बहुराष्ट्रिय ब्रिटानिया गुड डेमा किरा (भिडियाेसहित)

समान बिस्किट असमान व्यवहारः भारतमा ६ महिना नेपालमा एक वर्ष


नेपाल समाचारपत्र, काठमाडौं ।

आम जनस्वास्थ्यको खेलवाड हुनेगरी भारतको कानपुरबाट उत्पादित ब्रिटानिया गुड डे कुकिज बिस्किटमा किरा भेटिएको छ ।

काठमाडौं लाजिम्पाट बस्ने ३५ वर्षीय एक युवकले बिस्कुट खान लाग्दा त्यसमा किरा भेटिएको हो । सो बिस्कुट काजु मिसिएको कुकिज बिस्कुट हो । दुई वटा बिस्कुट खाइसकेपछि सो बिस्किटमा जोडी किरा भेटिएको हो ।

नजिकैको पसलबाट मंगलबार खरिद गरिएको सो बिस्कुट खान लाग्दा दुई वटा किरा देखिएको नाम उल्लेख नगर्ने शर्तमा ती युवकले बताए । गत फागुणको पहिलो साता (फेब्रुअरी १८ तारिख) का दिन सो बिस्कुट प्याकिङ गरिएको खोलमा उल्लिखित देखिन्छ ।

बिस्कुट खान हुने अवधि एक वर्ष रहेको छ । ‘तर, प्याकिङ गरिएको तीन महिनामै बिस्कुट अखाद्य हुनु निकै चिन्ताको विषय हो’ ती युवकले भने ‘मैले राम्रै उत्पादन भनेर बिस्कुट किनेको थिँए, तर खान लाग्दा गुणस्तरहीन पाएँ ।’

आम उपभोक्ताको ध्यानाकर्षण गर्न यस घटनालाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न चाहेको पनि उनले बताए । बिस्कुटबारे बुझ्दै गर्दा सोही बिस्कुट खान हुने अवधि भारतमा ६ महिना र नेपालमा एक वर्ष रहेको छ ।

यसले पनि उत्पादक संस्था आम उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील नरहेको भन्न सकिने उनले बताए । बहुराष्ट्रिय कम्पनी ब्रिटानियाले कर्पोरेट नैतिकता उल्लंघन गरेको प्रष्ट हुन्छ, उपभोग्य मिति फरक गर्नु नेपाललाई हेपेको हो, उनले भने ।

उवा उपभोक्ताका अनुसार उनले सोही बिस्किट उत्पादनका नेपालका वितरण व्यवस्थापक उदय श्रेष्ठलाई फोन गरेर गुनासो गरेका थिए ।

तर श्रेष्ठले बहुराष्ट्रिय कम्पनीको उत्पादनमा त्यस्तो हुनैसक्तैन भनेर उल्टै हप्काएको उनले जानकारी दिए । ‘तर पछि श्रेष्ठका सहायकले फोन गरेर ‘सर, तपाईंलाई गिफ्ट ह्याम्पर थियो, कहाँ भेटेर दिऊ’ रे ! हेप्नुको पनि हद हुन्छ नि’ युवाले नेपाल समाचारपत्रलाई बताए ।

श्रेष्ठ यसबारे आफूलाई थाहा नभएको बताउँछन्, ‘यदि बिस्कुटमा किरा भेटिएको छ भने हामीलाई फिर्ता दिनुस् । हामी अर्को बिस्किट दिनेछौं ।’

श्रेष्ठले बिस्किटमा किरा भेटिएको छ, यसबारे के भन्नुहुन्छ भनेर प्रश्न सोध्दा उहाँले भन्नुभयो, ‘नेपाल समाचारपत्रसँग हाम्रो राम्रो व्यावसायिक सम्बन्ध छ, लकडाउनले गरेर विज्ञापन अलि घटेको छ, हामी व्यावसायिक साझेदारी बढाऔं, समाचार चाहिं नछाप्नुहोला है !’

बिस्कुटमा किरा भेटिनुले आम जनस्वास्थ्यको खेलवाड गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको धारणा रहेको छ । ‘यो खाद्य वस्तु गुणस्तहीन हुनु वा अखाद्य हुनुसंग सम्बन्धित घटना हो । यो खाद्य ऐन २०२३ र उपभोक्ता संरक्षण ऐन २०७५को विपरीत रहेको छ ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।

कानून विपरीत हुनेगरी यस्तो कार्य गर्नेलाई तीन लाख र तीन वर्षसम्म कैद गर्ने प्रावधान रहेको पनि अध्यक्ष महर्जनले बताउनुभयो ।

गुड डे बिस्कुटको नेपालको आयातकर्ता विशाल ग्रुप हो । अहिले विशाल ग्रुपको प्रवन्ध निर्देशक अशोककुमार अग्रवाल जुवा खेल्दैगर्दा पक्राउ परेर दरबारमार्ग प्रहरी चौकीमा हिरासत भोगिरहेका छन् । अग्रवाल गत सोमबार गंगोर होटेलमा जुवा खेल्दैगर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उच्च घरानाका जुवाडेका रुपमा उनका बारेमा मिडियामा समाचार पहिला नै आइसकेको छ । उनी नेपालका लागि गिनीका अवैतनिक दूत पनि हुन् ।

उपभोक्ताले नेपाल समाचारपत्रमा भिडियो पनि उपलव्ध गराएका छन्, हेर्नुहोस् भिडियोः