सीमामा सावधानी अपनाऊ



विश्वव्यपीरूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम नेपालमा आउन सक्ने पूर्वजानकारी सरकार र नागरिकलाई थियो । छिमेकी देश चीनबाट शुरू भएको कोरोना भाइरस विश्व्यापीरूपमा फैलिँदा नै नेपालमा संक्रमण फैलिने संकेत पर्याप्त थियो नै । कोराना भाइरस फैलिएको लामो समयपछि मात्र सरकार तयारीमा जुट्यो । किनकि त्यो तयारी निकै ढिला भइसकेको छ । प्राकृतिक विपद् कहाँ र कति बेला र कुन ठाउँमा हुन्छ अनुमान लगाउन गाह्रो पर्छ । कोरोना भाइरस भने नेपालमा फैलिने खतरा त्यति बेलादेखि नै काममै थियो ।

भारतमा कोरोना संक्रमण देखिएपछि मात्र सरकारले नेपालमा पनि पूर्वतयारी र लकडाउन गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो । जति बेला समयमा नै गर्नुपर्ने काम नगर्दा आज साढे दुई महिनाको अवधिमा ३ हजार ४ सयभन्दा बढी नागरिक कोरोना संक्रमित भएका छन् । १३ जनाले ज्यान गुमाइसकेका छन् ।

आज नेपालमा जुन अवस्था सिर्जना भएको छ, त्यसको मुख्य कारण भएको भारतबाट नेपाल आउने नेपालीलाई व्यवस्थापन गर्न नसक्नुको परिणाम हो । शुरूमा लकडाउनको घोषणा गरे पनि आधा दर्जनभन्दा बढी सीमानाका खुला नै राखियो । जहाँबाट निर्वाधरूपमा रोजगारीका लागि भारत गएका नेपाली फर्किए । उनीहरूको व्यवस्थापनको कार्यमा सरकार चुक्यो । दोस्रो पछिल्लो समय भारतबाट नेपाल फर्किएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्नुपर्ने कार्यमा पनि सरकार चुक्यो । विशेष गरी अहिले अधिकांश कोरोना संक्रमित भारतबाट स्वेदश फर्किएका व्यक्तिहरू रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको नियमअनुसार परीक्षण र संक्रमितलाई उपचार नगरी कसैलाई पनि अर्को देश पठाउन पाइँदैन । नियम पालनालाई बेवास्ता गर्दै भारतले पछिल्लो समय ठूलो संख्यामा भारतमा रहेका नेपालीलाई नेपाल फर्काइदिएको छ । दुई देशबीच कूटनीतिक माध्यमबाट नेपालले भारत प्रवेश गर्ने भारतीय नागरिकलाई अनिवार्य कोरोना चेकजाँच गर्ने र भारतले पनि अनिवार्य रूपमा कोरोना चेकजाँच गरेर नेपाल फर्काउने व्यवस्था नगर्दा संक्रमण थप फैलिने भय बढेको छ ।

हजारांैको संख्यामा अहिले पनि भारतबाट नेपाली स्वदेश फर्किएका छन् । संकटको बेला देश आउनु राम्रो कुरा हो । तर, सरकारले सीमानाकामा पर्याप्त ध्यान दिन नसक्दा दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएको छ । सीमामा अझै सावधानी नअपनाउने हो भने अवस्था झन् जटिल हुने भएकाले सरकारकाले सीमाबाट स्वदेश फर्किने नेपालीको व्यवस्थापनको कार्यमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्