मेलम्चीमा मजदुरको आन्दोलन, सम्पूर्ण काम ठप्प पार्ने घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बहुप्रतिक्षित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको छ ।

आयोजना पीडित संघर्ष समितिले आफ्ना मागहरु प्रति व्यवास्त गरेको भन्दै असार १ गतेदेखि आन्दोलनको घोषणा गरेको हो ।
स्थानीय मजदुर र स्थानीय व्यवसायीको संयुक्त आयोजनामा आन्दोलनको कार्याक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिनुभयो ।

‘हामीले हाम्रा जायज मागहरु सरकारसँग पटक–पटक राख्यौँ । धेरै पटक वार्ता र अनेक सहमति पनि भए तर हाम्रो माग पुरा हुने नदेखिएपछि आन्दोलन गर्नुको विकल्प देखिएन ।’, उहाँले बताउनुभयो ।

संघर्ष समितिको मजदुरको तर्फबाट संयोजक रहनु भएका कुमार दुलालले माग पुरा नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्न लागि बताउनुभयो । ‘हामीले मेलम्ची आयोजनालाई ज्ञापनपत्र पनि बुझाई सकेका छौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । असार १ देखि मेलम्चीको कामदेखि सामाग्री ढुवानीमा प्रयोग हुने सवारीपनि रोक लगाउँछौँ ।’, उहाँले भन्नुभयो ।

अघिल्लो पटक मेलम्चीको काम गरेको ठेकेदार कम्पनी सिएमसीसँग सम्झौता गरी स्थानीय व्यवसायी र मजदुरहरुले काम गरेका थिए । पछि सिएमसीले मेलम्चीको काम छोडेर गएपछि आफूले काम गरेबापतको रकम पाउनु पर्ने माग राख्दै स्थानीय व्यवसायी र मजदुरले मेलम्चीको काममा अबरोध गर्दैआएका छन् ।

सरकारले सिएमसीसँग सम्झौता गरेकोले सरकारले रकम भूक्तान गर्न नसक्ने बताईरहेको छ । संघर्ष समितिले स्थानीय मजदुरको ६ करोड रुपियाँ र स्थानीय व्यवसायीको साँढे १७ करोड भूक्तानी दिनु पर्ने माग उनीहरुको छ ।

केही महिना अघि मेलम्ची खानेपानी विकास समितिले अध्ययन गरी पाँच सय ८० जना मजदुरलाई तीन करोड २ लाख रुपियाँ रकम दिईएको थियो । यसमा आफूहरुलाई सम्बोधन नगरेको संघर्ष समितिको माग छ । भने यी बाहेकलाई रकम भूक्तानी गर्न नमिल्ने मेलम्चीको अडान छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रोजन्द्र पन्तले संघर्ष समितिले आन्दोलन गर्न लागिएको जानकारी रहेको र खानेपानी मन्त्रालयलाई जानकारी दिईएको बताउनुभयो । ‘आयोजनाको कामलाई प्रभावित नहुनेगरी समयमै सम्पन्न गर्न मेलम्ची विकास समिति लागिरहेको छ । आन्दोलनको कुरा मन्त्रालयमा जानकारी गराईसकेको छु ।’, उहाँले भन्नुभयो ।