कोरोनाले स्थगित टेनिस शुरु


लन्डन, (एजेन्सी)

कोरोनाभाइरस महामारीबाट स्थगित भएको टेनिस शुरु भएको छ । शनिबारदेखि शुरु भएको पुरुष टेनिस प्रतियोगिता एड्रिया टुरमा विश्व नम्बर एक नोभाक जोकोभिचले जित हात पारेका हुन् । ३३ वर्षीय सर्बियाली खेलाडीले प्रतिद्वन्द्वी भिक्टोर ट्रोइकीलाई केवल ३४ मिनेटमा ४–१, ४–१ ले हराए ।

यस्तै सर्बियालीकै १ सय ४५औं स्थानमा रहेका निकोला मिलोयभिचले बुल्गेरियाका विश्व नम्बर १९ ग्रिगोर डिमिट्रोभलाई ४–१, ४–३ ले स्तब्ध पारेका थिए । डामिर डजुमहुर घाइते भएपछि उनको स्थानमा मिलोयभिचले खेल्ने मौका पाएका थिए ।

अर्को खेलमा डुसान लायोभिचले पनि विश्व नम्बर तीन डोमिनिक थिएममाथि ऐतिहासिक जित हासिल गर्न लागेका थिए । तर अस्ट्रियन थिएमले पुनरागमन गर्दै खेल १–४, ४–१, ४–३ ले जितेका थिए ।

एड्रिया टुर प्रतियोगिता बेस्ट अफ थ्रीमा खेलाइएका हो । प्रतियोगितामा खेलाडीले प्रत्येक सेटमा नियमित ६ खेल जित्नुपर्ने सट्टा ४ खेल जित्ने प्रावधान राखिएको छ । ३–३ खेल जितेमा टाइब्रेकमा नतिजा निकालिने छ । अर्को चरण जुन २० बाट क्रोएसियाको जाडारमा हुनेछ । प्रतियोगिता बोस्निया र हर्जगोभिनामा जुलाईमा सकिनेछ । चार-चार खेलाडी गरी दुई समँह बनाइएको छ, जसमा शीर्ष हुने खेलाडीहरुले फाइनल खेल्नेछन् ।