मकवानपुरका ९४ जना कतारबाट फर्कने सूचीमा



न्युज अफ नेपाल, हेटौंडा।

कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुरका ९४ जना परेका छन् । नेपाली राजदुतावास दोहा, कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका १० महिलासहित ९४ जनाको सूची सार्वजनिक गरेको हो ।

दुतावासद्वारा जारी सूचीमा मकवानपुरका १६ जना बेतलबी बिदामा, २१ जना कतार आईडी र भिसाको म्याद सकिएको र ४९ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर आउने सूचीमा राखिएको छ ।

११ जुलाईसम्म दुतावासको सम्पर्कमा आएका तथा फाराम भरेकामध्ये मकवानपुरका ८ जनामा जटिल स्वास्थ्य समस्या भएका कारण उनीहरुलाई घर आउने सूचीमा राखिएको हो । एक महिलासहित ७ जनामा जटिल स्वास्थ्य समस्या रहेको दुतावासले जनाएको छ ।

दुतावासले कतारमा रोकिएर स्वदेश आउन नपाएका नेपालीहरुलाई प्राथमिकताका आधारमा फर्काउन लागेको जानकारी दिँदै १६ र २० जुनमा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुनमा हिमालय एयरलाइन्सका २ उडान हुने जनाइएको छ ।

मकवानपुर मिलन केन्द्र कतारको तथ्यांकअनुसार मकवानपुरबाट कतारमा रोजगारीका लागि करिब २२ हजार जना गएका थिए ।

प्रतिक्रिया दिनुहोस्