भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा भएका दुई फरक–फरक सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार साँझ भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक भत्केको पाटीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

खरिपाटी बाट कमलविनायक तर्फ आउँदै गरेको बा ९५ प १४५५ नं. को मोटरसाइकल आफैं अनियन्त्रीत भई सडकको नालीमा खस्न गई दुर्घटना भएको हो ।

दुर्घटनामा भनपा १० कमलविनायक बस्ने वर्ष १७ को रन्जित माहाजुको उपचारको क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा गएराती नै मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डएसपी) दिपक गिरीले बताउनुभयो ।

उक्त मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी विहिबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठोक्किँदा अर्को दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर स्कुटर पछाडी सवार काठमाडांै कागेश्वरी मनोहरा बस्ने ४५ वर्षकी लक्ष्मी कार्की गम्भिर घाईते भई नेपाल कोरिया मैत्री अस्पताल ठिमी लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार कार्कीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागी सोही दिन अन्नपुर्ण न्युरो अस्पताल रिफर गरी उपचार भईरहेकोमा आईतबार राती मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङ्करका चालक रामेछाप जिल्ला मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत ठिमीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी डिएसपी गिरीले बताउनुभयो ।