१० अर्बको हिसाब माग्दै विराटनगरमा प्रदर्शन

0
Shares

सरोज यादव, विराटनगर ।

विराटनगरका युवाहरूले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको १० अर्ब खर्चको हिसाब माग गर्दै सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

बिहीबार युवाहरूले कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि औषधि उपकरण खरिदमा भएको १० अर्ब खर्चको हिसाब पारदर्शी हुनुपर्ने माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

कोरोनाको महामारी नियन्त्रणका लागि सरकारले हालसम्म करिब १० अर्ब खर्च भएको बताउँदै आएको छ । यद्यपि सरकारले पारदर्शी खर्च विवरण सार्वजनिक नगरेपछि युवाहरू सडकमा ओर्लिएका हुन् ।

बिहीबार विराटनगरस्थित देवकोटा चौकबाट स्वतःस्फूर्तरूपमा निस्किएको युवा समूहको ¥याली हस्पिटल चोक, जलजला चोक र ट्राफिक चोकबाट मेनरोड हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुगेको थियो ।

बजार परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयअगाडि पुगेको ¥यालीमा सहभागी युवाले राष्ट्रिय गान गाएर सरकारले गरेको कामको आलोचना गरेका थिए ।

मुख्यमन्त्री कार्यालयपछि विराटनगर महानगरपालिका समेत पुगेका युवाहरूको ¥यालीले जनतालाई कर र तिमीलाई कार ? भनेर सरकारसमक्ष प्रश्न गर्दै आरडीटी परीक्षण बन्द गर्न माग गरेका छन् ।

त्यस्तै युवाले सयौं सत्ताको झापड खाने एउटै गाला नेपाली, भाषण होइन सुशासन, सक्षम सरकारको लक्षण पारदर्शिता र दूरदर्शिता, रोगले भन्दा भोकले मरिने भइयो सरकार, कर केका लागि ?

प्रहरी हाम्रो मामा हो भान्जा कुट्न पाइँदैन भन्दै लिखित ह्यान्ड पम्पलेटहरू बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणमा खर्च भएको रकमको खर्च विवरण सार्वजनिक नहुँदा सरकारको पारदर्शिताप्रति हाल देशैभरिका आम नागरिकले औंला उठाइरहेका छन् ।