राष्ट्रिय एकताको साथ ऐतिहासिक संविधान संशोधन विधेयक पारित

१२ सांसद मतदान प्रक्रियामा अनुपस्थित


मधुसूदन रायमाझी, काठमाडौं ।

नेपालको नयाँ नक्सा जारी भएसँगै निशान छापमा समावेश गर्न संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयक राष्ट्रिय एकता कायम गर्दै पारित भएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी गरेलगत्तै सरकारले निशान छापमा नयाँ नक्सा समावेश गर्ने विधेयक दुई तिहाइभन्दा बढी बहुमतले पारित भएको हो ।

नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७’ लाई प्रतिनिधिसभाको दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो । दशकौंदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भू–भाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापमा समावेश गर्न संसद्मा सरकारले विधेयक प्रस्तुत गरेको थियो ।

संविधानअनुसार विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्ने प्रावधान छ । शनिबार भएको मतदानमा सबै सांसदले संविधान संशोधनको पक्षमा मतदान गर्नुभएको थियो । राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गर्दै मतदानमा संशोधनका पक्षमा २ सय ५८ मत प्राप्त भएको थियो । प्रतिनिधिसभाका कुल सदस्यमध्ये बैठकमा सहभागी २ सय ५८ जनाले मतदानमा भाग लिनुभएको थियो ।

प्रतिनिधिसभामा तत्काल कायम २ सय ७५ सदस्यको दुई तिहाइभन्दा बढी हो । विपक्षमा पनि कुनै पनि मत परेन । मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको थियो ।

लगत्तै सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो । बैठकको शुरूमै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो ।

छलफलमा भाग लिने सबै राजनीतिक दलका सांसदले राष्ट्रियताको पक्षमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै सरकारले नक्सा जारी भएसँगै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन वार्ता र संवादबाट तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् । यसअघि २०७२ फागुन ११ गते पहिलोपटक संविधान संशोधन भएको थियो ।

१२ सांसद मतदान प्रक्रियामा अनुपस्थित
नेपालको वास्तविक भूमि समावेश गरेर सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकमाथि मतदान गर्न १२ जना सांसद अनुपस्थित भएका छन् । शुक्रबार नै संसद् सचिवालयले संविधान विधेयकलाई कार्यसूचीमा राखेको भए पनि १२ जना सांसद भने सहभागी भएनन् ।

संसद् सचिवालयका अनुसार अनुपस्थित सांसदहरूमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल रहेका छन् । पाँच जना सांसदहरूले भने संसद्मा मतदान गर्न पाउँदैनन् ।

मतदान गर्न नपाउनेमा सभामुख अग्निप्रसाद सापकोटा हुनुहुन्छ भने अन्यमा विजयकुमार गच्छदार, मोहमद आफताब आलम, हरिनारायण रौनियार र रेशम चौधरी भने लिम्बनमा परेका कारण संसद् बैठकमा भाग लिन पाउँदैनन् । प्रतिनिधिसभामा कुल सांसदको संख्या २ सय ७५ रहेको छ । शनिबारको बैठकमा कुल उपस्थित सांसदको संख्या २ सय ५८ जना रहेको छ ।