संक्रमितको संख्या बढ्ने क्रम जारी


काठमाडौं (नेस) ।

कोरोना संक्रमणको परीक्षण पीसीआर विधिबाट गर्नुपर्ने माग अघि सार्दै मंगलबारदेखि युवाहरू वालुवाटार घेराउलगायतका आन्दोलनमा उत्रिएका छन् ।

प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा उत्रेका युवालाई पानीका फोहोरा हान्नेदेखि लाठीचार्ज गर्ने र पक्राउ गर्नेसम्मका कार्य गरिरहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको र कोरोना संक्रमण नियन्त्रणका लागि राज्यकोषबाट ठूलो धनराशी खर्च भएको बिषयमा युवाहरुले आवाज उठाउन थालेका हुन् ।

विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको आरडीटी परीक्षणलाई बन्द गरी पीसीआर परीक्षण गरेर आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकारको रक्षाको माग गर्दै युवाहरू सडकमै उत्रिएका छन् । नेपालमा आज पनि २ सय ७९ जना कोरोना संक्रमित प्रमाणित भएका छन् ।

जसमा २ सय ५७ जना पुरुष र २२ जना महिला रहेका छन् । त्यसै गरी ९० जना उपचारपछि निको भएर कोरोनालाई जित्दै घर फर्किएका छन् । बुधबार कोरोनालाई जितेर घर फर्कनेमा ८८ जना पुरुष र २ जना महिला रहेका छन् ।

२४ घन्टामा ४ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गरिएको र हालसम्म कुल १ लाख १० हजार ७ सय ४४ जनाको पीसीआर परीक्षण र १ लाख ७२ हजार ८ सय ८० जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया व्रिफिङमा जानकारी गराउनुभयो ।

उहाँले हालसम्म क्वारेन्टिनमा १ लाख ७२ हजार २ सय ६६ जना रहेको र कलसेन्टरमा दर्ता भएकामध्ये १ जना रेडजोनमा रहेको र ३ हजार ६ सय ७५ जनालाई आइसुलेसनमा विभिन्न अस्पतालमा राखी उपचार भइरहेको र १५ जनाको मृत्यु भएको जानकारी गराउनुभयो ।