के हो धार्मिक सम्प्रदाय ?


धार्मिक आस्था मानिसको पारिवारिक स्थिति, आफ्नो अध्ययन र संगतबाट प्राप्त हुने विषय हो । कुनै पनि धार्मिक सम्प्रदायको निर्माण ठूल्ठूला तपस्या, बलिदान, रक्तपातबाट भएको छ । परमेश्वर, ईश्वर, भगवान् वा अल्लाह जे भने पनि उनीहरु महापुरुष थिए र उनीहरुले कठोर तपस्या र आत्मबलिदानबाट मानव उपयोगी विचारको प्रतिपादन गरेका हुन् ।
आजभन्दा करिब ५ हजार वर्षअगाडि गोठाला परिवारमा जन्मेका कृष्णले त्यति बेलाका निरंकुश शासकहरुको दोहोलो मात्र काढेनन्, मानव उपयोगी दर्शन पनि अगाडि सारे । गोठालाहरुको संरक्षण, सुदामाजस्ता भिखारीसँगको उनको मित्रता र देश निकालामा परेका पाण्डवहरुको पक्षपोषण उनले गरेका राम्रा कामहरु हुन् ।
स्वाभाविकरुपमा उनका अनुयायीको संख्या बढ्दै गयो र त्यसले एउटा धार्मिक सम्प्रदायको रुप लियो । त्यसको करिब २५ सय वर्षपछि हिन्दू धार्मिक राजपरिवारमा जन्मेका बुद्धले राजपाठ त्यागेर मानव मात्रको हित र कल्याणका लागि आजीवन तपस्वी बने र ज्ञान प्राप्त गरे । उनले प्रतिपादन गरेको धर्मको सर्वोपरि मान्यता सबैलाई माया गर भन्ने थियो ।
अर्का महापुरुष यसु ख्रिस्ट जन्मनुअगावै बुद्धको विचारले एसियाका अधिकांश भूभाग मात्र होइन, अलेक्जेडियासम्म आफ्नो प्रभाव जमाइसकेको थियो । महापुरुष यसु ख्रिस्टले त आफ्नो सम्पूर्ण जीवन दुःखमा परेका मानिसको उद्धारमा खर्चिएको देखिन्छ । उनी जन्मिएको समाजमा विद्यमान शोषण र अत्याचारको निशानामा आफैं पर्दासमेत त्यसको उनले कुनै प्रवाह गरेनन् । उनी प्रस्टरुपमा दुःखीको पक्षमा थिए भन्ने कुरा उनका दुईवटा भनाइबाट देख्न सकिन्छ– ‘जति सियोको टुप्पोमा उँट छिराउन सजिलो छ, त्यति सजिलो धनीलाई परमेश्वरको राज्यमा छिर्न सजिलो छैन (म्याथ्यू १९ः२००) र ‘फ्याउराको लुक्ने दुलो छ, आकाशमा उड्ने चराहरुको गुँड छ तर मेरो टाउको लुकाउने ठाउँसमेत छैन (म्याथ्यू ८ः१९–२००) ।
यी भनाइले उनको पारिवारिक स्थिति र वर्गीय दृष्टिकोण प्रस्ट हुन्छ । मुस्लिम धर्मका प्रवद्र्धक पैगम्बर महम्मदका समान दृष्टान्तहरु पाइन्छन् । यी प्रसंग उल्लेख गर्नुको तात्पर्य के हो भने, हाल संसारमा अस्तित्वमा रहेका धर्महरुको शुरुवात दुःख र अन्यायमा परेकाको हित एवं उद्धार हेतु भएको थियो ।
त्यसकारण एउटा धर्म अँगाल्दा विछट्टै राम्रो हुने र अर्को धर्म अँगाल्दाचाहिँ अपराध हुने जुन तर्क बेला–बेलामा सुनिन्छ, त्यो तर्क निन्दनीय छ । आज युरोप र अमेरिकामा पूर्वीय धर्म दर्शनप्रति चासो बढेको देखिन्छ भने यसु ख्रिस्टले प्रतिपादन गरेको धर्मदर्शनले नेपाललगायत विभिन्न एसियाली मुलुकमा मानिसहरुको मन आकर्षित गरिरहेको छ । यो नितान्त स्वाभाविक विषय हो ।
एउटा सानो गाउँजस्तो विश्वमा यस्ता प्रभावहरुलाई कुनै राज्य, सरकार वा पार्टीको बुताले रोक्न सक्दैन । कसैले रोक्ने प्रयास गरे पनि उसको राजनीतिक रोटी त क्षणिकरुपमा सेकिएला तर त्यसले मानवमात्रको कल्याणमा दीर्घकालीन कुठाराघात गर्दछ । आफूले मन पराएको धर्म मान्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो भन्ने बुझेकाहरुबाटै बेला–बेलामा सो अधिकारविरोधी टिप्पणी सुनिनु दुःखद विषय हो ।
धर्म सापेक्षताको माग गर्ने पार्टी र धर्म निरपेक्षता लागू गर्ने पार्टीभित्रका हिन्दुवादीहरुले बुझे हुन्छ, अब मुलुक अँध्यारो विगततिर फर्कन सक्दैन । निःसन्देह, अबको राजनीति एजेन्डाको आधारमा हुन्छ, धर्मको नाममा होइन ।
– माधव शर्मा, अर्जे, गुल्मी ।