बागमती प्रदेश सरकारले ५० अर्ब हाराहारीको बजेट ल्याउँदै

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौं 

वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ५० अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । आज साँझ ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गर्नुहुने भएको छ ।

बजेटमा लकडाउनका कारण थलिएको अर्थतन्त्र उकास्ने, कृषि उत्पादन बढाउने तथा उद्यामशीलता वृद्धि गर्नेखालका योजना समेटेर बजेट ल्याउन लागिएको बताइएको छ । यस बर्ष स्वास्थ्य क्षेत्रलाई बजेटले उच्च प्राथमिकता दिएको छ ।

यसअघि प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा ‘कोभिड विशेष’ कृषि कार्यक्रमलाई जोड दिएको छ । विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरेर बेरोजगार रहेका युवालाई कृषिमा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार तथा आयमूलक कोभिड विशेष कृषि कार्यक्रमको थालनी नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याउन लागिएको हो ।

‘मेरो उद्यम, अति उत्तम’ कार्यक्रमअन्तर्गत सात हजार १४० जनालाई रोजगारी दिने गरी आउन लागेको बजेटमा व्यावसायिक जडीबुटी फार्म सञ्चालनबाट छ हजार ४०० रोपनीमा विभिन्न किसिमका खेती गर्न दिने र २५ हजार २०० जनालाई रोजगारी दिइने तयारी सहित बजेट निर्माण गरिएको जनाइएको छ ।