मकवानपुरलाई ३ अर्ब ७८ करोड : ‘बिकटका गाउँलाई बजेटमा बेवास्ता’

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

नेपाल सरकारले बजेट वक्तब्यमार्फत् मकवानपुरका स्थानीय तहलाई पनि रकम उपलब्ध गराउने बताएको छ । मकवानपुरका सबै १० स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराइएको हो । मकवानपुरका लागि ३ अर्ब ७७ करोड ९९ लाख भागमा परेको छ ।जसअनुसार हेटौंडा उपमहानगरपालिकालाई ९९ करोड, उत्तरी क्षेत्रमा रहेको पर्यटकीय नगर थाहा नगरपालिकालाई ४० करोड, इन्द्रसरोवर गाउँपालिकालाई २१ करोड, कैलाश गाउँपालिकालाई करिब २६ करोड, बकैया गाउँपालिकालाई करिब ३९ करोड, बागमती, मनहरी र भीमफेदी गाउँपालिकालाई समान ३१ करोड, मकवानपुरगढी गाउँपालिकालाई ३३ करोड र राक्सिराङ गाउँपालिकालाई २८ करोड विनियोजन गरिएको छ ।

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानका रुपमा रकम बिनियोजन गरिएको हो । राक्सिराङ मकवानपुरको ‘ख’ वर्गमा परेको एकमात्र विपन्न गाउँपालिका भएर पनि सरकारले कम बजेट बिनियोजन गरेको भन्दै पालिका अध्यक्ष राजकुमार मल्लले समय र गर्नुपर्ने विकास कार्यअनुसार बजेट उपलब्ध नगराइएकोमा दुःख व्यक्त गर्नुभयो ।

‘बिकटका गाउँलाई बजेटमा बेवास्ता गरियो,’ उहाँले भन्नुभयो–संरक्षित क्षेत्र घोषणा गरी गाउँको संरक्षण गर्न गरिएको अनुरोधलाई सरकारले सुनेन । उहाँका अनुसार २६ गते कार्यपालिका बैठक बसेर असार १० गतेसम्म बजेट बनाइने छ । पालिकाले गत वर्ष प्रदेशको समेत गरी ४५ करोड पाएको मल्लले बताउनुभयो ।बागमती प्रदेशको राजधानी रहेको सदरमुकामको हेटौंडा उपमहानगरपालिकाका लागि आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि समानीकरणतर्फ ३२ करोड ७५ लाख, सशर्त अनुदानतर्फ ६६ करोड १४ लाखसहित कुल बजेट ९८ करोड ८९ लाख रुपियाँ छ ।

थाहा नगरपालिकाका लागि समानीकरणतर्फ १३ करोड ६ लाख, सशर्त अनुदानतर्फ २५ करोड १५ लाख र समपुरक अनुदान २ करोड गरी कुल बजेट ४० करोड २१ लाख छ ।बकैया गाउँपालिकाका लागि समानीकरणतर्फ १२ करोड २३ लाख, सशर्त अनुदानतर्फ २६ करोड ६५ लाख गरी कुल बजेट ३८ करोड ८८ लाख, बागमती गाउँपालिकाका लागि समानीकरणतर्फ १० करोड ८९ लाख, सशर्त अनुदानतर्फ १९ करोड ८९ लाख गरी कुल बजेट ३० करोड ७८ लाख, मकवानपुरगढी गाउँपालिकाका लागि समानीकरणतर्फ ९ करोड ८९ लाख, सशर्त अनुदानतर्फ २० करोड ४४ लाख र विशेष अनुदान २ करोड २६ लाख गरी कुल बजेट ३२ करोड ५९ लाख बजेट तोकिएको छ ।

भीमफेदी गाउँपालिकाका लागि समानीकरणतर्फ १० करोड ६ लाख, सशर्त अनुदानतर्फ १८ करोड ८१ लख र विशेष अनुदान २ करोड गरी कुल बजेट ३० करोड ८७ लाख, इन्द्रसरोवर गाउँपालिकाका लागि समानीकरणतर्फ ७ करोड ३७ लाख, सशर्त अनुदानतर्फ १० करोड ९२ लाख र विशेष अनुदान १ करोड ६१ लख रहँदा समपुरक अनुदान १ करोड १६ लाख गरीं कुल बजेट २१ करोड ६ लाख छ ।

कैलाश गाउँपालिकाका लागि समानीकरणतर्फ ९ करोड ३६ लाख, सशर्त अनुदानतर्फ १६ करोड ३८ लाख गरी कुल बजेट २५ करोड ७४ लाख, मनहरी गाउँपालिकालाई समानीकरणतर्फ १२ करोड ५५ लाख, सशर्त अनुदानतर्फ १८ करोड ४४ लाख गरी कुल बजेट ३० करोड ९९ लाख, राक्सिराङ गाउँपालिकाका लागि समानीकरणतर्फ ९ करोड ८५ लाख, सशर्त अनुदानतर्फ १६ करोड १२ लाख, विशेष अनुदान २ करोड गरी जम्मा बजेट २७ करोड ९७ लाख छ ।

मकवानपुरका लागि विनियोजन भएको बजेटमा सबभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिका लागि ९८ करोड ८९ लाख विनियोजन भएको छ भने सबभन्दा थोरै बजेट इन्द्रसरोवर गाउँपालिकाका लागि २१ करोड ६ लाख विनियोजन भएको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा मकवानपुरमा पर्ने सुरुङ निर्माणलाई बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्गको थानकोट चित्लाङ खण्डको सम्भाव्यता अध्ययन गरिने बजेट भाषणमा भनिएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा समेटिएको उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययनपश्चात् निर्माण थालिने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरेको चित्लाङ–थानकोट सुरुङमार्ग निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन मकवानपुर क्षेत्र नम्बर–२ का सांसद् विरोध खतिवडा, राष्ट्रियसभा सांसद् रामनारायण बिडारी र थाहा नगर प्रमुख लवशेर बिष्टसहित टोलीले आग्रह गरेको थियो ।

पर्यटकीय आवागमन वृद्धि गर्न पनि चित्लाङ–थानकोट सुरुङमार्गको ठूलो महत्व हुने बताइएको छ । सुरुङमार्ग चित्लाङबाट थानकोटसम्म एकजार छ सय मिटर (१.६ किमी) हुने अनुमान छ । चालु आर्थिक वर्षको कार्यक्रममा रहेको सुरुङमार्गको प्रक्रिया अघि बढाउन थाहा नगरपालिकाका तर्फबाट पहल थालिएको नगर प्रमुख बिष्टले जानकारी दिनुभयो ।

थाहा र इन्द्रसरोवर गाउँपालिकाका लागि मुख्य विकासकै ढोकाको रुपमा रहेको चित्लाङ–थानकोट सुरुङमार्ग निर्माण थाल्न आफूले पनि केन्द्रमा कुरा गरेको बताउँदै सामूहिक दबाब सृजना गर्नुपर्ने इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाको भनाइ छ ।