विश्व धुम्रपान रहित दिवसमा स्वास्थ्य मन्त्री ढकालद्वारा शुभकामना ब्यक्त

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

स्वासथ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले विश्व धुम्रपान रहिद दिवसका अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मन्त्री ढकालको सन्देशमा भनिएको छ—हरेक वर्ष विश्व धुम्रपान रहित दिवस ३१ मे का दिन मनाइने गरिन्छ । यस वर्ष सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवाहरूलाई बचाऔं र उनीहरूलाई धुम्रपान तथा निकोटिनबाट हुने असरहरूको रोकथाम गरौं भन्ने मूल नाराका साथ विश्व धुम्रपान रहित दिवस मनाउँदै छौं ।

विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने गर्दछ । जसमध्ये ७० लाख प्रत्यक्ष सूर्तिजन्य पदार्थको सेवन र १२ लाख मानिससँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्दछ । नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । हरेक ३ जना नेपाली मध्ये १ जना धुम्रपान तथा सूर्तिजन्य पदार्थको अमली भएको देखिन्छ ।

यी तथ्याङ्कहरूले सूर्तिजन्य पदार्थ मानव स्वास्थ्यको लागि अति घातक देखिन्छ भने दीर्घ जीर्ण रोगहरू क्यान्सर, मुटु रोग, दम, खोकी, मधुमेह जस्ता रोग लाग्नुको प्रमुख कारण पनि सूर्तिजन्य पदार्थ हो ।

त्यसैले सूर्तिजन्य पदार्थ सेवन नियन्त्रण र नियमन गर्न विश्वव्यापी रुपमा ऐन, कानून र निर्देशिका जारी गरी आम जनतामा सूर्तिजन्य पदार्थ कहिल्यै नगर्न र गर्नेलाई यसको लतबाट छुटाउन विश्वव्यापी अभियान र कार्यक्रमहरू भैरहेका छन् । तर सूर्तिजन्य उद्योगहरूले नवसेवनकर्ताहरूको सङ्ख्या वृद्धि गरी आफ्नो व्यवसाय दीगो बनाउन चलाखीपूर्ण बजारका रणनितिहरू अबलम्बन गरेको पाइन्छ ।

यी रणनीतिले बालबालिका, किशोरकिशोरी र युवा पुस्तालाई लक्षित गरेर विभिन्न बजार प्रवर्धनका क्रियाकलापहरू अभियानको रुपमा सञ्चालन गरेको पाइन्छ । उदाहरणको लागि १५ हजारभन्दा बढी किसिमका स्वाद र बासनाहरूमा सूर्तिजन्य पदार्थहरू उत्पादन गरी बालबालिका र किशोरीहरूलाई आर्कषण गर्न खोजिएको छ ।

सामाजिक सञ्जालबाट प्रभाव पर्ने गरी फोटो, भिडियो राख्ने, कार्यक्रम र पार्टीहरू प्रायोजन गर्ने, विद्यालय छात्रवृति प्रदान गर्ने, आर्कषित डिजाइन र मनोरन्जनका विभिन्न माध्यमहरूमा आफ्नो उत्पादनहरू राख्ने, सूर्तिजन्य पदार्थहरू निःशुल्क दिने, चुरोटका खिल्लीहरू खुद्रा बेचबिखन गर्ने, लोभिने गरी उत्पादनहरू पसलमा सजावट गरी प्रदर्शन गर्ने, विद्यार्थी लक्षित शैक्षिक संस्था वरिपरि विज्ञापन सामग्री प्रदर्शन गर्ने आदि ।

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका कार्यक्रमहरूले सेवनकर्ताहरूको संख्यामा उल्लेख्य कटौती हुँदै गएको अवस्थामा सूर्ति उद्योगहरूले सधैं नयाँ ग्राहक वा सेवनकर्ताहरू पहिचान गर्ने, उनीहरूलाई आर्कषित गर्नेगरी विज्ञापन गर्ने गर्दछ । यी प्रवद्र्धनका लागि मात्र ८० अर्ब डलरभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । ती विज्ञापनहरू धेरै जसो नवयुवाहरूमा लक्षित भएको देखिन्छ । यसकारण किशोर तथा युवा अवस्थामा नै सूर्तिजन्य पदार्थको अम्मली बनाई बाँचुन्जेल आफ्ना नियमित ग्राहक बनाउने दीगो लक्ष्य राखेको स्पष्ट हुन्छ ।

विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको प्रतिवेदन अनुसार सूर्तिजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड १९ को संक्रमण गम्भीर देखिएको छ । यसले कोभिड १९ संक्रमण र सूर्तिजन्य पदार्थ सेवनको अन्तरसम्बन्ध स्पष्ट देखिन्छ । सूर्तिजन्य पदार्थ सेवन गर्नेहरूको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुँदा कोभिड १९ ले फोक्सोलाई अझै बढी असर पु¥याउँछ । सूर्तिजन्य पदार्थको सेवन नसर्ने रोगहरूको प्रमुख कारण भएकोले यी रोगहरूबाट प्रभावित मानिसहरूमा कोभिड १९ को संक्रमण गम्भीर हुने र बढी मृत्यु भएको देखिन्छ ।

धुम्रपान तथा सूर्तिजन्य पदार्थ त्याग गरेको २० मिनेटभित्र मुटुको धड्कनमा सुधार आइ उच्च रक्तचाप नियन्त्रणमा आउँछ । १२ घण्टापछि रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा फर्किन्छ । २ देखि १२ हप्तामा फोक्सोमा सुधार आई राम्रो काम गर्न थाल्छ । १ देखि ९ महिनापछि खोक्ने र छिटो छिटो सास फेर्नेमा सुधार आउँछ ।

स्वस्थ र दीर्घायु बन्नको लागि सूर्तिजन्य पदार्थको सेवन र प्रयोग गर्न निरुत्साहित गर्ने, सेवनकर्ताहरूलाई त्याग गर्न अभिप्रेरित गर्ने र नवप्रवेशीहरूलाई सेवन वा प्रयोग गर्ने अवसर नै नदिनु अथवा प्रयोग नगर्न भित्रि मनैदेखि अभिप्रेरित गर्नु हामी सबैको दायित्व हो । आउँदो पुस्ता धुम्रपान र निकोटिनरहित गर्न आजकै दिनबाट सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुन हार्दिक अपिल गर्दछु ।

विद्यमान ऐन, नियम र निर्देशिकाको पूर्ण पालना गरेमा सूर्तिजन्य उद्योगहरूको चलाखीपूर्ण रणनीतिहरूको चक्रमा कोही फस्न पाउँदैनन् र जो कोही पनि रोगी भई अकालमा मृत्युवरण गर्नु नपर्ने र कोही पनि संगै बस्नेले खाएको चुरोटको धुवाँबाट हुने असर खप्नु पर्दैन । अन्त्यमा, सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवद्र्धन र प्रलोभनकारी आर्कषक विज्ञापनबारे युवाहरूले समयमै सचेत भएमा धुम्रपान तथा निकोटिनबाट हुने असरहरूबाट बच्न सकिन्छ र यसो गर्नु नै आफुलाई स्वस्थ राख्ने उत्तम उपाय हो । मन्त्री ढकालले सुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।