आरडिटी किट प्रयोग गर्न नमिल्ने भन्दै स्वास्थ्य अनुसन्धान परिषद्ले बुझायो रिपोर्ट

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं ।

सरकार मातहत रहेको एक अनुसन्धान संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड–१९ पत्ता (निदान) लगाउनका लागि आरडिटी किट प्रयोग गर्न नमिल्ने रिपोर्ट सरकारलाई बुझाएको छ । संक्रमित व्यक्तिको परीक्षण गर्दा आधा संक्रमितलाई आरडिटीले समाजमा छाडेको भन्दै परिषद्ले आरडिटी किटबाट कोभिड परीक्षण गर्न नहुने रायसहितको प्रतिवेदन बुझाएको हो ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणलाई व्यापक बनाउने उद्देश्यले निजी स्वास्थ्य संस्थाहरुलाई पनि आरडिटी परीक्षणको बाटो खुला गरेको थियो । यही बीच परिषदले आरडिटी परिक्षण ठिक नभएको रिपोर्ट बुझाएको हो । सरकारले ओम्नी समूहसँग ७५ हजार किट खरिद गर्दा बिवाद बढेपछि त्यसको प्रभावकारिता जाँच गर्न परिषद्लाई जिम्मा दिइएको थियो ।

आरडिटी किटबाट कोभिड–१९ परीक्षण विश्वका धेरै देशहरुले रोक लगाएका बेला नेपालमा परीक्षण गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । बिवादका बीच मन्त्री परिषद्बाट निर्णय गराएर आरडिटी किटबाट परीक्षण भैरहेको छ । मन्त्रालयले परिषद्ले बुझाएको उक्त प्रतिवेदन सार्वजनिक गर्न चाहेको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक उच्च अधिकारीका अनुसार आरडिटी किट अध्ययन, अनुसन्धान गर्न मिल्ने तर निदानको प्रक्रियामा प्रयोग गर्न नमिल्ने पाइएको छ । ती अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनले भनेअनुसार र परिषद्को निचोडअनुसार आरडिटी किट कोभिड–१९ को निदानर्मा प्रयोग गर्न नमिल्ने प्रतिवेदनमा स्पष्ट खुलाइएको छ ।आम नागरिकलाई भने विश्व स्वास्थ्य संगठन, स्वास्थ्य अनुसन्धान परिषद् लगायतले अयोग्य भनी प्रयोग नगर्न सुझाव समेत दिएको र्यापिड टेष्ट किट प्रयोग गरिदै आएको छ ।

तर, समुदायमा ठूलो संख्यामा एकै पटक केसहरु भए त्यस्तो बेला संक्रमित पत्ता लगाउन आरडिटी विधिमार्फत परीक्षण गर्न सकिने सुझाव अनुसन्धान टोलीले दिएको छ । अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘आरडिटी किटको पोजेटिभ देखाउने क्षमतामा ५० प्रतिशत मात्रै देखियो ।’

सरकारले निजी अस्पतालहरुलार्ई आरडिटीमार्फत कोरोना जाँच गर्न दिने तयारी गरेका बेला अनुसन्धानकर्ताहरुले निजी क्षेत्रलार्ई परीक्षण गर्न दिए राज्यले ठूलो मुल्य चुकाउनुपर्ने सुझाव पनि दिएका छन् । तर, स्वास्थ्य मन्त्रालयले भने सबै अस्पतालले परीक्षण गर्न पाउनुपर्ने भन्दै अनुमती दिन मातहतका निकायलाई दबाव दिन थालेको पाइएको छ ।

आरडीटीले एक सय संक्रमितको जाँच गर्दा ५० जना मात्रै देखाउने तर, ५० जना समुदायमै छाड्दा समस्या देखिने अनुसन्धानले देखाएको छ । १ सय ९६ जना नेगेटिभ र ४ जना पोजेटिभ गरी २ सय केस लिएर अनुसन्धान गरिएको थियो । १ सय ९६ जनालाई आरटी पिसिआर र आरडिटी दुवैले कोरोना नेगेटिभ देखायो । तर, पिसिआरले पोजेटिभ देखाएका ४ केसलाई भने आरडिटीले २ केस मात्रै पोजेटिभ देखाउन सकेको थियो ।