एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिले ल्याएको तरंग


फिरोज राजोपाध्याय, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले दिएको अभिव्यक्तिले यतिबेला नेपाली फुटबलमा मात्रै होइन, राजनीतिमा पनि तरंग ल्याइदिएको छ । दुई साता अघि एक वेबपोर्टलमा दिएको अन्तर्वार्तामा एन्फा अध्यक्ष शेर्पाले तराई र तराई बासिन्दाबारे केही विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले तराईमा जाँदा राष्ट्रियताको महसुस कमी भएको, तराईका बच्चालाई राष्ट्रियता सिकाउने, सेनाको सहकार्यमा ग्रासरुट शुरु गर्ने बताउनुभएको थियो । विवाद बढेपछि यही अभिव्यक्तिका लागि उहाँले बुधबार विज्ञप्ति निकालेर माफी समेत माँग्नुभएको थियो ।

तर माफी माँगेपनि उहाँको अभिव्यक्ति बहसकै विषय भइरहेको छ । शुक्रबार मात्रै पनि संसदमा बोल्ने क्रममा पर्साका सांसद प्रदीप यादवले एन्फा अध्यक्षको अभिव्यक्तिप्रति रोष प्रकट गर्नुभयो । सांसद यादवले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मामाथि समेत गम्भीर आरोप लगाउनुभयो । उहाँले खेलकुद मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पासँग १७ करोड रुपियाँ लिएको बताउनुभयो ।

सांसद यादवले भन्नुभयो—मलाई यहाँसम्म सुन्नमा आएको छ कि एन्फाले उहाँलाई १७ करोड रुपियाँ दिएको छ । एन्फाले खेलकुद मन्त्रीलार्ई धेरै माया गरेको छ ।

एन्फाले गएको सोमबार भेडाबारीस्थित माछापुच्छे« गाउँपालिकामा बहुउद्देशीय फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने प्रक्रिया बढाएको जनाएको थियो । यसका लागि एन्फा बैठकले १७ करोड ५५ लाख रकम विनियोजन गरेको थियो । गाउँपालिकाले २ सय ५२ रोपनी जग्गा उपलब्ध गराएको हो ।

सांसद यादव बोलिरहँदा खेलकुद मन्त्री विश्वकर्मा संसदमै बसेर सुनिरहनुभएको थियो । खेलकुद मन्त्रीले भोलि सदनबाटै जवाफ दिने बताउनुभएको छ । सांसद यादवले एन्फा अध्यक्ष शेर्पालाई मन्त्रीकै सहयोगमा तराईबारे यस्तो अभिव्यक्ति दिएको दावी गर्नुभयो ।

सांसद यादवले एन्फा अध्यक्ष शेर्पालाई निलम्बन गर्नुपर्ने र कानुनी कठघरामा उभ्याउनुपर्ने माँग समेत गर्नुभयो । गत साता पनि सांसद विमलप्रसाद श्रीवास्तवले सोही अभिव्यक्तिलाई लिएर एन्फा अध्यक्षलाई कार्वाही गर्न सदनमा माँग गर्नुभएको थियो ।

एन्फा अध्यक्ष शेर्पाले भने भाषामा भन्दामा पनि शब्दावलीमा बढी ध्यान दिएको बताउनुभयो । उहाँले बताउनुभयो– ‘मेरो अभिप्राय र भावना कुनै पनि धर्म, वर्ग, भाषा, लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा ठेस पु¥याउने कदापी होइन ।’

यति मात्रै होइन एन्फा अध्यक्ष शेर्पामाथि उहाँकै वर्तमान कार्यसमितिअन्तर्गत् वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पनि विरोध जनाउनुभयो । अभिव्यक्तिको छानवीन गर्न उपाध्यक्ष नेम्वाङले विश्व फुटबल महासंघ (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी) मा बिहीबार उजुरी दिनुभएको थियो । यसले प्रस्ट पारेको छ कि अध्यक्ष शेर्पा आफ्नै प्यानेलमा पनि आलोचित बन्नुभएको छ ।

यस्तै वर्तमान अध्यक्षसँग एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले समेत विरोध गर्नुभएको छ । श्रेष्ठले फिफालाई हाल भइरहेको नेपाली फुटबल गतिविधिबारे ध्यानाकर्षण गराउनुभएको थियो । उहाँको भनाई अनुसार नेपाली फुटबल झन झन तल झरिरहेकोले यसलाई बचाउन फिफामा निवेदन राखेको छ ।

उहाँले भन्नुभएको छ- ‘मलाई कसैसँग रिसइबी पनि छैन, खालि म नेपाली फुटबल बचाउन चाहन्छु । अहिलेको नेपाली फुटबलको गतिविधिलाई हेर्दा यसको उभो लाग्ने देखिँदैन । एकपछि अर्को विवादको क्रम जारी छ । यस्तो हुनु नेपाली फुटबलका लागि दुर्भाग्य हो ।’

यसैगरी एन्फासँग आबद्ध रहेका चार जिल्ला फुटबल संघले पनि एन्फा अध्यक्ष शेर्पाविरुद्ध उजुरी दिएका छन् । ती चार जिल्ला फुटबल संघहरु (काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ ) ले प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा अध्यक्ष शेर्पाविरुद्ध उजुरी दिएका थिए ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले त एन्फाविरुद्ध न्यायको लागि लडिरहेको साढे एक वर्ष भन्दा बढी समय भइसकेको बताउनुभयो । यसले यही दर्शाउँछ कि एन्फा अध्यक्ष शेर्पा अहिले संकटको घेरामा हुनुहुन्छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्तर्वार्तामा यस्तो भन्नुभएको थियो- ‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले काम गर्यौं, तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’