जिदानको २ सयौं खेलमा रियलको सहज जित


लन्डन, एजेन्सी ।

प्रशिक्षकको रुपमा जिनेदिन जिदानले रियल मेड्रिडबाट आफ्नो २ सयौं खेल सम्हाल्दा टोलीले सहज जित आत्मसात गरेको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा आइबारलाई ३–१ ले पराजित गर्दै रियल मेड्रिडले तीन अंक जोडेको हो ।

कोरोना भाइरसपछि फर्किएको स्पेनिस ला लिगाको उक्त खेल बर्नाबेउ स्टेडियम पुननिर्माण भइरहेकाले रियलले आफ्नो प्रशिक्षण मैदान इस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा खेलेको थियो । टोनी क्रुसले चौथो मिनेटमै अग्रता दिलाएपछि कप्तान सर्जियो रामोस र मार्सेलोले रियलका लागि पहिलो हाफमै थप दुई गोल गरेका थिए ।

खेलको ६० औं मिनेटमा पेद्रो बिगासले आइबारका लागि एक गोल फर्काएका थिए । जितपछि रियल शीर्ष स्थानको बार्सिलाना भन्दा दुई अंकले मात्र पछाडी रहेको छ । यता, जिदान भने रियलका लागि २ सय खेलको आँकडा छुने तेस्रो प्रशिक्षक बन्न पुगे ।

यसअघि मिगेल मुनोज रियलका लागि सर्वाधिक ६ सय ५ खेलमा प्रशिक्षक बनेका थिए । त्यस्तै, स्पेनले २०१० को विश्वकप जित्दा राष्ट्रिय टिम सम्हालेका भिन्सेन्ट डेल बोस्कले पनि रियलबाट २ सय ५ खेल सम्हालेका छन् ।

त्यसअघि भएको खेलमा एट्लेटिको मेड्रिडलाई एथ्लेटिक बिल्बाओले १–१ को बराबरीमा रोकेको थियो भने रियल सोसिडाडले पनि ओसासुनासँग समान गोलअन्तरले नै बराबरी खेलेको थियो ।