माछापुच्छ्रे हाँस्न खोज्दा सिंगो गाउँ रोयो


  • दुर्गाप्रसाद शर्मा, दुर्लुङ, पर्वत

रातभरको मुसलधारे वर्षापछि बिहान मौसम केही खुल्दै थियो । सफा मौसममा माछाको पुच्छरजस्तै देखिन्छ माछापुच्छे« हिमाल दुर्लुङ गाउँबाट । रातभरको झरीमा रुझेर होला बिहान घामसँगै कुहिरोको बीचबाट निस्केर मुस्कुराउने प्रयासमा थियो माछापुच्छ्रे हिमाल ।

रातभर रुझेको माछापुच्छ्रेले पुच्छर निकालेर मुस्कुराउन खोज्दा हिमालसँगै हाँस्न सकेका थिएनन् दुर्लुङबासी । शनिबार राति आएको मुसलधारे वर्षापछि आएको पहिरोले तीन घर बगाएको थियो भने दुई घरमा रहेका सबै परिवारका सदस्यलाई सधैंका लागि नफर्कने गरी संसारबाट चुँडेर लगेको थियो । झरीपछि आकाश खुले पनि दुर्लुङबासीका आँखामा निरन्तर आँशु बगिरहेका थिए ।

पहिरोमा परी ज्यान गुमाउनेका परिवार र आफन्त मात्रै होइन सिंगो गाउँ नै आँशुमा डुबेको थियो । झरीपछि मुस्कुराउन थालेको माछापुच्छे« हिमालले गिज्याएका भान हुन्थ्यो । सधैं माछापुच्छ्रेसँगै हाँस्ने दुर्लुङबासी आइतबार शोकाकुल थिए ।

कास्कीको पोखरा भदौरेबाट पहिरोमा आफन्त पुरिएको थाहा पाएर दुर्लुङ आउँदै गरेका आफन्तहरू घरनजिक पुगेपछि भक्कानिए । माछापुच्छे« पछाडि हाँसिरहँदा उनीहरू अँगालो मारेर आफन्त गुमाएको पीडामा भक्कानिँदै थिए ।

‘मेरो राजा, मेरो बाबु यसरी छाडेर किन गयौ नि’ भन्दै आफन्तहरू रुँदा सबैका आँखा रसाएका थिए । पहिरोमा पुरिएकी २६ वर्षीया कमला विक र ८ वर्षीया छोरी प्रमिशा विकको मृत्यु भइसकेको छ । कमलाका १३ वर्षीय छोरा जेनिश बेपत्ता छन् ।

कमलाको परिवार मात्रै होइन पहिरोमा पुरिएका ९ मध्ये ८ जनाको शव भेटिएको छ भने अझै एक जना बेपत्ता रहेका छन् । पहिरोमा पुरिएकामध्ये ६० वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, छोरी ३० वर्षीया दीपा थापा, नातिहरू विवेक थापा, सम्राट थापा, नातिनी विविशा थापाको मृत्यु भइसकेको छ ।

पर्वतको सदरमुकाम कुस्माबजारसमेत रहेको कुस्मा नगपालिका–३ दुर्लुङ गाउँमा पनि काउले गाउँ पहिरोबाट सबैभन्दा सुरक्षित गाउँ मानिन्थ्यो । माथि घना जंगल तल बस्ती थियो ।

‘पहिरो आउने कल्पनासम्म कसैले गर्नै सक्दैन’, स्थानीय सूर्यबाबु गिरीले भन्नुभयो– ‘सबैले सुरक्षित बनेको गाउँमा काल बनेर पहिरो आयो ।’ गिरीको पनि घर पुरिएको छ । कुखुराको मासु पसल भएकाले ग्राहक मासु लिन आएकाले उठेर मासु दिँदा पहिरो आएको थाहा भएपछि उहाँका बाबुको पनि ज्यान बचेको छ ।

दुर्लुङमा एकैपटक दुई घन्टासम्म ग्रागी घोप्टाएजस्तो वर्षा भएपछि जंगलमाथिबाट पहिरो आएको थियो । एक किलोमिटरभन्दा लामो पहिरोले दुई घर बगाएको छ, अर्को एउटा घर पुरेको छ भने स्थानीय उजेली रेग्मी, कमला थापा, हस्तीदेवी पाध्या, पशुपति सिञ्जाली, ऋषिराम पौडेल, रामप्रसाद रेग्मी, रक्षा सार्कीलगायतका घर–परिवार विस्थापित भएका छन् ।

घरनजिक पहिरो आउँदा बल्ल–बल्ल ज्यान बचाएकी उजेली रेग्मी आइतबार रातिदेखि घरमा बस्न नसक्ने बताउनुहुन्छ । ‘हामीलाई यहाँ बस्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो– ‘बस्नका लागि ठाउँको व्यवस्थापन गरिदिनुपर्छ ।’

पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी मृतक र पहिरो पीडित परिवारका लागि राहत र उद्धार गरी बसोबासका लागि व्यवस्थापन मिलाइने आश्वासन दिनुभयो । घटनास्थलमा पुग्नुभएका रेग्मीले पहिले बेपत्ताको खोजी गर्ने र त्यसपछि राहत र बसोबासको व्यवस्थापन मिलाउने बताउनुभयो ।