मेलम्चीको काम ठप्प पार्ने मजदुरको घोषणा


नेपाल समाचारपत्र, काठमाडौं

बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको छ ।

आयोजना पीडित संघर्ष समितिले आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै असार १ गतेदेखि आन्दोलनको घोषणा गरेको हो । स्थानीय मजदुर र व्यवसायीको संयुक्त आयोजनामा आन्दोलनको कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिनुभयो ।

‘हामीले हाम्रा जायज मागहरू सरकारसँग पटक–पटक राख्यौं । धेरैपटक वार्ता र अनेक सहमति पनि भए तर हाम्रो माग पूरा हुने नदेखिएपछि आन्दोलन गर्नुको विकल्प देखिएन ।’ –उहाँले बताउनुभयो ।

संघर्ष समितिको मजदुरको तर्फबाट संयोजक रहनुभएका कुमार दुलालले माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभयो । ‘हामीले मेलम्ची आयोजनालाई ज्ञापनपत्र पनि बुझाइसकेका छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । असार १ देखि मेलम्चीको कामदेखि सामग्री ढुवानीमा प्रयोग हुने सवारी पनि रोक लगाउँछौं ।’ –उहाँले भन्नुभयो ।

अघिल्लोपटक मेलम्चीको काम गरेको ठेकेदार कम्पनी सीएमसीसँग सम्झौता गरी स्थानीय व्यवसायी र मजदुरहरूले काम गरेका थिए । पछि सीएमसीले मेलम्चीको काम छोडेर गएपछि आफूले काम गरेबापतको रकम पाउनुपर्ने माग राख्दै स्थानीय व्यवसायी र मजदुरले मेलम्चीको काममा अवरोध गर्दै आएका छन् ।

सरकारले सीएमसीसँग सम्झौता गरेकाले सरकारले रकम भुक्तान गर्न नसक्ने बताइरहेको छ । संघर्ष समितिले स्थानीय मजदुरको ६ करोड रुपियाँ र स्थानीय व्यवसायीको साँढे १७ करोड भुक्तानी दिनुपर्ने माग उनीहरूको छ ।

केही महिनाअघि मेलम्ची खानेपानी विकास समितिले अध्ययन गरी ५ सय ८० जना मजदुरलाई ३ करोड २ लाख रुपियाँ रकम दिइएको थियो । यसमा आफूहरूलाई सम्बोधन नगरेको संघर्ष समितिको माग छ भने यी बाहेकलाई रकम भुक्तानी गर्न नमिल्ने मेलम्चीको अडान छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रोजन्द्र पन्तले संघर्ष समितिले आन्दोलन गर्न लागिएको जानकारी रहेको र खानेपानी मन्त्रालयलाई जानकारी दिइएको बताउनुभयो ।

‘आयोजनाको कामलाई प्रभावित नहुने गरी समयमै सम्पन्न गर्न मेलम्ची विकास समिति लागिरहेको छ । आन्दोलनको कुरा मन्त्रालयमा जानकारी गराइसकेको छु ।’ –उहाँले भन्नुभयो ।