स्वास्थ्य मन्त्रालयको गलत तथ्याङ्कले फैलायाे भ्रम !


मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न सरकारले धुलिखेल अस्पताललाई प्रयोगशालाका रुपमा विस्तार गरे सँगै पहिचान र परिक्षण गर्ने काम तिब्र भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गलत सूचना सम्प्रेषण गरिरहँदा जिल्लाबासीहरु भ्रममा परेका छन् । गलत सूचना सच्याउन जिल्ला तहबाट पटक पटक भएका प्रयास निरर्थक भएका छन् ।

‘जिल्लामा हालसम्म कोहि पनि ब्यक्ति संक्रमित भएका छैनन, जिल्लाको परिचय भएर अन्य जिल्लामा पनि संक्रमित भएको तथ्याङ्क छैन’–प्रमुख जिल्ला अधिकारी एवं कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय कमाण्ड पोष्ट तथा संकट ब्यवस्थापन केन्द्रका संयोजक श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरुको सूचीमा काभ्रेपलाञ्चोक जिल्लालाई पनि समावेश गरे सँगै जिल्लाबासीहरु भ्रममा परेका छन् ।

पटक पटक फोन र भेटेरै गलत सूचना सच्याउन दबाब दिन्छन् । २०७७ जेष्ठ ८ गते संकट ब्यवस्थापन केन्द्रको बैठकले समेत गलत तथ्याङ्क सच्याउन अनुरोध गरेको छ ।’ गलत सुचनाका कारण भ्रम फैलिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताउनु भयो ।

 

 

संकट ब्यवस्थापन केन्द्रमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु सल्लाहकार रहनु भएको छ । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रमुख र धुलिखेल अस्पतालका प्रतिनिधि उक्त समितिमा आवद्ध हुनुहुन्छ ।

तथ्याङ्कमा काभ्रे पलाञ्चोक जिल्लाका नागरिक संक्रमित भएको उल्लेख भए पनि हालसम्म कोहि ब्यक्ति संक्रमित नभएको उहाँले बताउनु भयो । उक्त बैठकले काभ्रे जिल्ला निवासी २६ बर्षिय एक ब्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख भएकाले तत्काल उक्त विवरण सच्याउन अनुरोध गर्ने निर्णय गरेको थियो ।

धुलिखेल अस्पतालमा स्वाब संकलन गरिएको उक्त ब्यक्ति काठमाडौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका निवासी भएको र काभ्रेमा कार्यरत कर्मचारी समेत नभएको उल्लेख गरिएको छ । उनि महोत्तरीमा कार्यरत राष्ट्रसेवक कर्मचारी हुन् ।

 

त्यस्तै जिल्लाका बारेमा मन्त्रालयले गलत तथ्याङ्क राखेपछि स्वास्थ्य कार्यालय काभ्रेले २०७७ जेष्ठ १८ गते सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलाई रेकर्ड सच्याईदिन अनुरोध गरी पत्र लेखेको छ । बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले २०७७ जेष्ठ ३ गते प्रकाशन गरेको सूचना गलत भएकाले सच्च्याउन अनुरोध गरेको बताउनु भयो ।

काभ्रे जिल्लामा स्वाव संकलन गरि परिक्षण गरिएका ब्यक्तिमा कोरोना पोजेटिभ देखिए पनि उनी काभ्रेजिल्लाबासी नभएकाले तत्काल उक्त विवरण सच्चाई रेकर्डमा काभ्रे जिल्लामा संक्रमण नभएको उल्लेख गरिदिन पत्राचार गरेको डा. झाले बताउनु भयो ।

‘रेकर्डमा संक्रमित उल्लेख हुँदा नागरिकहरुले सोधेको प्रश्नको उत्तर दिन समेत असहज भएको छ’–डा. झाले भन्नुभयो–‘जिल्ला कमाण्ड पोष्टले २०७७ जेष्ठ ८ गते नै उक्त विवरण सच्चाईदिन गरेको अनुरोधलाई कार्यान्वयन गरिदिन अनुरोध गरेका छौं ।’ गलत विवरण रहि रहँदा जिल्लामा भ्रम सिर्जना हुन गएको उहाँले बताउनु भयो । कोरोना भाईरसको महामारीमा नागरिकहरुलाई सहि सूचना प्रदान गर्नु पर्ने दायित्व बोकेको मन्त्रालय आफैले गलत सूचना रेकर्डमा राखिरहँदा त्रास उत्पन्न भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

मन्त्रालयले गलत विवरण सच्याउन जिल्ला प्रशासन कार्यालय काभ्रेले जेष्ठ ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालिन कार्य संचालन केन्द्रलाई पत्र लेखेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले लेखेको पत्रको समेत मन्त्रालयले वेवास्ता गरेको छ । सरकारी निकायले गरेको अनुरोधलाई आपतकालिन कार्य संचालन केन्द्रले पटक पटक अस्विकार गरेको छ ।