ट्रक दुर्घटनामा चालकको मृत्यु

0
Shares

  • मिला दरै,तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सोमबार ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान घर भएका अन्दाजी ३० वर्षीय विष्णु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ना ६ ख ६६५ नम्बरको ट्रक दुर्घटना हुँदा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । सहचालक दाङ बेलैहाका सूर्य बुढाथोकी गम्भिर घाइते रहेको उहाँले बताउनुभयो ।

बीरगञ्जबाट आँबुखैरेनी स्थित अरनिको इड्रिष्टिज प्रा.लि.को लागि सिमेन्टको कच्चा पदार्थ ल्याउँदै गर्दा सडकदेखि करिब २५ फिट तल खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक विकास थापाले बताउनुभयो । घाइते सहचालकको अवस्था गम्भीर रहेकोले उसको नामथर सोध्न सक्ने अवस्था नरहेको थापाले बताउनुभयो ।

घाइतेको आँबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा सामान्य उपचार थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ । ट्रक सडकदेखि तल खोचमा खसेकोले उनीहरुको उद्दार गर्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले लामो प्रयास पछि उद्दार गर्न सफल भएको थियो ।

त्यसैगरी तनहुँको सदरमुकाम दमौलीबाट कामदार लिएर मानुङतर्फ जाँदै गरेको एक ट्याक्टर सोमबार बिहान दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । व्यास नगरपालिका–५ अलैचीमा पनि ना अ प का १३०७ नम्बरको अनटेष्ट ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिदाँ तीन गम्भीर सहित १३ जना घाइते भएका हुन् । दुर्घटनामा परी गम्भिर घाइते तीन जनालाई थप उपचारको लागि पोखरा पठाइएको छ भने अन्य घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।