जोर–विजोर प्रणाली मोटरसाइकलमा लागू हुने कि नहुने


न्युज अफ नेपाल, काठमाडौँ ।

अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे । तर, ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।

‘अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’-महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले भने ।

गएकाे जेठ ३० गतेदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर–जोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन भइरहेका छन । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ ।

तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । जोर–बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ। आज असार एक गते बिजोर नम्बर प्लेट भएको सवारी साधन सन्चालन हुने भएका छन ।

त्यस्तै अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म भने चलाउन रोक लागाइएको छ । तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन।

ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई नरोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

विभिन्न चेकप्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने छ।