गाई लिएर क्वारेन्टाईनमा

‘गल्ति छैन, सजाय भोग्दैछु’

0
Shares

  • मोतीराम तिमल्सिना, काभ्रे ।

‘गल्ति छैन, सजाँय भोग्दैछु । श्रीमानलाई कोरोना भएकै कारण मैले सजाँय काटिरहेको छु । श्रीमान मेरो हो रोग होईन । ‘१५ महिना पछि घर फर्किएका श्रीमानसँग आत्मियता साट्न मन भए पनि अलग्गै राखेर खान दियौं । अलग्गै सुतायौं । अघिल्लो साँझ कोरोना नभएको भनिएका श्रीमानलाई विहान ११ बजेर २९ मिनेटमा कोरोना भएको खवर पछि मेरो परिवार प्रति गरिएको ब्यवहारले मन दुखेको छ ।’

शुक्रबार पाँचखालमा ३९ बर्षिया एक युवामा कोरोना संक्रमण देखियो । पाँचखाल नगरपालिका वडा नम्वर ३ घर भई विगत ६/७ वर्ष देखि भारतको हरियाणामा रहेको एक होटलमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । कोरोना भाईरसका कारण छिमेकी देश भारत र नेपालमा पनि लकडाउन भयो ।

होटल बन्द भए पछि क्वारेन्टाईनमा बसे । नेपालले भारतमा रहेका नेपालीहरु फर्कन दिने भए पछि सिन्धुपाल्चोकका २३ जनाको समुहमा जेष्ठ १३ गते काभ्रे आए । जिल्ला फर्किए पछि क्वारेन्टाईनमा बस्ने शर्तमा उनि फर्किएका थिए ।

पाँचखाल नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाईनमा ११ दिन बसे । सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका १० घर भएका युवालाई कोरोना भाईरस संक्रमण देखिए पछि उनको परिक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा पठाईएको स्वाव अघिल्लो दिन नै परिक्षण हुनु पर्नेमा भोलिपल्ट भएको र अघिल्लो दिन परिक्षण गरिएका सबै स्वावहरुमा कोरोना नदेखिए पछि त्यहि सूचना प्रवाह भयो । उनलाई क्वारेन्टाईनबाट जेठ २२ गते विहिबार घर पठाईयो ।

साँझ ६ बजे १६ बर्षिय र १३ बर्षिय दुई छोरा लिन आए । बाबुको ब्याग उनिहरुले बोके । अलिक पर पुगेपछि घर नजिकै पुग्ने बाईक आईपुग्यो । बाईकमा चढेर उनि घर पुगे । श्रीमती र दुई छोरा सहित लामो समयको भेटघाटलाई पारिवारीक र आत्मिय बनाए । पारिवारीक कुराकानी भयो । तर सुत्ने, खाने र शौचालय समेत अलग बनाईयो ।

भोलिपल्ट शुक्रबार विहान खाना खाए लगत्तै उनलाई नगरपालिकाबाट फोन आयो तत्काल क्वारेन्टाईन आउनु । दौडिएर आए । सँगै श्रीमती पनि आईन् । कतै श्रीमान भागेर पो आएनन् ? नगरपालिकामा पुगे पछि युवालाई धुलिखेल अस्पताल लगेर फेरी कोरोना परिक्षण गर्नु पर्ने भन्दै राखियो । श्रीमती घर फर्किइन । बाटोमा भेटिएका मान्छेहरु बोलेनन् । घर पुग्दा टन्न मान्छेहरु जम्मा भईसकेका रहेछन् । श्रीमानलाई कोरोना भएको भन्दै सबैले घेरे ।

म के गरु ? के नगरुमा परें ? श्रीमतीले भनिन् । ‘सुरक्षा हुन्छ, श्रीमानलाई कोरोना भएको रहेछ भने अन्यत्र फैलन नपाओस् भनेर क्वारेन्टाईनमा राखियो आखिर त्यसकै सजाँय मैले भोगिरहेको छु’–उनले भनिन् । साँझ नपर्दै दुई छोरा र उनलाई नगरपालिकाको क्वारेन्टाईनमा राख्न गाडी लिन गयो । घरमा दुई महिना अघि सुत्केरी भएको गाई थियो । दैनीक ११ लिटर दुध दिन्छ । दुध विक्रीबाट दैनीक ८ सय रुपैया आउँथ्यो ।

ज्याला गरेर परिवार चलाउने उनका दुई छोरा नीजि विद्यालयमा अध्ययन गरिरहेका छन् । त्यो रात उनको गोठमा गाईलाई कसले खाना दियो वा दिएन ? दुध दुहुने काम भयो भएन ? भगवान जानुन् तर कोरोना भएको ब्यक्तिको घरमा जान कोहि तयार भएनन् । गाईले दुध नदिएको भन्दै आफन्तले खवर गरे । घरमा ताला लगाएर क्वारेन्टाईनमा बसिरहेका उनको परिवारलाई तनाव भयो ।

क्वारेन्टाईनमा दुई बच्चा सहित बसेकी उनलाई श्रीमानको भन्दा धेरै गाईको यादले सतायो । रातभर सुतिनन् । खान मन पनि लागेन । भोलिपल्ट आईतबार विहान गाई क्वारेन्टाईनमा नै ल्याउने ब्यवस्था भयो । तर गाईले उचित खाना र दाना नपाउँदा दुध दिन मानेन । लगातार तेश्रो दिनसम्म गाईले दुध दिन मानेको छैन । क्वारेन्टाईनको छेउमा रहेको भत्किएको एउटा घरमा गाईलाई बाँधिएको छ । गर्मी छ । लामखुट्टे, भुसुना, अन्य किराले टोकेर हैरान छ ।

 परिवार भित्रका सदस्यहरुले घाँस ल्याई दिएका छन् । दुध दिदैन । लात्ति हान्छ । पहिलो दिन शनिबार केहि दुध भुईमै छाडिदिईन् । बाँकी बाछीलाई छाडिएको थियो । दोश्रो छाक एक लिटर दुध आयो । कोरोना लागेको ब्यक्तिसँग सम्पर्क भएको ब्यक्तिले दोहेको दुध कसैले खान मानेनन् । हातमा ग्लोब्स लगाएर दोहेकाले नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारीले दुध किनिदिने बताउनु भएको छ तर गाईले दुध दिनै मान्दैन ।

‘मलाई कि गोली ठोकेर मार्नुस, कि घरमै लगेर क्वारेन्टाईनमा राखिदिनुस भनेको थिएँ तर अब परिक्षण गरेर प्रमाणपत्र लिएर मात्रै जान्छु । मेरो सबै चिज सकियो, गाई विग्रियो, घरमा ताला लाग्यो । समाजले गर्ने ब्यवहार अछुत भयो । पहिला माया गरेर बोल्नेहरु पनि अहिले मुन्टो बटारेर हिड्छन् बोल्नै डराउँछन् । नगरपालिकाले मेरो र समाजको सुरक्षा नै गरेको हो । रोग शत्रु हो तर बुझ्नु प¥यो नि समस्या’–उनले भनिन्–‘घरमै क्वारेन्टाईनमा राखिदिएर यसो नगर्नु भनेको भए हामी कसलाई भेट्न जान्थ्यौं र ?

हामीलाई रोग सरेको छैन विश्वास छ तर पनि अरुले हेर्ने दृष्टिकोण परिवर्तन नहोस् भनेर क्वारेन्टाईनमा त राखियो तर गाईको विजोगले रातभर सुत्न सकिन ।’ रातभरी रोईरहें । सुतेको छैन । तीन दिनलाई भनेर क्वारेन्टाईनमा ल्याएका थिए । १४ दिन नै बस्नु पर्छ भनेका छन् म बस्छु तर गाईको अवस्था विग्रियो ।

एक महिना अघि गाई किन्न आउनेहरुले ७० हजार दिएका थिए । गाईलाई घाँस, पानी ब्यवस्थापनका लागि कठिन छ । घरमा जस्तो हुँदैन । सम्भव पनि छैन । जे नहोस भनेर मैले पटक पटक उहाँलाई क्वारेन्टाईनमा बस्न अनुरोध गरें त्यहि भएरै छाड्यो । गल्ति हाम्रो थिएन सजाँय हामी भोगिरहेका छौं ।’ नगरपालिकाले सहयोग गर्छु त भनेको छ तर कस्तो सहयोग गर्छ ? थाहा छैन तर मेरो गरी खाने आम्दानीको श्रोत दुधालु गाई विग्रियो भने सहयोग पु¥याउनु पर्छ’–उनले भनिन् ।

घरमा मात्रै हैन, घर हुँदैको बाटो समेत प्रयोग गर्दैनन । कोरोना लागेका ब्यक्तिहरुको आसपास समेत जानु हुुँदैन भन्दै छिछि र दुरदुर गरेकाले मन बहकिएको छ । हामीलाई त जे भयो भयो तपाईहरुलाई त्यस्तो नहोस् । रोग सबैलाई लाग्न सक्छ तर ब्यवहार राम्रो हुनु पर्छ ।

श्रीमान भक्तपुरको केएमसी अस्पताल दुवाकोटमा छन् । दिनको १० पटक जति भिडियो कल हुन्छ । एकले अर्काेलाई सम्झाउँछन् र भन्छन कुन जुनीको पाप बोकेर आयौ भगवान ? बुढापाकाले भने जस्तै दैलो लगाएरै घर छाडेर हिड्नु पर्ने कस्तो दिन आयो ? गल्ति गर्ने एउटा सजायँ भोग्ने अर्कै ? नगरपालिकाले गाईको ब्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने बताएको स्थानीय रमेश गिरीले बताउनु भयो ।

(पाँचखालमा कोरोना संक्रमण देखिएका युवाको श्रीमतीसँग गरिएको कुराकानी)