बसाइँ हिँड्नेको लर्कोले शहर रित्तिदै गाउँ भरिँदै



पुष्पराज भट्टराई ।

यतिबेला शहरमा रोगको भन्दा भोकको डर छ । लकडाउनका कारण सर्वसाधारणको जीवन चलाउन मुस्किल बन्दै गएपछि धेरै संख्यामा राजधानी छाडेर गए ।

लकडाउन लम्बिँदै जाँदा कामविहीन भएका कोहीले सडकमा मागेर पेट भरिरहेका छन् । कोही राहतको भरमा छन् । केहीले ऋण सापटी गरेर घर खर्च चलाइरहेका छन् । लकडाउनमा अड्किएकाहरु पनि घर भाडा तिर्न नसकेका हजारौंको संख्यामा छन् ।

कतिपय घरधनीले डेरावाललाई कोरोना सर्छ भन्दै घरभित्र पस्न दिएका छैनन् । उपत्यका बाहिरबाट आउनेले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने र पीसीआर रिर्पोट देखाउनुपर्ने नियम बनाएपछि गाउँ पुगेका कतिपय त काठमाडौंबाट उतै बसाईं सर्ने मनस्थितिमा पुगेका छन् ।
गाउँ पुगेकालाई अहिले कोठाको सामानभन्दा पनि भाडाको चिन्ताले सताएको छ । कतिपयलाई त गाउँबाट आउँदा भाडासँगै लिएर नआए पस्न नदिने भनेर घरभनीले फोनबाटै घरभाडा मागेका छन् ।

सरकारले घरधनीहरुलाई घरभाडा छुट दिएर मानवीयता देखाउन आग्रह गरे पनि त्यसको कार्यान्वयन भएको छैन । सरकारले असार पहिलो हप्ता कर तिर्न सुचना जारी गरेसँगै घरधनीहरुले धमाधम भाडामा बस्नेलाई भाडा बुझाउन ताकेता गर्न थालेका हुन् ।

लकडाउनमा यतै अड्किएर कामविहीन बनेका श्रमिक भने काठमाडौंका विभिन्न स्थानमा समाजसेवीहरूले उपलब्ध गराएको खाना खाँदै छाक टारिरहेका छन् । सरकारले न त संक्रमण रोक्न सक्यो न त हामीलाई काम गरेर खान दियो । थापाथलीको सामुहिक मेसमा खाना खाइरहेका जगदिस उरावको कथन थियो ।

घर बनाउने मिस्त्रीको काम गर्दै आएका पर्साका जिल्लाका जगदिसले पसिना पुछ्दै भने, ‘आफूले मात्र खाएर भएन । घरमा छोराछोरी भोकै छन् । वडाले बाँडेको राहत सकि गयो । घर जाउँ खर्च छैन । कोठामा फर्किउँ घरधनीले भाडा नदिए चाबी खोल्न दिदैन । यसरी मेसको खाना खाएर बस्नुभन्दा घर जान पाए परिवारसँगै त भइन्थ्यो । ’

सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का चिनीमाया र बसन्ती गार्मेन्टमा काम गर्थे । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर सरकारले चैत ११ बाट लकडाउन गरेपछि १५ दिन डेरामै थुनिए । कमाइ ठप्प भयो । बिहान र साँझ हातमुख जोड्न मुस्किल पर्दै गयो । गाउँपालिकाले उद्धार गरेर गाउँ जानेमा उनीहरु पनि मिसिए । गाउँ पुगेर १४ दिन क्वारेन्टाइनको बसाइपछि घर पुगेसँगै उनीहरुको मन फेरिएको छ । अहिले उनीहरुलाई काठमाडौं आउन मन लागेको छैन । मन नलाग्नुको कारण एउटै हो– कोठाको भाडा । काठमाडौं जाउँ घरधनीले ३ महिनादेखिको भाडा माग्छन् । नजाउँ झिटीगुन्टा उतै छ । छोराछोरीको पढाइ उतै छ ।

गाउँमै काम पाए उनीहरु नजाने मनस्थितिमा छन् । वसन्तीले फोनमा भनिन्, ‘म त यतै बस्छु । बरु सामान माया मार्छु । यतैको कमाइले सरसामान जोड्नुपर्ला ।’ बारीमा मकै लहलह भा छन् । खेतमा धानको बिउ राख्ने बेला भा छ । बरु यतै दुःख गरिन्छ । काठमाडौं चाहिँ फर्किन्न होला । बसन्ती र चिनीमाया २०७२ सालको भूकम्पबाट जोगिन काठमाडौं पसेका थिए ।

काठमाडौं–रुम्जाटार रुटको सुमो गाडी चलाउने उदयपुर घुर्मीका नरबहादुर राउतले छोराछोरीहरूको पढाइकै लागि भक्तपुरमा डेरा गरेका थिए । नरबहादुर र कल्पनालाई छोराछोरी पढाउन गाउँभन्दा सहरको बसाइ राम्रै पनि लागेको थियो । लकडाउनपछि भने उनीहरू आत्तिए । ‘काम गर्ने अवस्था रहेन । त्यसैले परिवारसहित झोला बोकेर चैतको अन्तिममा घर फर्किने निर्णय गरेँ,’ नगरपालिकाले गाडी पठाएपछि त्यसमै फर्किएका नरबहादुरले भने, ‘महिनाको ९ हजार रुपैयाँ डेरा भाडा तिर्थें । लकडाउनले मेरो कमाइसँगै छोरीहरूको पढाइ पनि बन्द भयो ।’

अब यताको भन्दा त्यताको चिन्ताले सताउन थालेको छ । तीन तीन महिनाको भाडा तिर्ने बेला भयो । सामानको दामभन्दा कोठाभाडा बढी हुने भो । के खाने ? के तिर्ने ? ग्यारेजमा गाडी थन्किएको ३ महिना भयो । बैंकको किस्ता लकडाउन खुलेको भोलिपल्ट बुझाउनुपर्छ । नौ कक्षामा पढ्ने छोरीको फि तिर्न सकेको छैन । तनाव लिदै नरबहादुरले फोनबाटै गुनासो सुनाए ।

शंखरापुर नगरपालिका– ४ साँखुकी सिर्जना दुवालले २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर सासू र देवर गुमाइन् । जग्गा बेचेको रकमले समेत घर बनाउन नपुगेपछि सिर्जनाका श्रीमान् वैदेशिक रोजगारका लागि मलेसिया हानिए । उनी कोभिड–१९ महामारी सुरु भएपछि मलेसियामा कामविहीन भएका छन् । ‘श्रीमान्कै कमाइबाट ३ छोरीसहित ६ जनाको परिवारको गुजारा चलाएका थियौं,’ सिर्जनाले भनिन् ‘तीन महिनादेखि श्रीमान्को पनि काम बन्द भयो रे । ससुरालाई दैनिक ५ सयको औषधि चाहिन्छ । बजारमा सिलाइको काम गर्थें त्यो पनि बन्द छ । सटरको भाडा बढेकोबढ्यै छ । नखोलेको ३ महिना भयो । अब त लकडाउन खुले पनि हुन्थ्यो ।’

न्युरोडमा कपडाको व्यापार गर्दै आएका वीरगन्ज महानगरपालिका १९ का सुशील शर्माको पनि पीडा उस्तै छ । ‘चैत, बैशाख र जेठको भाडा मात्रै ९० हजार पुग्यो । भित्रको सामान र डेकोरेसनभन्दा भाडा महँगो भयो । तत्काल ब्यापार छैन । अब कसरी तिर्ने हो सोच्न सकेको छैन । छोराछोरी त गाउँमा पढाउने सोच बनाएको छु । ’ उनले फोनमा भने, ‘अब भर्ना गर्नका लागि सर्टिफिकेट लिन मात्र काठमाडौं आउनुछ ।’ लकडाउनले नयाँ शैक्षिक सत्र सुरु हुन पाएको छैन र मात्रै ।

यता राजधानीमा भने लकडाउनपछि धेरै विद्यार्थी र अभिभावक विद्यालयको सम्पर्कमा छैनन् । रोजगारी र सन्तानको पढाइका लागि सहर पसेकाहरू लकडाउनसँगै धमाधम पुरानो थलो फिर्न थालेका छन् । कतिपय अभिभावकले त आफ्ना छोराछोरीलाई गाउँमै पढाउने निधो गरिसकेका छन् ।

कुलेश्वर माविका शिक्षक श्यामकाजी वस्नेत भन्नुहुन्छ, ‘सामुदायिक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी गाउँ फर्केका छन् । तत्काल फर्किने सम्भावना छैन । अभिभावकसंगको कुराकानी सुन्दा अब उनीहरुका छोराछोरी शहरमा बसेर पढ्ने अवस्था देखिदैन ।’ ‘शहरमा भाडा तिर्न सकिदैन । अब गाउँमा पनि सुविधा पुगेकै छ । पढ्न खाँचो छैन । शहरमा कन्तविजोग देखाएर किन बस्नु ?’ एक अभिभावकको टेलिफोन संवादलाई उद्धृत गर्दै उहाँले सुनाउनुभयो ।

कुपन्डोल बस्ने शन्नी गुप्ता पुलचोकमा वर्कसप चलाएर गुजारा चलाउँथे । भारत मोतीहारी स्थायी घर भएका शन्नीको घर फर्कन सक्ने स्थिति छैन । ‘भारत फर्किन एक जनाबापत १९ सय रुपियाँ तिर्नुपर्छ,’ उनले भने, ‘नौ जना छौं, एक्लै जाने कुरा हुँदैन, ५ हजार रुपियाँ साथमा छैन ।’ उनले तीन महिनादेखि घर भाडा तिरेका छैनन् । उनले वर्कसप सञ्चालन गर्न पाएका छैनन् । मासिक १५ हजार घर भाडा तिर्नुपर्ने भए पनि उनले दिन सकेका छैनन् , घरधनीले पनि माग्न सकेका छैनन् । ३ दिनदेखि सटर खोले पनि कोही ग्राहक नआउने गरेको उनले बताए । ‘मुस्किलले हिजो ४ वटा बाइक सामान्य मर्मत गरेँ । ५ सय रुपैयाँ कमाइ भयो,’ उनले भने, ‘आज त त्यो पनि छैन ।’

लकडाउन अवधिभर कुपन्डोल वडा कार्यालयबाट राहत पाएको उनले बताए । ४ छोरी तीन छोरा र श्रीमती उनकै कमाइको भरमा बाँच्छन् ।
उता लकडाउनमा साना होटल तथा रेस्टुरा सञ्चालन गरेर बसेका साना व्यवसायीको पीडा पनि कम छैन । व्यापार बन्द भएपछि सबैभन्दा बढी समस्यामा परेका छन् । नयाँ बसपार्क एरियामा होटल चलाउदै आएकी गोरखाकी रिना थापाको पीडा पनि कम छैन । भावुक हुँदै फोनमा उनले भनिन् ‘श्रीमान् कतारमा छन् । कोरोना संक्रमित भएपछि जागिर छुट्यो । घर आउने उपाय छैन । सरकारले विदेशमा अलपत्र परेका कामदारलाई स्वदेश ल्याउने कहिले हो ।’ व्यापार बन्द छ । सटरमा चाइनिज ताला झुण्डिएर गाउँ आएको ७५ दिन भयो । भाडा नतिरे घरधनीले पसल खोल्न दिदैनन् । बरु चार जोर टेबुलकुर्सीको माया मारिदिने मनस्थिति छ उनको । ‘फ्रिज भने नयाँ थियो अब केले भाडा तिर्नु बरु घरधनीले जेसुकै गरुन् । यतै बाख्रा पालेर बस्ने तर काठमाडौं नजाने ।’

उनले भनिन् ‘आखिर शहरमा आपत पर्दा आफ्नो कोही नहुँदो रहेछ । राहत लिन जादा त सिफारिस नगर्ने त्यस्तो निर्दयी घरधनीलाई के मुखले भाडा तिर्नु । जे हुन्छ हुन्छ गाउँमै बस्छु । छोरा यतै पढाउँछु ।’ सरकारले विदेशमा भएकालाई बरु चाडैं उद्धार गरिदिए हुन्थ्यो । गाउँपालिकाले हामीलाई उद्धार गर्नाले आजसम्म बाँचिएको छ । पछिको त कसले देखेको छ र ?

जोरपाटी, नारायणटारकी गंगा देउला एक निजी विद्यालयमा आयाको काम गर्थिन् । विद्यालय बन्द भएपछि उनी पनि कामविहीन भएकी छन् । ‘चारै जना छोरी पढ्दै छन् आम्दानी केही छैन,’ उनले भनिन् ‘खेती गर्नलाई पर्याप्त जग्गा छैन, सबै थोक किनेरै खाने हो ।’ भूकम्पले ढालेको घर बनाएर चारवटा कोठा भाडामा लगाए पनि भाडा उठेको छैन । ‘लकडाउनअघि नै घर भाडामा बस्नेहरू गाउँ गएका छन्, फर्किएका छैनन्,’ उनले भनिन्, ‘घर भएर मात्र के गर्नु, घरले खाना दिँदैन ।’ भाडामा बस्ने फर्केलान् जस्तो छैनन् ।

विशाल बजारको लबीमा मोतीमालाको पसल सञ्चालक हरि श्रेष्ठका दुई वटा पसल छन् । लकडाउनका कारण पसल मात्र बन्द नभएर सामानसमेत बीच बाटोमै अड्किएको छ । विशाल बजारले अहिलेसम्म भाडा छुट घोषणा गरेको छैन । ‘छुट माग्न पनि गाह्रो छ, उनले बताए । मासिक ५ देखि ७ लाख रुपियाँ सुरुवातमै तिर्नुपर्ने भए पनि तीन महिनादेखि भाडा नतिरेको उनले बताए । ‘घरको भाडा पनि तिर्न सकेका छैनौं,’ उनले भने । सरकारले कर्मचारीलाई पनि तलब दिनुपर्छ भनेको छ । उनले आफ्ना तीन जना स्टाफलाई अलिअलि तलब दिइरहेको सुनाए ।

कोटेश्वरको टहरामा तरकारी बेच्ने ४३ वर्षीया निता सुवेदी पनि लकडाउनले गर्दा समस्यामा छिन् । उनले लकडाउनका २५ दिन हिँडेरै ठिमी पुगेर तरकारी ल्याइन् । अहिले उनी जडिबुटीबाट तरकारी ल्याएर बेच्छिन् । नयाँ ठिमी गएर तरकारी ल्याउँदा जति कमाइ जडिबुटीबाट ल्याउँदा नहुने उनले बताइन् । सुवेदीले मासिक ७ हजार रुपियाँ भाडा तीन महिनादेखि तिरेकी छैनन् । ‘घरधनी हुनुहुन्न, आउनुभयो भने माग्नुहुन्छ होला । व्यापार छैन कसरी तिर्ने हो थाहा छैन ।’ उनले भनिन् ।

बहालमा बसेका ७ परिवारलाई लकडाउन भरिको घरभाडा छुट दिएका कालिमाटी १३ का सचेन्द्र मानन्धरको सबै घरधनीलाई एउटै टोकरीमा राखेर हेर्न नहुने धारणा रहेको छ । ‘यो महामारीमा मानवताको भावना सबैसँग हुनुपर्छ । घर हुनेले एक दुई महिना भाडा छुट दिदैमा कुनै घरधनी भोकले मर्दैनन् । कुनै बैंकको किस्ता पनि रोकिँदैन । बरु कर छल्ने घरधनीको छानविन गरिनुपर्छ । मान्छेमा सेवाको भावना पनि हुनुपर्छ । ’ यो महामारीलाई सबैले मिलेर जित्ने हो भाडामा बस्नेलाई मात्रै एकतर्फी मारमा पार्नु पनि त भएन । लकडाउनको अवधिमा फुटपाथ व्यापारी, विद्यार्थी, मजदुर, श्रमिकदेखि व्यवसायीहरूसम्म मारमा परेका छन् ।

महामारीको अवस्थामा न घरधनीले भाडा माग्न सकेका छन् न बहालमा बस्नेले तिर्न नै सकेका छन् । ‘घर भाडा नपाएको चार महिना भयो,’ ग्रान्डी हाइटका पवनकुमार श्रेष्ठले भने, ‘कोठामा बस्ने सबै जना काममा गएका छैनन् । कोहीका श्रीमान् विदेशमा छन् । उता पनि काम छैन भनेर पैसा पठाएका छैनन् रे । भाडा कसरी माग्नु ?’ उनी पनि तरकारी व्यापार गर्थे तर आफ्नो साधन नभएपछि टोखामा रहेको तरकारी फार्मबाट बजारसम्म जान आउनै नपाएको उनले बताए ।

लकडाउनमा उपत्यकाका स्थानीय तहले पहिलो चरणमा राहत बाँडेको, दोस्रो चरणका सामूहिक मेस सञ्चालन गरी खाना खुवाएको र तेस्रो चरणमा श्रममा आधारित राहत दिइरहेको दाबी गरेका छन् । दैनिक मजदुरी गर्ने तथा असहायहरूको रासन पानीमा समस्या नभए पनि उनीहरूले घर भाडा तिर्न सकेका छैनन् । यसरी लकडाउन लम्बिएसँगै पेसा व्यवसाय संकटमा परेपछि निम्नमध्यम वर्गीय परिवारको मनस्थिति बदलिएको देखिन्छ ।

यतिबेला गाउँका घर भरिभराउ छन् । शहरका कोठामा ताला झुण्डिएका छन् । कति ताला खुल्छन् भन्न सकिन्न । निजी उद्योगी व्यवसायीलाई लकडाउनले उठ्नै नसक्ने गरी थला पारिदिएको छ । कतिले सम्हाल्न सक्लान या नसक्लान समयले देखाउने छ । थुप्रै पेसा व्यवसायी पलायन हुन सक्ने सम्भावना देखिएको छ । सरकारले पनि यतातिर ध्यान दिने कि त ।

प्रतिक्रिया दिनुहोस्