मुलुकको समृद्धिसँग जोडिएको मानवजीवन



मुलुकको समृद्धि र जनताको जीवन यी दुवै हेर्दा सहज तर व्यवहारमा निकै चुनौतीका विषय हुन् । समाज परिवर्तन र मान्छेको सोच परिवर्तन एक–आपसमा सम्बन्धित विषय बनिसकेका छन् । २१ औं शताब्दीको मानव र अहिलेको भौतिक विकास एक–आपसका परिपूरक र सम्बन्धित भइसकेका छन् । मुलुकको समृद्धि त्यति सजिलो हुँदैन, जीवनको जति गीत गाउन । सजिलो हुँदैन जीवनको गीत लेख्न । नगाएर पनि नहुने । नलेखेर पनि नहुने । सजिलो छैन जीवनको महिमा जोगाइराख्न ।

हुन त आफ्नै जीवन हो । हुन त आफ्नै बारेमा हो । तर पनि मान्छेलाई सहज हुँदैन आफ्नो जीवनको बारेमा अरुलाई सुनाउन । आफ्नै जीवनको बारेमा अरुसँग चर्चा गर्न । न चासो दिएर आफ्नो बारेमा अरुले सुन्न चाहन्छ । न ध्यान दिएर अरुले आफ्नो जीवनको गीत सुन्न चाहन्छ । व्यथा धेरै । कथा धेरै । कतै खुशीका क्षण । कतै विरहका घडी । आफ्नो बारेमा अरुले चाख दिएर सुनिदेओस् । यस्तो चाहना सबैमा हुन्छ ।

आफूलाई राम्रो देखाउने र राम्रो भनाउने ध्येय सबैमा हुन्छ । आफूलाई सबैले मानिदिऊन् । यस्तो सोच सबैले आ–आफ्ना मनभित्र पालिरहेका हुन्छन् । सुख बाँड्न सकिन्छ । दुःख बाँड्न सकिन्न । मान्छेले दुःख–सुखको समयमा आफ्ना मनका भावना अरुसमक्ष राख्न चाहन्छ । मान्छे रोगी हुनुका धेरै कारणमध्ये मान्छेले मान्छेसँग आफ्ना मनका भावना बाँड्ने अवसरबाट वञ्चित हुनु नै हो । मान्छेलाई रुँदाको अवस्थामा पनि साथी चाहिन्छ । मान्छेलाई हाँस्दाको समयमा त साथी नभइहुँदैन ।

आफ्ना पीडा, खुशी र विरह वेदनालाई मनभित्रै दबाएर राख्नुपर्ने अवस्था आएको खण्डमा मान्छे रोगी हुन्छ । मान्छे दुःखी हुन्छ र मान्छे हीनताबोधले पिल्सिँदै जान्छ । त्यस्तो परिवेशमा मान्छे उमेर नपुग्दै बूढो हुँदै जान्छ । मान्छे रोग नलागेर पनि थला पर्दै जान्छ र मान्छे समूहमा भएर पनि सबैबाट एक्लिँदै जान्छ । मान्छेका मनभित्र खिन्नता र दिक्दारीले बास माग्न थाले भने मान्छे बैंसमा पनि ख्याउटे र दुब्लो बन्दै जान्छ । रोगी र मरन्च्याँसे हुँदै जान्छ । यस्तो स्वभावको मान्छेले न आफूलाई बनाउँछ, न घरपरिवार बनाउँछ ।

त्यति मात्र होइन, उसले गाउँ, छिमेक समाज र राष्ट्रको उत्थानमा सिन्कोसमेत भाँच्न सक्दैन । मान्छेले अरुका कुरा सुन्न सक्नुपर्छ । मान्छेले अरुका भावना बुझ्नुपर्छ । संसारको भौतिक विकास हुने मान्छेको जीवन छउन्जेल हो । यसर्थ एकले अर्कालाई सम्मान गर्न सिकौं । सहमति, असहमति जे हुन्छ, सहज ढंगले राख्ने बानीको विकास गरौं । मान्छेले मान्छेलाई सिध्याएर प्राप्त गर्ने सत्ताको आयु कति हुन्छ, त्यो पनि हामीले देखेका छौं ।

शत्रु जति सबैलाई सखाप पारेर स्थापना गरेको शासन व्यवस्थाको अवस्था कस्तो हुन्छ ? त्यो पनि हामीले भोगेका छौं । अन्याय गर्नेले सजाय र न्याय गर्नेले पुरस्कार पाउने शासन प्रणाली स्थापना भएपछि मात्र मान्छेको जीवन सहज हुन्छ । मान्छेको जीवनको महत्व बढ्दै जान्छ र मान्छेले आफ्ना मनका भावना व्यक्त गर्ने अवसर पाउँदै जान्छ ।
– सनम देउजा, सुनसरी ।

 

प्रतिक्रिया दिनुहोस्