्यबस्था गरिनुपर्ने, भवन निर्माण गर्दा स्थानीय माटो, काठ, ढुंगाजस्ता सामग्री प्रयोग हुनुपर्ने उल्लेख छ ।

स्टोर कोठामा सौर्यऊर्जाका ब्याट्रीहरु राखिएको र स्टोर कोठामा चाँडै आगो लाग्ने कागजहरु पनि रहेकाले केही समयभित्र आगो फैलिएर भवनका कोठाहरु ध्वस्त भएको र भौतिक सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।

१० दिन कार्यादेश पाएको समितिले विवरण संकलन गर्न नभ्याएपछि कार्यपालिका बैठकले पाँच दिन म्याद थप गरी काम गर्ने आदेश दिएको थियो । सोहीबमोजिम निर्धारित समयमा प्रतिवेदन बुझाइएको संयोजक/पालिका उपाध्यक्ष सुकुमाया थिङले बताउनुभयो ।
प्रशासकीय भवनमा आगलागी हुँदा कार्यालय खरानी भएको थियो । भवनमा रहेको कुनै पनि कागजपत्र झिक्न सकिएन । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेको बेला ऊर्जा प्रणालीमा सर्ट भएको थियो ।

उक्त भवन २०७३ सालमा नेपाली सेनाले निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । प्रिफ्याबको १८ कोठे भवन आगलागी भएर सबै जलेर नष्ट भएको पालिका उपाध्यक्ष थिङले बताउनुभयो । कार्यालयमा जेनेरेटर र सोलारबाट विद्युत् उपलब्ध गरिँदै आएको छ ।