भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या


न्युज अफ नेपाल, बैतडी ।

करिब ३ महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवा निवृत्त भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनबापतको पैसा भारतीय बैंकमै आउने गर्दछन् ।

जारी लकडाउनका कारण सीमानाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको डिलाशैनी–६ का रतनसिंह मालले बताउनुभयो ।

सीमानाका बन्द हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरोना भाइरसका कारण सीमानाका बन्द हुँदा पेन्सन बुझ्न भारतीय बैंकमा जान पाएको छैन ।’

सीमानाका बन्द हुँदा पेन्स बुझ्न नपाएको र यसले दैनिक घरधन्दा चलाउन नै मुस्किल भएको डिलाशैनी–६ कै जयबहादुर मालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मासिक आउने पेन्सनले घर–परिवार चलाइरहेको थिए, लकडाउनले सीमापुल बन्द भएपछि निकै समस्या भएको छ ।’

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यो जिल्लाका धेरै नागरिक भारतीय सेनाबाट निवृत्त भएका छन् ।

उनीहरूले मासिकरूपमा पेन्सन पाउँदै आएका भए पनि लकडाउनका कारण पछिल्लो तीन महिनायता पेन्सन पाउन नसकेको स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘भारतीय पेन्सनधारी नेपाली नागरिकको लागि सीमानाका खोल्नको लागि सरकारले पहल गर्नुपर्छ’ ।

भारतबाट पेन्सन बुझ्ने नेपालीहरूलाई नाकाबाट प्रवेश गराई समस्या समाधानका लागि भारतको पिथौरागढ जिल्लाका डीएमसँग आफूले कुराकानी र समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

‘सीमानाका कुरा दुई देशको सहमतिले खुल्ने कुरा हो हामीले चाहेर मात्रै सक्दैनौं’, उहाँले भन्नुभयो‘ भारतीय पक्षले सहमती जनाएपछि हाम्रो तर्फबाट नि तयारी गर्छौं ।’

बैतडीबाट मात्रै करिब २ हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गत चैत ११ गतेदेखि सीमानाका बन्द रहेका छन् ।